|

काठमाडौं: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध छ दल एकीकरणपछि गठित राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी जनतालाई देशद्रोहीको आरोप लगाउने गरिएकोले विद्रोहको विकल्प नभएको बताएका छन्।

एकीकृत पार्टी घोषणा सभालाई संवोधन गर्दै अध्यक्षमण्डलका सदस्य ठाकुरले शान्तिपूर्ण आन्दोलन गरिरहेका मधेसी जनतालाई देशद्रोही र विद्रोही भन्दै सुरक्षाकर्मी लगाएर हत्या गरिएकोले संघर्षको विकल्प नभएको बताए। ‘मधेस र मधेसीमाथि राज्यका तर्फबाट नै विभेद छ’, ठाकुरले भने, ‘आफैँले जारी गरेको संविधान पनि सरकारले कार्यान्वयन गरेको छैन।’

मधेसी मोर्चाले संविधान नै नमानिरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावमा भाग लिन आउनुपर्‍यो भनेर दवाब दिइरहेको पनि उनले खुलासा गरे। ‘हामी शान्तिपूर्ण आन्दोलनमा छौँ तर प्रधानमन्त्री बालुवाटारमा हामीलाई बोलाएर चुनाव गराएरै छाड्छौँ, तपाईंहरू पनि भाग लिनुस् भन्छन्’, ठाकुरले भने, ‘यो आग्रह होइन, दवाब हो।’

ठाकुरले प्रधानमन्त्रीले भनेबमोजिम भाग लिनु भनेको सत्तासँग वाकओभर गर्नुसरह भएको बताए। ४९ प्रतिशत जनस‌ंख्या भएको पहाडमा ६५ प्रतिशत निर्वाचन क्षेत्र र ५१ प्रतिशत जनसंख्या भएको मधेसमा ३५ प्रतिशत मात्र निर्वाचन क्षेत्र हुनु नै मधेसमाथिको पूर्वाग्रह भएको गुनासो पनि गरे उनले। 

ठाकुरले प्रश्न गरे, ‘हालै सरकारले घोषणा गरेको ७४४ स्थानीय तहमध्ये आधा जनसंख्या रहेको मधेसमा २६४ वटा मात्र स्थानीय तह बनाएर मधेसमाथि विभेद गर्नु के समानता हो?' उनले पहाडमा ४८० वटा स्थानीय तह बनाएर पहाडमै बजेट बढी जाने भन्दै यो राज्यको राजनीतिक बेइमानी भएको आरोप लगाए।

ठाकुरले संविधानबमोजिम न्यायपरिषद्ले समानुपातिक ढंगले न्यायाधीश नियुक्तिसमेत गर्न नसकेको गुनासो गरे। उनले संविधानविपरीत न्यायपरिषद्ले काम गरेको विषयमा प्रधानमन्त्रीलाई जानकारी दिए पनि उनले अनभिज्ञता प्रकट गरेको बताए।

एकीकृत जनता पार्टीमा नेपाल सद्भावना पार्टी पनि

एकीकृत राष्ट्रिय जनता पार्टीमा नेपाल सद्भावना पार्टी पनि समाहित भएको छ। नयाँ पार्टी घोषणा सभाको अन्त्यतिर आएका पार्टी अध्यक्ष अनिल झाले आफू पार्टीको महासमिति बैठकमा व्यस्त भएका कारण कार्यक्रममा आउन नपाएको जनाए। उनले भने, ‘मैले घोषणा कार्यक्रमको बारेमा ढिलो गरी सूचना पाएकोले मात्र निर्धारित समयमा आउन नसकेको हुँ।'

नेता महन्थ ठाकुरले एकीकृत पार्टी घोषणा कार्यक्रममा संवोधन गरिरहेको बेला करिव साँझ पाँच बजेतिर मात्र झा कार्यक्रमस्थल आएका थिए। उनले आफू मधेसी पार्टीबीचको एकताकै पक्षमा रहेको स्पष्ट पार्दै ढिलो जानकारी पाए पनि कार्यक्रमस्थलमा आएको बताए।

एकीकृत पार्टीमा तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी समावेश भएका छन्। मधेसवादी छ पार्टीको एकीकरणसँगै संसदमा राजनीतिक दलको संख्या घटेर २३ पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.