|

नेपाली साहित्यको उपन्यास परम्परामा सर्वप्रथम ‘माधवी’ (२०३९) त्यसपछि ‘त्रिदेवी’ (२०५१) र त्यसपछि ‘भूमिसूक्त’ (२०५८) जस्ता महत्त्वपूर्ण तीनवटा उपन्यास लेख्ने मदनमणि दीक्षित आफ्ना दुईवटा उपन्यास माधवी र भूमिसूक्त उपन्यासमा मात्र वैदिक साहित्यका विषयवस्तुलाई उपयोग गर्दै वैदिक युगीन युगप्रधान उपन्यास लेख्ने उपन्यासकारका रूपमा चर्चित प्रतिष्ठित र उल्लेख्य हुनु पुगेका देखिन्छ। 

यस क्रममा वैदिक साहित्यमा रहेका युगीन अभिलक्षणहरूको सामाजिक युगीन विषयवस्तुलाई युगीन–उदात्तीकरणको चित्रण–वर्णन र अङ्कन गर्दै सग्लासग्ला पूर्व वैदिक, मध्य वैदिक र उत्तर वैदिक जस्ता समष्टि वैदिक युगहरूको परिवेशप्रधान, इतिहासप्रधान र ऐतिहासिक युगप्रधान उपन्यास लेखनमा उनले आफूलाई सक्रिय गराएका पाइन्छ। 

समाज र युगका सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक आर्थिक हुँदै वैचारिक यथार्थ स्थितिको आँकलन गर्दै तिनलाई औपन्यासिक पुनर्निर्माणसहित प्रस्तुति प्रस्तुत गरेका पाइन्छ। 

यिनको प्रथम उपन्यास माधवीलाई हेर्दा यसमा महाभारतको दृष्टान्तमूलक गुरु दक्षिणापूर्ति विषयक कथालाई औपन्यासिक कथानकको स्रोतका रूपमा लिएर त्यसलाई वैदिक साहित्यमा रहेको वैदिक युगीन उत्तर वैदिककाललाई चित्रण–लक्ष्य बनाई साधनका रूपमा उपयोग प्रयोग गरेका पाइन्छ। भनूँ, महाभारतका व्यासका गालवीय दृष्टान्तमूलक कथालाई साधन बनाएर उत्तर वैदिक युगको युगीन पुनर्निर्माणको पक्षलाई साध्यका रूपमा, लक्ष्यका रूपमा र उद्देश्यका रूपमा प्रस्तुति दिइएको पाइन्छ। यस अर्थमा यो उपन्यास उत्तर वैदिक युगीन ऐतिहासिक यथार्थवादी उपन्यास भएको छ। 

उत्तरवैदिक युगीन समाज र युगको समष्टि वैदिक परिवेशको क्षितिज उद्घाटनका निम्ति यसमा वेद, ब्राह्मण, उपनिषद्, रामायण, पुराण, महाभारत, श्रीमद्भगवद् गीता र दुर्गा सप्तशती जस्ता ग्रन्थ एवम् वैदिक लौकिक समष्टि पूर्वीय वाङ्मय साहित्यको निष्कर्ष निचोड निकाल्दै तिनकै आधारमा देखापरेको, फेलापरेको र निर्णयमा प्राप्त भएको उत्तर वैदिक युगको उद्घाटन गर्नमा यिनी सफल, सक्षम र समर्थ भएका पाइन्छ। 

यति मात्रै होइन, समष्टि पूर्वीय वाङ्मयको अधुनातन पाश्चात्य जगत्मा भएको अनुसन्धानामूलक अध्ययन र पूर्वीय जगतमा हुँदै गरेको अनुसन्धानात्मक अध्ययनहरूको समेत समसामयिक अध्ययनलाई आधार बनाउँदै यस्ता समष्टि अध्ययनलाई ऐतिहासिक युगप्रधान विषयवस्तु बनाउनका निम्ति ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवाद जस्ता समाज विज्ञानका र इतिहास विज्ञानका ऐतिहासिक सामग्रीहरूको समेत सहयोग लिई एउटा प्रष्ट, स्पष्ट र छर्लङ्ग हुने गरी देखिने उत्तर वैदिक युगको सिङ्गो सग्लो स्वरूपको पुनर्निर्माण गर्न दीक्षित खप्पिस एवम् समर्थ देखिन्छन्। 

