|

कैलाली : सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपीएल) मा पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा फाइनल प्रवेश गरेको छ। 

विहीबार भएको दोस्रो क्वालिफायरमा चौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराएर फाइनल प्रवेश गरेको हो। 

सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टिम चौराहाले दिएको १७३ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १५ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो। 

सुरुवाती राम्रो गर्न नसकेको रुपन्देहीका ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन्। पहिलो विकेटका लागि हरिशङ्कर शाह र शङ्कर रानाले बनाएको १४ रनको साझेदारी नै ठूलो बन्न पुग्यो। उसका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले समान १४/१४ रन बनाए भने पुष्प थापाले १३ रन जोडे। 

चौराहाले कप्तान पारस खड्काको आक्रमक पारीसँगै २० ओभरमा पाँच विकेट गुमाएर १७२ रन बनाएको थियो। यो डिपीएलकै दोस्रो उच्च स्कोर हो भने चौराहाका लागि भने सबैभन्दा ठूलो स्कोर हो । 

चौराहाका कप्तान पारस ६७ रनमा अविजित रहे। ४१ बलको सामना गरेका उनले छ चौका र चार छक्का प्रहार गरेका छन् । राजु रिजालले २५ रन बनाए। शौरभ खनाल २४ रनमा अविजित रहे। अमर रौतेलाले १६ रन जोडे। 

रुपन्देहीका कृष्ण कार्कीले दुई तथा विक्रम भुसाल र शहब आलमले एक/एक विकेट लिए। चौराहाले उपाधिका लागि शनिबार शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किङ्स टोलीसँग खेल्नुपर्ने भएको छ।

समूह चरणको अन्तिम खेलमा रुपन्देही र चौराहा नै भिडेकामा प्ले अफमा स्थान बनाउन रुपन्देहीले दिएको ९२ रनको लक्ष्य चौराहाले १४ ओभरमा भेट्टाउनु पर्ने थियो। पारसले २१ बलमा ४२ रन बनाएपछि ११ ओभरमा नै लक्ष्य पूरा गर्दै चौराहा अघिल्लो चरणमा पुगेको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.