|

काठमाडौं : दक्षिण अफ्रिकामा पुष्टि भएको नयाँ भाइरस ‘ओमिक्रोन' भारत हुँदै नेपालमा पनि प्रवेश गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार २ जनामा ओमिक्रोन भेटिएको पुष्टि गरिसकेको छ।

डेल्टा भेरिएन्टभन्दा यो नयाँ भेरिएन्ट धेरै घातक हुने भनी सर्वसाधारणमा त्रास फैलिएको छ।

के ओमिक्रोन साँच्चै घातक छ? यसबाट कसरी बच्ने? के सावधानी अपनाउने? यसै विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ तथा रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनसँग हामीले कुराकानी गरेका छौं। प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

विदेशमा फैलिँदै गरेको नयाँ भेरिएन्ट नेपालमा पनि पुष्टि भयो, यसबाट त्रसित हुन आवश्यक छ कि छैन?

अहिले आएको प्रारम्भिक जानकारीलाई आधार मान्ने भने तर्सिहाल्नुपर्ने आवश्यकता छैन। छिटो फैलिन्छ भनिएको पनि छ। तर यसबारे धेरै जानकारी छैन।

यसमा स्पाइक जिनमा अत्यधिक म्युटेसन देखिएकाले चासोको विषय रहन्छ नै। खोपको प्रभावकारितालाई कत्तिको चुनौती दिन्छ, यसमा प्रश्न उठेको छ। यसबारे पनि विस्तारै थाहा हुन्छ।

पुष्टि भएका दुवै जनाले पूर्ण खोप लगाएको र विदेशी नागरिक चाहिँ काठमाडाैं आउँदा पिसिआर नेगेटिभ नै थियो नि, होइन?

खोप लाउनु भनेको संक्रमण नहुनु होइन। खोपको काम रोगलाई जटिल अवस्थामा जान नदिनु र मृत्यु हुने सम्भावना न्यून गर्ने हो। खोप लगाएको मानिस पनि संक्रमित हुन सक्छ, तर खोपले धेरैको ज्यान बचाएको मेरो अनुभव छ।

डराइहाल्नु आवश्यक छैन भन्नु भयो, अनुसन्धान गर्ने विज्ञहरूले बढी चिन्ता व्यक्त गरेको देखिन्छ नि?

चिन्ता त मैले पनि गरेको छु। मैले भने प्रारम्भिक नतिजाको आधारमा भनेको हो। यसमा धेरै म्युटेसन भएको छ। यसमा पनि विशेष स्पाइक प्रोटिनले प्रवेश गर्छ। त्यही लक्षणबाट खोपको विकास भएका छन्। यो नरम पनि हुनसक्छ। अघिल्लो भेरिएन्टभन्दा यसको आनीबानी त फरक नै हुने भयो। डेल्टाले पाठ सिकाएको छ। तर अहिलेसम्म भने अवस्था सामान्य नै देखिएको छ।

वैज्ञानिकले चिन्ता व्यक्त गर्नुको कारण चाहिँ म्युटेसन फेरिएको छ। जसले गर्दा कम्तिमा पनि यसको व्यवहार फरक नै हुन्छ। त्यो राम्रो पनि हुनसक्छ र खराब पनि हुनसक्छ त्यो बारेमा चिन्ता छ।

अहिले राजनीतिक गतिविधि बढी छ, मानिसहरू भेला हुने गरेका छन्, यसले भाइरस कत्तिको फैलिन्छ?

यस्ता कार्यक्रमले संक्रमण फैलाउने सम्भावना बढी छ। यस्तो अवस्थामा ओमिक्रोन मात्र होइन अरु रोग पनि फैलिन्छन्। 

विश्व स्वास्थ्य संगठनले घोषणा गरेभन्दा अगाडि नै नेपालमा भाइरस भित्रिइसकेको रहेछ, अरु थप संक्रमित पनि नेपालमा घुमिरहेका होलान् भनेर आकलन गर्न सकिन्छ?

मैले पनि यो अनुमान पहिला नै गरिसकेको हो। अहिले विश्वमा फैलिरहेको अवस्थालाई हेर्दा नेपालमा अरु पनि संक्रमितहरू भएको शंका गर्न सकिन्छ।

यो ओमिक्रोन भेरिएन्टको संक्रमण पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्नुपर्छ, सामान्य लक्षण देखिए टेकु नै पुग्नुपर्ने हो कि अरु ल्याबमा पनि परीक्षण हुन्छ?