विशेषगरी पूर्वीय वाङ्मयका वैदिक साहित्यमा रहेका वैदिक समाजहरू र त्यसको उत्तर वैदिक युगका झिनामसिना लक्षणदेखि फाट्टफुट्ट रूपमा रहेका सन्दर्भहरूलाई समेत लिएर वैदिक समाजहरू यस्तै थिए, ती समाजहरूको समष्टि उत्तर वैदिक युग यस्तो थियो भन्ने निष्कर्ष निचोडमा पुग्दै ती समाज र तिनको यो युगलाई अङ्कन, रेखाङ्कन र ऐतिहासिक पुनर्निर्माणको साक्ष्य प्रस्तुत गरेको देख्न सकिन्छ। उत्तर वैदिक युगकै पुनर्निर्माणका सन्दर्भमा पुरातत्त्व, इतिहास, विज्ञान र मानवशास्त्र जस्ता विषयवस्तुलाई समेत साध्य साधनका निम्ति उपयोग गरेका पाइन्छ। 

माधवी र भूमिसूक्त जस्ता उपन्यासमा समाज र युगप्रधान विविध विषयवस्तुलाई संयोजन गर्ने क्रममा दीक्षितलाई कहाँबाट प्रेरणा प्रभाव र उत्प्रेरणा एवम् पृष्ठभूमिगत अध्ययन शृङ्खला प्राप्त भयो भन्ने सन्दर्भलाई हेर्दा नेपाली परिवेशका शासकहरूका राणा शासकको ऐतिहासिकताको सन्दर्भ राजा, रजौटा, त्रिभुवन, महेन्द्र, वीरेन्द्र जस्ता राजाहरूको राजकीय जीवन र त्यसको प्रयोग हुँदै राणाकालदेखि एक सम्भ्रान्त परिवार बन्न पुगेको आफ्नै घरायसी सन्दर्भसमेतले बलियो भूमिका खेल्दै गएको पाइन्छ। पूर्वीय वाङ्मय ज्ञानकलाले आर्जन गरेको भूमिका यी यावत् सन्दर्भमै दीक्षितको युगप्रधान उपन्यासकला औपन्यासिक पुनर्निर्माणसहित युगीन ऐतिहासिक यथार्थवादी उपन्यास भएर प्रकट हुन र प्रस्तुत हुन सक्षम भएको छ। 

विशेषगरी दीक्षितको लामो समयको पत्रकारिताको निरन्तर लेखन र प्रकाशन एवं तिनमा प्रयोग गरिएका समाजका र युगका सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक अध्ययन मनन् र चिन्तनका प्रयोगले समेत एकातिर बृहत् उपन्यास लेख्न गतिलो टेवा पुर्‍याएको देखिन्छ भने अर्कातिर समाजका सामाजिक सूक्ष्म–चेत र लक्षणहरूको पकड गर्नमा समेत तिनले बलियो मद्दत पुर्‍याएको देखिन्छ। समाज र युगसम्बन्धी चेतनाको पूर्वाधार र पूर्व पृष्ठभूमि निर्माण गर्ने काममा दीक्षितको पत्रकारिता एक आधारशिला वा आधारस्तम्भ बन्न पुगेको देखिन्छ। 

महाभारतमा रहेको कवित्वका कथामा तत्कालीन समाजका झिनामसिना लक्षण र राज्यहरूका सीमित लक्षणलाई समेत उपयोग गर्दै उत्तर वैदिक सिङ्गो युग यसभित्रका समाज र ग्रामीण सन्दर्भ सबै सबैको समष्टि युगीन पुनर्निर्माण गर्दै माधवीको ऐतिहासिक सन्दर्भ व्यापक विविध र सम्भ्रान्त बनेर प्रस्तुत भएको छ। 

यति मात्रै होइन, दीक्षित पूर्वीय वाङ्मयका एक गहन र गुरुत्तर गम्भीर प्रकृतिका अध्येता र त्यस अध्ययनको प्रयोक्ताका रूपमा नेपाली समाजमा एक मात्र उत्कृष्ट अद्वितीय प्रतिभा देखापर्दछन्। यस्तो प्रतिभा नेपालमा मात्रै होइन, भारतीय हिन्दु सनातन धर्म समाजमै विरलै भएको वा हुन सक्ने देखिन्छ। यस किसिमको दीक्षितको अध्ययन, मनन् र प्रयोगले समेत वैदिक युगीन उपन्यासहरू लेख्न सजग, सचेत र सक्षम बनाएको पाइन्छ। 

यिनको प्रथम उपन्यास माधवीमा महाभारतको गालवको दृष्टान्तमूलक घुमन्ते कथानकलाई लिएर त्यसको त्यो घुमन्ते जीवनका समाजभित्र उत्तर वैदिककालीन भारतीय समाजहरू र ती समाजहरूको समष्टि स्वरूप बनेको उत्तर वैदिककालीन युगीन स्वरूपलाई परिवेशका रूपमा जडेर उत्तर वैदिककालीन ऐतिहासिक युगप्रधान एक ऐतिहासिक यथार्थवादी परिवेशमूलक सम्भ्रान्त उत्तर वैदिक युगीन उपन्यासको निर्माण गर्न पुगेका देखिन्छ। 

