|

काठमाडौँ : सरकारले निर्धक्क भएर चुनाव प्रचार प्रसारमा लाग्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ। स्थानीय तहको निर्वाचन सुरक्षा मजबुत रहेको भन्दै सरकारले निर्धक्क भएर चुनावी अभियान सञ्चालन गर्न दलहरुलाई भनेको हो।

संसदमा सरकारको निर्वाचन सुरक्षाबारे जानकारी गराउँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक दलको चुनावी अभियानमा सरकाले मजबुत सुरक्षा उपलब्ध गराउने बताएका हुन्। 'कुनै राजनीतिक दलको कार्यक्रम सुरक्षाका कारण नबिथोलियोस भन्नेमा सरकार सचेत छ', गृहमन्त्रीले भने,'सरकारले राजनीतिक दलको चुनावी कार्यक्रममा मजबुत सुरक्षा उपलब्ध गराउँछ तपाईंहरु चुनावी कार्यक्रम ढुक्कले गर्नुस्।'

कस्तो छ सरकारको सुरक्षा योजना?

सरकारले स्थानीय तह निर्वाचनका लागि जिल्लाहरुलाई तीन तहमा विभाजन गरेको छ। अति संवेदनशील, संवेदनशील र सामान्यमा विभाजन गरी केन्द्रीय सुरक्षा समितिले सुरक्षा रणनीति तयार गरेको गृहमन्त्री विमलेन्द्र निधिले बताए। सरकारले मतदानस्थल केन्द्रित सुरक्षा नीति तयार गर्ने अन्तिम चरणमा रहेको मन्त्री निधिले जानकारी दिए।

मतदानस्थल सुरक्षा रणनीतिका लागि सरकारले विराटनगर, पोखरा धनगढी र नेपालगंजमा क्षेत्रीय सुरक्षा गोष्ठी सम्पन्न गरेको छ। धुलीखेल र सिमरामा सुरक्षा गोष्ठी छिट्टै सम्पन्न गर्ने सरकारको तयारी छ। 'गृह प्रशासनले मजबुद सुरक्षा नीति तयार गरी प्रभावकारी कार्यान्वयन गर्नेछ समन्वयात्मक ढंगले सुरक्षा जनशक्तिको परिचालन हुन्छ,' मन्त्री निधिले भने।

निर्वाचनमा राजनीतिक दलका उम्मेदवार मतदातालाई सुरक्षित महसुस गराउन योजनाबद्ध सुरक्षा रणनीतिक अपनाइने उनले बताए। मतदातालाई हतोत्साही बनाउने उम्मेदरलाई त्रास देखाउने काम कहीँ कतैबाट भए तत्काल कानुन बमोजिम कारबाही हुने मन्त्री निधिको भनाई छ।

सरकारले स्थानीय निकाय निर्वाचनमा २ लाख भन्दा बढी  सुरक्षाकर्मी परिचालन गर्नेछ। नेपाली सेना, नेपाल प्रहरी शसस्त्र प्रहरी सो संख्यामा सरकारले परिचालन गर्ने भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.