|

काठमाडौं : नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच छिट्टै एकता हुने भएको छ। एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दुवै दलका शीर्ष नेता सम्मिलित कार्यदल गठन गरिएको छ।

कार्यदलमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई तथा संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई सदस्य रहेको शुक्रबार दुवै पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै जनाएका छन्।

समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा मधेसी मोर्चा र ६८ दलीय संयुक्त संघर्ष समितिले अघि सारेका माग सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन मागसमेत गरिएको छ।

मोर्चाले संविधान संशोधन र ६८ दलीय मोर्चाले पार्टीको चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन पाउनु पर्ने माग राख्दै आएका छन्।

यस्तो छ विज्ञप्ति :

नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताको प्रयोजनार्थ दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका बैठकहरुमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणालीसमेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्ने निष्कर्षमा पुगिएको छ ।

यस समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको छ । यस कामका लागि निम्न सदस्यहरु रहेको पार्टी एकता संयोजन समिति गठन गरिएको व्यहोरा अनुरोध छ ।

डा. बाबुराम भट्टराई

उपेन्द्र यादव

अशोक राई

हामी नेपाल सरकारसँग सङ्घीय गठबन्धन, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा ६८ दलीय संयुक्त संघर्ष समितिले अगाडि सारेका मागहरुलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन अनुरोध गर्दछौं।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.