महाभारतका व्यासले गालवको दृष्टान्तमूलक कवित्व कथाका क्रममा गालवको गुरुदक्षिणापूर्ति निम्ति पुत्री माधवी स्वरूपा कन्या माधवीलाई विभिन्न राजाहरू कहाँ घुमाई आफ्नो गुरुदक्षिणाको पूर्ति गर्ने प्रयत्न गरेको देखिन्छ र त्यहाँ घुमाइकै प्रयोगका क्रममा ती राज्यहरूका सानातिना सन्दर्भसहित केही सामाजिक अभिलक्षणसमेत उल्लेख गरिएका पाइन्छन् भने माधवीका मदनमणि दीक्षितले यस्तो एकलकाँटे कथानकको घुमन्ते प्रक्रियाको आधार लिएर ती घुमाइहरूको प्रयोगका क्रमलाई नै चयन गरेर त्यस्ता घुमाइहरूमै उत्तर वैदिककालीन समाजहरूको अभिलक्षण भरेको छ।

साथै ती अभिलक्षणहरूको समष्टि स्वरूपमा रहेको उत्तर वैदिक युगीन भारतीय समष्टि स्वरूपको संयोजन, निर्माण, संगठन र पुनर्निर्माण गर्दै सग्लो उत्तर वैदिककाल यस्तो स्वरूप र झाँकी झल्झली देखिने गरी चित्र र दृश्य उपस्थापन गर्दै प्रत्यङ्कन गर्न सफल, सक्षम, समर्थन र निपुर्ण बन्न पुगेका देखिन्छ। यस क्रममा महाभारतको व्यासको कलाभन्दा मदनमणि दीक्षितको उत्तर वैदिक युगीन औपन्यासिक कला सफल, सक्षम र सम्भ्रान्त कला बनेर मुखरित भएको छ। 

कथानकीय सन्दर्भलाई हेर्दा महाभारतमा गालवको गुरुदक्षिणापूर्तिको कथा मात्र छ भने त्यो झिनो कथानक माधवीमा आउँदा मोटो कलेवरमा विशाल, विविध र व्यापक हुँदै युगीन नारीप्रधान नेतृ माधवीको नायिकाप्रधान चरित्र बनेर प्रकट भएको छ। माधवीको चरित्रप्रधान मूल कथानकभित्र गालवको सहायक कथानक, नागजेयको सहयोगी कथानक, चारवटा राजाहरूको कथानक, विभिन्न जनपद प्रधानहरूको कथानक हुँदै चारवटा चक्रवर्ती सम्राटरूपी माधवीका पुत्रहरूको कथानक जस्ता विपुल कथानकीय संरचनामा कथानकीय व्यापकता विशालता र सम्भ्रान्तीय स्वरूप उजागर भएको छ। 

यस किसिमको माधवीको मूल कथानकले उत्तर वैदिक युगको ऐतिहासिक विकासक्रमको परिपूर्ति दिने सन्दर्भमा विभिन्न सहायक र उपयोगी कथानकलाई आफूमा समेट्दै हाँगाबिँगासहित परिपूर्ण रूप दिई औपन्यासिक कथानकको गठन, सुगठन र सङ्गठनमा सशक्त रूपमा संयोजन गर्ने काम भएको छ। यहाँ आएर व्यासको कथानकले हूबहु भन्दा पनि साधनका रूपमा काम गर्दै उत्तर वैदिक युगको विकासको स्वरूपलाई साध्यमय तुल्याएर प्रयोग गर्न पुगेको छ।

महाभारतमा रहेको कवित्वका कथामा तत्कालीन समाजका झिनामसिना लक्षण र राज्यहरूका सीमित लक्षणलाई समेत उपयोग गर्दै उत्तर वैदिक सिङ्गो युग यसभित्रका समाज र ग्रामीण सन्दर्भ सबै सबैको समष्टि युगीन पुनर्निर्माण गर्दै माधवीको ऐतिहासिक सन्दर्भ व्यापक विविध र सम्भ्रान्त बनेर प्रस्तुत भएको छ। 