यसको संक्रमण जिन सिक्‍वेन्सिङ प्रविधिबाट पत्ता लगाइने भएकोले पिसिआर जस्तो सजिलो छैन। जिन सिक्‍वेन्सिङ गर्नुपर्ने भएकाले यही हो भनेर जुनसुकै ल्याबमा परीक्षण गरेर पत्ता लगाउन सकिँदैन। तर सबैको सिक्‍वेन्सिङ गरेर साध्य छैन। रेन्डमली नै चेक गर्ने हो। कुनै क्षेत्रमा यो बढी मात्रामा देखियो भने फैलिएको सम्भावना बढी हो भनेर बुझ्न सकिन्छ।

कसैले कोभिड पिसिआर गर्दा, उसको पोजिटिभ आयो भने ओमिक्रोन संक्रमण भएको भनेर भन्न मिल्छ कि मिल्दैन?

यो भेरिएन्ट छिट्टै फैलिन्छ भनिएको छ। तर ६६ जनामा पनि परीक्षण गर्दा देखिएन। यसले मलाई पनि आश्चर्य लागेको छ। राम्रोसँग अनुसन्धान नगरीकन संक्रमण हो भन्न सकिँदैन। पिसिआरले ओमिक्रोन देखाउँदैन। कोभिड संक्रमण भएको निश्चित भएपछि पनि एसजिन भन्ने नेगेटिभ र अरु जिन पोजिटिभ देखियो भने ओमिक्रोन संक्रमण भएको शंका गर्न सकिन्छ। पछिल्लो समय हरेक ल्याबमा एसजिन गर्ने गरेको देखेको छैन। किन हो त्यो चाहिँ थाहा छैन।

नेपालमा नयाँ भेरिएन्ट (ओमिक्रोन) परीक्षण गर्ने प्रविधि छ कि छैन?

प्रविधि छ तर, परीक्षण गर्ने गरिएको छैन। 

ओमिक्रोन संक्रमण भएकाको लक्षण यसअघिका कोरोना संक्रमणभन्दा फरक हुन्छ कि हुँदैन?

अहिले नै लक्षणबारे धेरै कुराहरू थाहा छैन। अहिले भने सामान्य छ। थकित हुने र जीउ दुख्ने मात्र छ। गन्ध हराउने भेटिएकाे छैन। नरम खालको देखिन्छ। अरु थप लक्षण थाहा पाउन केही समय पर्खनै पर्छ।

यसबाट जोगिन लकडाउन आवश्यक पर्छ कि पर्दैन होला?

ओमिक्रोनको लक्षण सामान्य देखिएमा लकडाउन नै गर्न आवश्यक देख्दिनँ। यदि यस भेरिएन्टले अस्पताल भरिभराउ हुने, मृत्यु हुने, तीव्र गतिमा फैलिनेजस्ता जटिल समस्या आए आवतजावत रोक्नै पर्छ। डेल्टा भेरिएन्टको जस्तै हुबहू स्थिति भयो भने त अवश्य पनि यसको आवतजावत रोक्नै पर्छ, लकडाउन गर्नै पर्छ।  

अहिले उपलब्ध खोपहरूले जुनसुकै भेरिएन्ट आए पनि काम गर्छन् कि गर्दैनन्, कति समयसम्म काम गर्छन्?

खोप लगाएपछि पटक्कै काम गर्देन भन्ने छैन। प्रभावकारिता चाहिँ केही मात्रामा खस्किन सक्छ। खोप लगाएपछि कति समयसम्म काम गर्छ भनी अहिलेसम्म कुनै ठोस अध्ययन पनि भएको छैन र कुनै आधार भेटिएको छैन। एन्टिबडी खस्किने देखिए पनि अचानक अरु समस्या देखिने आधार म देख्दिनँ। सकेसम्म यसबाट बचावटका नै उपाय अपनाउनुपर्छ। खोपको बढी आवश्यकता छ। यो भेरिएन्ट फैलिन नदिन डराउनुभन्दा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अत्यन्त आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.