|

राष्ट्रपति चुनावमा मतदान गर्ने दिन आउन केही दिन मात्र बाँकी रहँदा गएराति फ्रान्सको राजधानी पेरिसस्थित चैम्प्स-एल्सिजमा एक बन्दुकधारीले प्रहरीमाथि आक्रमण गरेका छन्। स्लामिक स्टेटले जिम्मेवारी लिएको हमलामा परी १ प्रहरीको मृत्यु भएको छ भने बन्दुकधारी पनि मारिएको बिबिसीले लेखेको छ।

राष्ट्रपतिका उम्मेदवारहरु एक टिभीमा बहसमा रहेको बेला गरिएको हमलामा अन्य २ प्रहरी गम्भीर घाइते भएका छन्। आक्रमण गरेर भग्दै गर्दा बन्दुकधारीलाई प्रहरीले गोली हानेर मारेको थियो।

फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ होलान्डले आतंककारी आक्रमण भएकोमा आफू विश्वस्त रहेको बताएका छन्। उनले सुरक्षा निकायलाई जनताको पूर्ण साथ रहेको र मृतक प्रहरीप्रति सम्पूर्ण जनताको समवेदना रहेको बताएका छन्।

फ्रान्समा आइतबार राष्ट्रपतिको चुनावका लागि मतदान भइरहेको छ। प्रहरीमाथि भएको हमलापछि राष्ट्रपति पदका ११ उम्मेदवारहरुले प्रचारप्रसार अभियान अन्त्य गरेका छन्।

पेरिसका मुद्दा चलाउने सरकारी अधिकारी फ्रान्स्वाँ मालिन्सले आक्रमणकारीको परिचय खुलेको र पेरिसस्थित उसको घरमा प्रहरीले छापा मारेको जानकारी दिएका छन्। उनले प्रहरीले आक्रमणकारी एक्लै थियो वा सहयोगी पनि थिए भन्ने छानबिन गरिरहेकोले परिचय सार्वजनिक गर्न नमिल्ने बताएका छन्।

फ्रान्सका सञ्चारमाध्यमले भने आक्रमणकारी सन् २००० भन्दा पहिले प्रहरीमाथि गोली चलाएको आरोपमा जेल परेको लेखेका छन्। हमलाको जिम्मेवारी लिएको स्लामिक स्टेटले भने आफ्ना लडाकुले हमला गरेको र आक्रमणकारीको नाम अबु युसुफ अल बलजिकी रहेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.