चरित्र प्रयोगका सन्दर्भलाई हेर्दा महाभारतका व्यासले आफ्नो कवित्वमय कथामा माधवीको चरित्रलाई गौण रूपमा राखेका छन् भने माधवी उपन्यासका मदनमणिले यही गौण भूमिका भएकी महाभारतकी माधवीलाई प्रमुख चरित्र बनाई त्यसलाई उत्तर वैदिक युगीन नेतृ नायिका चरित्र प्रदान गरी औपन्यासिक पात्रीय भूमिकाकी बेजोड प्राप्तिका रूपमा प्रस्तुति दिएका छन्। यस्तो भूमिकाका क्रममा एक राजकुमारी मेधावी पात्रा, बारूणी महामाया रूपा धार्मिक देवी स्वरूपा, गालवकी केश शुल्का, गालवकी प्रेमिकासहित चार चक्रवर्ती सम्राटकी एक मात्र राजमाता जस्ता विविध चारित्रिक भूमिकाहरूको एक उच्च उदात्त, आभिजात्य कुलीन र भव्य एवं सम्भ्रान्त नारी चरित्रका रूपमा युगीन नेतृ नारी स्वरूपा माधवीको चरित्रगाथाको प्रस्तुति प्रयोग गरिएको छ। 

गालवको चरित्र निर्माणका क्रममा महाभारतको एक योग्य विश्वामित्र शिष्य, उत्कट वैष्णवभक्त पात्र र वैष्णवी भक्तिमार्फत् गुरु दक्षिणापूर्तिको उपायमा सफल शिष्यको चरित्र स्वरूप मात्र प्रस्तुत छ भने यो पात्र मदनमणि दीक्षितको माधवी उपन्यासमा आइपुग्दा गुरुकुल ऋषिकुमार हुँदै राजकुमारी माधवीको एक मात्र प्रेमी भएको छ। केश शुल्का भई गालवको गुरु दक्षिणापूर्ति गर्न लागि परेकी माधवीप्रति कृतज्ञावनत बनेको छ। एक आश्रमको योग्य शिष्य र विद्वान् गालव माधवीका व्यवहारका तुलनामा कम व्यवहार भएको, कम व्यावहारिक र विद्वान् भए पनि व्यवहारमा नपरेको हुँदा एक अव्यावहारिक पात्रका रूपमा चित्रित छ।

राजसभामा विद्वत्तापूर्ण आकर्षक वक्तव्य दिँदै हिँड्ने गालव युगकै प्रकाण्ड विद्वान् वैष्णवोपनिषद् रचना गर्ने उपनिषद् सर्जक हुँदै विष्णुभक्तका रूपमा विश्वामित्रलाई यज्ञमा विष्णुलाई स्थान दिनुपर्छ भन्ने युगीन वैष्णवीभक्त ऋषि चिन्तकका रूपमा विश्वामित्र भन्दा एक कदम अगाडि बढेको समसामयिक धार्मिक विद्वान्का रूपमा प्रस्तुत छ। 

चक्रवर्ती चार सम्राटहरूको यज्ञमा उपस्थित भई यज्ञलाई नै शोभायमान बनाउने भव्य ऋषि प्रतिभाका रूपमा उपस्थित भएको छ। साथै माधवीसँग हिँड्दै उत्तरवैदिक युगीन विकासका यात्रामा एक सहयोगी सहायक पात्र बन्न पुगेको छ। यसरी महाभारतका व्यासको गालवभन्दा माधवीको गालव युगीन विद्वत् व्यक्तित्व सम्पन्न एक सम्भ्रान्त विद्वानका रूपमा प्रस्तुत भएको छ। 

यस्तै नागजेय नामक चरित्र महाभारतमा साक्षात् गरूड बनेर गालवको गुरु दक्षिणानिम्ति वैष्णवभक्त भएकाले सहयोग गर्न आएको कथामा चर्चित छ भने मदनमणिको माधवीमा साक्षात् गरूड भन्दा पनि विश्वामित्र गुरुकुलको अग्रणि विद्यार्थी मित्रका रूपमा प्रस्तुत गर्दै सहाध्यायी सखाले ययातिकहाँ लगेर राज्यमा चर्चाको विषय बनाई केश शुल्का निर्णय गराई सहयोग गरेको र चौथो अन्तिम घोडासमेत संसारमा नभएकोमा विश्वामित्रमा माधवी अर्पित गर्नुपर्नेजस्तो सहयोगी भूमिका निर्माण गर्दै गरूडभन्दा नागजेयको चरित्र उपस्थापन गर्दै स्वाभाविकताको सिर्जना गरिएको छ। यसरी वैष्णवभक्त जनपदको महत्त्वपूर्ण पात्र र गालव र माधवीका निम्ति सधैँ सहयोग गर्ने एक सहयोगी अभिभावक तथा हितैषी पात्रको भूमिकामा महत्त्वपूर्ण व्यक्तित्व भएको पात्रका रूपमा प्रकट भएको छ। 

