|

दमकः संघीय गठबन्धनले स्थानीय तहको निर्वाचनको विरोध गर्दै आज झापाको दमकमा निकालेको लाठी जुलुसका क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ।

दमकस्थित गणतन्त्र चोकबाट आज दिउँसो लाठी जुलुस निकाल्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। लाठी जुलुस निकाल्नै लाग्दा प्रदर्शनकारीलाई प्रहरीले प्रदर्शनकारीलाई रोक्ने प्रयास गरेको थियो। सो क्रममा सामान्य झडप भए पनि प्रहरी घेरा तोडेर प्रदर्शनकारीले जुलुस सुरु गरेका थिए।

जुलुसले दमक बजार परिक्रमा गरेर पुनः गणतन्त्र चोकतर्फ फर्कने क्रममा प्रहरीले पशुहाट नजिकै राजमार्गमा प्रदर्शनकारीलाई रोक्न खोज्दा दुई पक्षबीच पुनः झडप भएको हो। झडपमा गठबन्धनको आन्दोलनलाई नेतृत्व गरिरहेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको हातमा सामान्य चोट लागेको मञ्चका नेता अशोक चेम्जोङले जानकारी दिए।

प्रदर्शनकारीका तर्फबाट प्रहरीको प्रतिकार गर्दा केही प्रहरी घाइते भएका लिम्बुवान मञ्चका सचिव धनराज सुुब्बाले बताए। तर, प्रहरी प्रशासनले भने सो बोर केही जानकारी दिएको छैन।

यसैबीच संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले केही नेताको जागिर बचाइदिनका लागि आफूहरू स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताए। लाठी जुलुस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले स्थानीय तहको आसन्न निर्वाचनलाई ‘कथित’ भन्दै निर्वाचन बहिस्कार गरिने बताए। उनले भने, ‘शेरबहादुर, ओली र प्रचण्डहरूको जागिर जोगाएर लिम्बुवान र तमाम उत्पीडित जनताले सदाका लागि दुःख पाउने स्थानीय तहको निर्वाचन बहिस्कार गर्छौं।’

लिङ्देनले मधेसलाई छाडेर निर्वाचन गर्ने तयारी मुलुक बिखण्डनको खेल भएको आरोप लगाउँदै यस्तो कार्यको प्रतिवादका लागि गठबन्धन आन्दोलनमा अघि बढेको जिकीर पनि गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.