|

किरात र लिम्बूको सम्बन्ध के हो भन्ने प्रसंगमा केही लेखकहरूले लिम्बूहरू किरात नै होइनन् भन्ने तर्क अघि सारेपछि अन्योल सिर्जना भएको छ। लिम्बूहरू वास्तवमा नामको पछि जात वा थर नलेख्ने वा नझुण्ड्याउने समूहमा पर्दछन्। उनीहरूले लिम्बू लेख्नुअगावै छ पुस्तासम्म राय लेखेको पाइएको छ। 

यसैताका कतिपय लिम्बूहरूले सेन लेखेको पनि पाइन्छ। यसभन्दा अगाडि केही पुस्तासम्म नामको पछि हाङसमेत जोडेको पाइएको छ। हाङ शब्दको प्रयोग गर्नुभन्दा पहिले नाम मात्र उल्लेख गरिन्थ्यो। जस्तैः यलम्बर, गास्ती, स्थुङ्को आदिलाई उदाहरणको रूपमा लिन सकिन्छ। 

तात्कालीन समयमा जात वा थर लेख्ने वा भन्ने प्रचलन थिएन। राय थरसमेत उपाधिको रूपमा प्रयोग गरिएको थियोे। यसको अर्थ राजा भन्ने हुन्थ्यो। राय पदवी धारण गर्ने पहिलो व्यक्ति विजयपुरका राजा पुङलाइङ हुन्। यिनी कोचवंशी थिए भन्ने विद्वानहरूको भनाइ छ। इतिहासकार इमानसिंह चेम्जोङले भने साक्वादेन थरका लिम्बू भनी लेखेका छन्। उनी आजका तुम्बाहाम्फे, निङ्लेकु, पङ्यागु, सिंगकलगायतका लिम्बूहरूका पुर्खा हुन् भन्छन्। 

दोस्रो राय पदवी धारण गर्ने व्यक्ति मुरेहाङ हुन्। उनी खेवाहाङहरूका पुर्खा मानिन्छन्। खेवाहाङहरूले पनि छ पुस्तासम्म राय लेखेपछि लिम्बू लेख्न थालेका पाइन्छ। 

पश्चिम नेपालमा राय पद धारण गर्ने जुम्लाका राजा पुष्प मल्ल हुन्। उनले सन् १३३७ मा राय पदवी धारणा गरेका थिए। विजयपुर राज्यमा सेनहरूको राज्य भएताका अरूणपूर्वका सबै किरातले राय लेख्ने प्रचलन थियो। यो राय उपाधि किरातहरूलाई दिइएको थियो। यो उपाधि किरात लिम्बूहरूले छ पुस्तासम्म लगातार प्रयोग गरे। 

काठमाडौँ उपत्यकामा ३३ पुस्तासम्म शासन सञ्चालन गर्दा होस् वा काँगडा सतलज उपत्यकादेखि पाटक पतञ्जली एवम् गन्धवी राज्यमा राज्य चलाउँदा होस्, उनीहरूले कहिल्यै नामको पछि जात वा थर लेखेनन्। किरातहरू जातिवादी थिएनन्। उनीहरूमा जातीय अहंकार पनि थिएन। 

तीन समुदाय राई, लिम्बू, गुरुङ, मगर, तामाङ प्रायः सबै जातिमा सम्मिश्रित रूपमा पाइन्छन्। अझ नेवार समुदायमा ब्राह्मण–क्षेत्रीहरूको समेत मिश्रण छ। उदाहरणको लागि आचार्यले बौद्ध मत ग्रहण गरेपछि बज्राचार्य नामक छुट्टै थरको विकास भएको पाइन्छ।

हिन्दू अतिवादी राजा पृथ्वीनारायण शाहको हमलाबाट वल्लो तथा माझ किरात हडपेपछि पल्लो किरातमा आँखा लगाए। पल्लो किरात लिम्बूवानसँग कयौँ पटक युद्धमा नराम्ररी हार खान पुगेपछि गोर्खा राज्य बिस्तारको क्रममा राजा पृथ्वीनारायण शाहले सम्झौता गरे।

त्यसपछि पृथ्वीनारायण शाहका अमाल प्रशासकहरूले जात वा थरको खोजी गर्न थाले। यसबाट राई–लिम्बूहरूमा पहिचानको खोजी भयो। यही क्रममा केहीले आफू राय, लिम्बू भएको बताए। त्यही राय शब्द विशेष गरेर रणबहादुर शाहदेखि यता जारी भएका लालमोहरहरूमा राई भनी प्रयोग गरिएको छ।

कतिपयले अघि आफ्ना पूर्वजको सम्झना गर्दै याक्थुङहाङ लिलिमहाङको सन्तान भएको बताए। कतिले खाम्सोसोहाङ खम्बुकहाङको सन्तान भएको बताए। यहीँबाट खस पर्वतेहरूले उनीहरूलाई लिम्बू र खम्बू भन्न थाले। यही भनाइलाई हड्सन पाण्डुलिपिमा लिम्बूहरू आफूलाई याक्थुङवा भन्न रुचाउँछन् तर खस पर्वतेहरूले उनीहरूलाई लिम्बू भन्न थाले भनी लेखेका छन्। त्यसैगरी जे. आर. सुब्बाले धेरै इतिहासकारले लिम्बू शब्द सन् १७७४ पछिको गोरखाली भनाइ हो भनी उल्लेख गरेको आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। 