माधवी, गालव र नागजेयपछि चारवटा राजाका रूपमा रहेका ययाति, हर्यश्व, दिवोदास, उशिनर शिवि, विश्वामित्र, माता चौला, शनिशिरा र सौरभ एवम् राजा वैनतेय जस्ता सहायक तथा आफ्ना जनपदका प्रमुख पात्रहरूको सहायक भई प्रमुख चरित्रको भूमिका निर्माण गर्ने व्यक्तित्वका रूपमा प्रस्तुत हुनपुगेको पाइन्छ। यी पात्रपछि अन्य गौण पात्रहरूको समेत आ–आफ्नो भूमिका महत्त्वपूर्ण बनेको छ।

२७५ जति पात्रहरूको बहुल शृङ्खलामा युगीन पात्रहरूको चरित्र निर्माण गर्ने कलामा दीक्षित सफल मात्रै होइन, एक अब्बल र निपूर्ण उपन्यासकार बन्न पुगेका छन्। पात्र प्रयोगका कुशलता र संसिद्धि प्राप्त गर्दै अत्युच्य पात्र प्रयोगको समर्थ व्यक्त गर्ने एक सम्भ्रान्त पात्र प्रयोक्ता उपन्यासकार बन्न सक्षम र समर्थ छन्।

मदनमणि दीक्षितको उपन्यासको मूल प्रयोग क्षेत्र भनेको युगीन ऐतिहासिक पुनर्निर्माण हो। यस्तो युगीन युग निर्माणको बेजोड कलाको सम्यक प्रयोगमा दीक्षित एक युग निर्माणकर्ता निपूर्ण उपन्यासकार हुनपुगेका छन्। यस सन्दर्भमा माधवी उपन्यास एक उत्तरवैदिक युगीन युग प्रस्तुत गर्ने वृहत् उपन्यास भएको छ। यसमा सिङ्गो युगको निर्माण जंगली युगदेखि लिएर ग्राम निर्माण, राज्य निर्माण र राज्यहरूको निर्माणसहित राज्यसत्ता उदाउँदो स्थितिसम्मको महाजनपदीय काशी नगरीसम्मको विकासक्रमिक निर्माणले युगीन परिपूर्णता प्राप्त गरेको छ। ग्राम, जनपद, राज्य र महान् राज्यसम्मको ऐतिहासिक विकासक्रमको युगीन निर्माणकलामा माधवी एक ऐतिहासिक यथार्थवादी उत्तर वैदिक युगको युगीन उपन्यास बन्नपुगेको छ। 

जलचर, समथल र बनेचर मार्गका साथै युगीन परिवेशको एकएक सन्दर्भको सफलतम् भूमिका निर्वाह गर्नमा माधवी निपूर्ण, समर्थ र सर्वोत्कृष्ट उपन्यास बन्न पुगेको छ। 

पृथ्वी मातेसम्बन्धी विभिन्न शास्त्रहरूमा छितरिएर रहेका बहुविध विपुल, व्यापक कथाहरूको कथामालामा प्रस्तुत भएकी पृथ्वी मातेको यस्तो चरित्रलाई समेटेर एक निश्चित स्वरूप दिँदै यही निश्चित स्वरूपमा चारित्रिक नेतृत्व प्रदान गर्दै निर्मित, सुनिर्मित बन्नपुगेको कथानकीय संयोजन र संगठन सशक्त रूपमा निर्माण भएको छ।

उद्देश्यका रूपमा हेर्दा माधवी उपन्यासमार्फत् उत्तर वैदिक युगमा नारी समस्या कस्ता थिए? तिनका विवशता कस्ता थिए? व्यथा, कथा र पीडा कस्ता थिए? त्यस्ता समस्याहरूको युगीन समूल प्रस्तुति नै माधवी उपन्यासको उद्देश्य बनेर उपन्यासमा लहराएको छ। प्रवाहमान भएर गतिशील हुँदै अघि बढेको छ। युगीन नारी विषमताको विपुल युगको युगगाथा बनेर माधवीमा अवतरित भएको छ। 

मदनमणि दीक्षितको दोस्रो युगप्रधान युगीन ऐतिहासिक उपन्यासका रूपमा ‘भूमिसूक्त’ (२०५८) देखा पर्दछ। यसमा विशेषगरी सृष्टि सभ्यता, पृथ्वी सभ्यता र मानव सभ्यतालाई पृथ्वी नेतृ चरित्रमार्फत् उद्घाटन गर्दै पूर्व वैदिकदेखि मध्य वैदिक युगसम्मको युगीन ऐतिहासिक कथ्यलाई औपन्यासिक कलामय स्वरूपमा युगप्रधान उपन्यास बनाएर प्रकट गरिएको छ। 

वैदिक ऋचाहरूमा भएका सानातिना लक्षण, संकेत र सन्दर्भ एवं अभिलक्षणका साथ फाट्टफुट्ट देखापरेकी भूमिमाते/पृथ्वी मातेको छितरिएका चरित्रका तथ्यहरूलाई एकीकृत स्वरूप दिई एउटा सग्लो चरित्रको निर्माणका साथ ती युगका विविध तथ्य र साक्ष्य र प्रमाणहरूलाई समेत जुटाई तिनलाई सृष्टिदेखि पूर्व वैदिक तथा मध्य वैदिक युगीन स्वरूपमा निर्माण गर्दै एक भूमि मातेको सूक्तगत स्वरूपलाई युगगत स्वरूपमा सुसंगठित संयोजन र निर्माण गरिएको छ भने युगीन सन्दर्भहरूलाई समेत व्यापक रूपमा निर्माण, पुनर्निर्माण गर्दै तिनलाई औपन्यासिक कलामा संयोजन र पुनःसृजन गरिएको छ।

एकातिर यो भूमिसूक्त उपन्यास युगप्रधान ऐतिहासिक उपन्यास भएको छ भने अर्कातिर त्यो युगप्रधान ऐतिहासिक परिवेशमा एकछत्र नेतृत्व गर्ने नेतृत्वमयी माता भूमि/पृथ्वी मातेको नेतृत्वशील चरित्रलाई आधार बनाएर यिनको चरित्रलाई चारित्रिक प्रधानता दिई चरित्र चित्रणप्रधान उपन्यासका रूपमा अवतरित गरिएको छ। यसमा सृष्टिदेखि सृष्टि भएर सृष्टि गर्दै हिँडेकी भूमि अर्थात् पृथ्वी मातेको चरित्रलाई मानवकी जन्मदात्री मातेसहित मानवको, मानव सभ्यताको थालनी, विकास र सम्वद्र्धनको पराकाष्ठामा पुर्‍याउने महियसी, गरियसी मातेको सम्भ्रान्त चरित्रलाई उजागर गरिएको छ।

यस रूपमा भूमिसूक्त उपन्यास पूर्व वैदिक हुँदै मध्य वैदिक युगसम्मको ऐतिहासिक विकास क्रमिक रेखांकनमा सबल, सफल र सक्षम बन्दै एक सम्भ्रान्त युगीन उपन्यास बनेर प्रकट हुन समर्थ भएको छ। 

पृथ्वी मातेको चरित्रलाई महाकालकी पुत्रीका रूपमा, सूर्यकी बहिनी र जीवनसाथीका रूपमा तथा मानवकी जन्मदात्री र जन्मका साथसाथै यस मानवकी मानव सभ्यताकै मातेका रूपमा वृहत्, व्यापक, विपुल र सम्भ्रान्त चरित्रको ऐतिहासिक युगीन प्रस्थापनमा भूमिसूक्त बेजोड उपन्यास बनेर प्रस्तुत हुन सक्षम छ। 

कथानक प्रयोगका क्रममा सृष्टिको अवतरण र त्यसमा पृथ्वीको जन्म र पृथ्वीको सृष्टिको प्रकरण र यस सृष्टिमा मानवको जन्म र मानव तथा मानव सभ्यताको अवतरण गर्दै त्यसमा सृष्टिदेखि पूर्व वैदिक हुँदै मध्य वैदिक युगसम्मको पृथ्वी मातेको चरित्र गाथालाई औपन्यासिक गाथा, कथा बनाई प्रस्तुत गरेर अब मानव गाथा गाइनुपर्ने प्रेरक सन्देश दिँदै उपन्यासको कथानक परिपूर्ण संरचनामा सुगठित, संरचित र सुनिर्मित बन्दै सुसंयोजित हुनपुगेको छ। 

पृथ्वी मातेसम्बन्धी विभिन्न शास्त्रहरूमा छितरिएर रहेका बहुविध विपुल, व्यापक कथाहरूको कथामालामा प्रस्तुत भएकी पृथ्वी मातेको यस्तो चरित्रलाई समेटेर एक निश्चित स्वरूप दिँदै यही निश्चित स्वरूपमा चारित्रिक नेतृत्व प्रदान गर्दै निर्मित, सुनिर्मित बन्नपुगेको कथानकीय संयोजन र संगठन सशक्त रूपमा निर्माण भएको छ। उपन्यासमा छितरिएर प्रस्तुत भएका कथै कथाको बहुविध स्वरूपमय शक्तिको सम्भ्रान्त रूपमा यो उपन्यास कथानकीय सम्भ्रान्त रूप प्रस्तुत गर्न सक्षम, समर्थ एवं निपूर्ण देखिएको छ। 