त्यसरी नै काजिमान कन्दङ्वाले सन् १९९० मा सेनहरूको राज्यकालभरि किरातहरूलाई राय भनियो र पछि गोरखालीसँग सम्झौता भएपछि लिम्बू भन्न थालियो भनेका छन्। 

नेपाल खाल्डोबाट किरातहरू बिस्थापित भई याक्थुङहाङ लिलिमहाङ र खाम्सोसोहाङ अलग भएपछि यिनैका सन्तान आजका लिम्बू र राई भएका हुन्। यिनीहरू वास्तवमा एकै सन्तान थिए। राजधानी सार्ने कुरामा मत विभाजन भई दुई जातिमा विभक्त भएका हुन्।  तात्कालीन समयमा राई र लिम्बू नभनिए तापनि कालान्तरमा आएर तिनै समूह राई र लिम्बू जातिको रूपमा चिनिए। दूधकोसीको सिमाना पृथ्वीनारायण शाहले अरुणपश्चिमका सबै भूभाग जिती अरुणपूर्व छिर्न नसकेपछि अरुण सिमानाको रूपमा विकास भएको हो किनकि अरुणपारिका धेरै ठाउँमा लिम्बू सेनाहरूले लडेका प्रमाणहरू फेला परेका छन्। 

लिम्बूवानको गठन हुँदा छथरबाट दूधकोसीसम्म खेवाहाङहरूले शासन गरेको कुरा डा. हर्क गुरुङले ‘मैले देखेको नेपाल’ नामक यात्रा संस्मरणमा उल्लेख गरेका छन्। खेवाहाङहरूले खोटाङमा चाम्लिङचिम्लिङ गढ निर्माण गरेको कुरा इमानसिंह चेम्जोङले आफ्नो पुस्तकमा लेखेका छन्। 

अघिल्ला लेखहरूमा प्रत्येक जातीय समुदायमा तीन समुदायको सम्मिश्रण भएको कुरा उल्लेख भइसकेको छ। ती तीन समूहमा तिब्बती, चिनियाँ र किरात पर्दछन्। ती तीन समुदाय राई, लिम्बू, गुरुङ, मगर, तामाङ प्रायः सबै जातिमा सम्मिश्रित रूपमा पाइन्छन्। अझ नेवार समुदायमा ब्राह्मण–क्षेत्रीहरूको समेत मिश्रण छ। उदाहरणको लागि आचार्यले बौद्ध मत ग्रहण गरेपछि बज्राचार्य नामक छुट्टै थरको विकास भएको पाइन्छ। यता तात्कालीन समयमा बस्ती पातलो हुँदा भैयाद (भाइसरह) बनाएर भए पनि राख्ने चलन चलाएका थिए। 

यसर्थ कुनै पनि जाति शुद्ध रहेको छैन। त्यसरी नै राई जातिमा पनि किरातहरू मात्र रहेका छैनन्। राई जाति चीनको खाम प्राप्तबाट अरुणको गड्तिर हुँदै खम्बुवानमा बसोबास गर्न आइपुगेको पाइएको छ। खाम्सोसोहाङका सन्तान भने बनेपाबाट पूर्व प्रस्थान गरेको पाइएको छ। राई जातिमा तिब्बती र चिनियाँहरूको पनि सम्मिश्रण रहेको पाइन्छ। 

यता याक्थुङहाङ लिलिमहाङ शब्दबाटै पूर्वमा ‘याक्थुङ लाजे’ र पछि राज्यको पुनर्संरचना गर्दा ‘लिम्बुवान’ राज्यको नामकरण गरिएको हो। त्यसैले लिलिमहाङका सन्तान नै आजका लिम्बू जाति हुन्। 

याक्थुङहाङ लिलिमहाङ उपत्यकाका अन्तिम किरात राजा योक्नेहाङका छोरा भएको र योक्नेहाङ उपत्यकाका अन्तिम किरात राजा भएकाले पनि किरात र लिम्बूबीच वंशानुगत सम्बन्ध रहेको पाइन्छ। लिम्बू जाति किरात होइन भन्ने भनाइ सत्य छैन। आठ किरात र लिम्बू विद्रोहपछि लिम्बूवान भएको तथ्यले लिम्बू जाति किरात होइनन् भन्नेहरूलाई दिग्भ्रमित तुल्याएको हुनसक्छ तर बिर्सनै नहुने कुरा आठ किरात–चिनियाँ सरदारका सन्तानबीचको विद्रोहपछिका आठ किरातहरू पनि केही लिम्बू भएका छन्। अर्को लिम्बू र लिम्बूवान शब्द किरात  राजा याक्थुङहाङ लिलिमहाङकै नामसँग सम्बन्धित छ। लिम्बू र लिम्बूवान शब्द अरूबाट आयतीत होइनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.