चरित्र प्रयोगका क्रममा सृष्टि सभ्यता र यस सभ्यताका पात्रहरू, पृथ्वी सभ्यता र यस सभ्यताका पात्रहरू, मानव सभ्यता र यस सभ्यताका विकासक्रममा भएका पात्रहरू जस्ता सबै पात्रहरूको आ–आफ्नो सशक्त र जीवन्त भूमिकामा बहुल पात्रप्रधान यो उपन्यास पृथ्वी मातेको चरित्रको प्रमुख नेतृत्वमा नेतृत्वशील बनेर अवतरण संयोजन र प्रवहण बन्दै गतिशील हुनपुगेको छ। पृथ्वी मातेको ममत्वमय आदर्श चरित्रका छहारीमा समग्र पात्र युगीन ऐतिहासिकताका एकएक लक्षण, अभिलक्षण र परिचयका संकेतक बनेर संयोजन–उद्घाटन हुँदै सुनिर्मित भएका छन्।

पूर्व वैदिक र मध्य वैदिक युगहरूको युगीन ऐतिहासिक पुनर्निर्माण गरिएको भूमिसूक्त सृष्टि वर्णन गर्ने क्रममा महाकालको वाणी सूक्तदेखि हिमवानको जीवनसम्म सृष्टि, पृथ्वी र मानव जन्म र यसको विकास हुन लागेको स्थितिसम्म पूर्व वैदिक युगीन इतिहास निर्माण गर्न सक्षम भएको छ भने सप्तमातृका सूक्तको अदितिगाथादेखि स्त्रीराज्य सूक्तसम्मको मानवको मानवताविरुद्धको मातृधर्म–शृङ्खला पृथ्वी धर्मका रूपमा प्रचलित भएको ऐतिहासिकता प्रस्तुत गर्दछ। मान्छेको मान्छेमाथिको क्रूर, नृशंस, बर्बर, आततायी, हिंस्रक, मृत्युपूर्ण धर्म सभ्यता बिस्तारै मानव धर्मको अभ्युदय र विकासपछि समापनको संघारमा पुग्दै हराउन पुग्दछ। फलस्वरूप पृथ्वी माते देवीको धर्मका ठाउँमा मानव धर्मको उत्पत्ति र विकास भई राम्रो धर्म एक समृद्ध स्वरूपमा स्थापित बन्न पुग्दछ। यसरी आदिमकालीन मातृधर्मको यो प्राचीन ऐतिहासिकताको प्राकट्यमा उपन्यास सनसनीपूर्ण इतिहास तथ्य प्रकट गर्दै अघि बढ्दछ। 

नेपाली उपन्यास परम्परामा शैली शिल्पगत वैशिष्ट्य भएका उपन्यासहरूको क्रमिक शृङ्खला हेर्दा प्रथमतः ‘भ्रमर’ उपन्यास आफैँमा बेजोड बनेको छ भने त्यसपछि ‘लङ्गडाको साथी’ उपन्यासको वैशिष्ट्य आफैँमा उत्कृष्ट छ। तदनन्तर ‘अनुराधा’ उपन्यासको शैली उत्कर्षमा पुगेको छ। यसपछि ‘माधवी’ उपन्यासको शैली सर्वोत्कृष्ट शैलीका रूपमा आफैँमा अनुपम बनेको छ

यस्तै पूर्वीय सभ्यताको सबैभन्दा विकसित मातृशिखर, मोहन जोदेडो र हरियुपिया सिन्धु सभ्यता र कालकंकण सभ्यताको विकासको समृद्धिमा रमाएको पूर्वीयजनको यो यथार्थ आर्यजन र असुरजनका बीच भएको वैमनश्य र शत्रुतापूर्ण युद्धले समाप्त र सखाप बन्न पुग्दछ। फलस्वरूप आफ्ना पृथ्वीका मानव सन्तानको सभ्यतामै सबैभन्दा विकसित सभ्यता नष्ट भएकोमा पृथ्वी अधीर भई विरही भई विलापी बन्दै दुःखी भएको ममत्वको पराकाष्ठाको करूणार्द्र प्रस्तुति हुनपुग्दछ। यसपछि पूर्वतिरको आर्यहरूको प्रसारको क्रममा बसेका राजा रजौटाको इतिहासको विकास हुँदै पुनः मानव सभ्यता अघि बढेको ऐतिहासिक परिवेशमा उपन्यास टुङ्गिन पुग्दछ। 

यसरी पूर्व वैदिक र मध्य वैदिक युगसम्मको युगीन ऐतिहासिकताको पुनर्निर्माण बेजोड रूपमा सफल, सबल र संयोजन हुनपुग्दछ। सृष्टिको परिवेश, पृथ्वी सृष्टिको परिवेश मानव सृष्टि र यसको क्रमशः विकास हुँदै समृद्ध र विनास हुनपुगेको हुँदै पुनः विकासतिर लम्किन थालेको परिवेशसम्मको पूर्व वैदिक र मध्य वैदिक युगसम्मको परिवेशको संयोजन, संगठन यसमा सशक्त भएर विपुल, बहुल, सम्भ्रान्त परिवेशका रूपमा निर्मित एवं संगठित र पुनर्निमित भएको देख्न सकिन्छ।  

उद्देश्यका रूपमा भूमिसूक्त उपन्यासमा पृथ्वी मातेको पूर्व वैदिक र मध्य वैदिक युगसम्मका दुईवटा युगहरूको नेतृत्वको चरित्रको चरित्राङ्कन गरिएको छ। ब्रह्माण्ड सृष्टिको सृष्टि र आफैँसमेत सृष्टि बनेकी भूमि/पृथ्वी माते चर/अचर, मानव/मानवेत्तर प्राणी एवं जीव जगत्की सृष्टिकर्ता माते बन्दै समष्टि सृष्टिमा विशिष्ट बनेको मानवको सृष्टि गर्दै त्यसको सभ्यताको सम्यक् विकास गरिएसम्मको चित्रण भएको छ। 

पृथ्वीकै सृष्टिकै विशिष्ट सृष्टि बनेको मानवको समष्टि विकास पृथ्वी मातेको नेतृत्वका छहारीमा गतिशील बन्दै प्रकट हुनपुगेको छ। यही पृथ्वी मातेको नेतृत्वमा भएको विकासको गतिशीलता प्रस्तुत गर्नु नै यस उपन्यासको प्रमुख उद्देश्य कथन बनेको छ। नारी चरित्रकी आदिम प्रतीक पृथ्वी माते एक पुत्रीका रूपमा, एक बहिनी र पत्नीका रूपमा एक पृथ्वीदेवी र पृथ्वी मातेको रूपमा हुँदै समग्रमा एक मातेका स्वरूप र आयामका विविध प्रवृत्तिका पक्षमा प्रस्तुत हुँदै नारी चरित्रको नेतृत्वमयी भूमिकामा व्यापक र विशाल बन्दै एक आभिजात्य कुलीन र सम्भ्रान्त माते नेतृ चरित्रका रूपमा प्रस्तुत हुनपुग्नु नै यसको उद्देश्य कथन भएको छ। 

नेपाली उपन्यास परम्परामा शैली शिल्पगत वैशिष्ट्य भएका उपन्यासहरूको क्रमिक शृङ्खला हेर्दा प्रथमतः ‘भ्रमर’ उपन्यास आफैँमा बेजोड बनेको छ भने त्यसपछि ‘लङ्गडाको साथी’ उपन्यासको वैशिष्ट्य आफैँमा उत्कृष्ट छ। तदनन्तर ‘अनुराधा’ उपन्यासको शैली उत्कर्षमा पुगेको छ। यसपछि ‘माधवी’ उपन्यासको शैली सर्वोत्कृष्ट शैलीका रूपमा आफैँमा अनुपम बनेको छ भने यसभन्दा पनि सर्वोत्कृष्टतम शैलीको माथिल्लो नमुना प्रस्तुत गर्न ‘भूमिसूक्त’ सक्षम र समर्थ रहेको छ। यसरी हेर्दा नेपाली उपन्यास परम्परा नै औपन्यासिक शैली, शिल्पमा समेत दीक्षित एक सम्भ्रान्त आकाश थेग्न सफल भएको देख्न पाइन्छ। 

समग्रमा भन्नुपर्दा ‘माधवी’मार्फत् उत्तर वैदिक युगीन परिवेशको सम्भ्रान्त स्वरूप प्रकट गर्ने दीक्षित ‘भूमिसूक्त’मा ‘माधवी’भन्दा अगाडिको पूर्व वैदिक र मध्य वैदिक युगको प्राकट्यको लक्ष्यमा सफल भएको र वैदिक साहित्यका सम्भ्रान्त औपन्यासिक स्रष्टाको नमुना बन्न सक्षम र समर्थ हुनपुगेको देख्न सकिन्छ। वैदिक साहित्यकै नारी चरित्रको पृष्ठभूमिमा विकसित नेपाली नारी चरित्रहरूको प्रस्तुति यिनको ‘त्रिदेवी’ (२०५२) भएको देख्न सकिन्छ। यसरी वैदिक युगीन युगीनताको ऐतिहासिक पुनर्निर्माण र त्यसमा र तिनमा नारी चरित्रको समष्टि आयामको प्राकट्यको दीक्षितेली कला एक सम्भ्रान्त कला बनेर मुखरित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.