|

दमक : स्थानीय तहको निर्वाचन नजिकिँएसँगै सत्तारुढ दलहरुले झापामा चुनावकेन्द्रित शक्ति प्रदर्शन सुरु गरेका छन्।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा सत्तारुढ दलहरुले शक्ति प्रदर्शन तथा जनसभा कार्यक्रमलाई तीव्रता दिएका हुन्। स्थानीयस्तरमा गरिने साना कार्यक्रमबाहेक पनि सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र राप्रपाले प्रदेशस्तरका चुनावी कार्यक्रलाई तीव्रता दिएका हुन्। प्रदेश नम्बर एक १४ जिल्लामध्ये झापामा केपी ओलीको गृहजिल्ला भएकै कारण उनीहरुले यहाँ शक्ति प्रर्दशन गरेको खुलेरै बताउने गरेका छन्।

यसैक्रममा सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो चुनावीसभाअन्तरगत झापामा प्रदेशस्तरीय चुनावीसभाको कार्यक्रम वैशाख ५ गते मंगलबार सम्पन्न ग¥यो। कार्यक्रमलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधि हेलिकप्टर चार्टर गरेर आएका थिए भने कांग्रेसका शीर्ष नेताहरु सहभागी भएका थिए।  कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा आमसभा गरेर आदिवासी रंगशालाको सुनिश्चितता खोजिएको र नाम परिवर्तनको पक्षमा रहेको एमालेलाई खबरदारी गर्दै कांग्रेसको धारणा सार्वजनिक गरेको थियो।

कार्यक्रममा आदिवासीको भावनामाथि एमालले चोट पुर्‍याएर मदन भण्डारी नामाकरण गरेको भन्दै कांग्रेस नेताहरु एमाले अध्यक्ष ओलीमाथि  खनिएका थिए। सो क्रममा ओलीलाई चुनौती दिन उनको गृह क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको नेताहरुले बताएका थिए।

यस्तै, नेकपा माओवादी केन्द्रले पनि झापामा शक्ति प्रदर्शन गरेको छ। उसले बिहीबार झापाको बिर्तामोडमा वाइसिएल र अखिल क्रान्तिकारीको सम्मेलन उद्घाटन भने पनि झापामा शक्ति प्रदर्शनसहित चुनावीसभा गरेको थियो। सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित केन्द्रीय नेताहरुले सम्बोधन गरे।

कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डसहित सूचना तथा सञ्चार मन्त्री एवं पोलिटब्युरो सदस्य सुरेन्द्र कार्की (पार्थ), पार्टी नेता एवं पूर्वमन्त्री गोपाल किराती, पूर्वअर्थमन्त्री एवं माओबादीका नेता वर्षमान पुन लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए। सो अवसरमा वाइसिएलका करिब ५ हजार कार्यकर्ताहरुले मार्चपास गर्दै शक्ति प्रदर्शन गरेका थिए।

एमालेको मेची महाकालि अभियानपछि सुस्ताएका बेला सत्तासीन दलहरुले त्यसको फाइदा उठाउँदै एमाले अध्यक्ष ओली गृह जिल्लामा धमाधम चुनावीसभा गर्दै छन्। जिल्लामा यतिबेला एमालले कुनै चुनावी कार्यक्रम गरिरहेको छैन। एमाले यतिबेला झापामा उम्मेदवार चयनमै अल्झिएको छ, आकांक्षीहरु धेरै भएकाले पनि उसले उम्मेदवार चयन गर्न नसकेको हो।

 राप्रपाले पनि दमकमा चुनावीसभा गर्दै

अर्को सत्तारुढ दल राप्रपाले पनि झापाको दमकमा जिल्लास्तरको चुनावी आमसभा गरेर आफ्नो शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। वैशाख ९ गते अर्थात् भोली दमकमा पार्टीले आयोजना गरेको सभामा झापा जिल्ला र आसपास क्षेत्रबाट हजारौं कार्यकर्ता सहभागी हुने राप्रपाले जनाएको छ।

पार्टीका केन्द्रीय अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेत्री रेखा थापा लगायतका शीर्ष नेताहरुले सभालाई सम्बोधन गर्ने जनाइएको छ। राप्रपाका स्थानीय नेता ताराप्रसाद अधिकारीले देशव्यापी चुनावी माहोल बढाउन कार्यकर्ताहरुलाई उत्साह जगाउनका लागि सो सभाको आयोजना गरिएको बताए। अधिकारीले भने,‘चुनावी माहोल सिर्जना गर्दै कार्यकर्ताहरुमा उत्साह जगाउनु नै यो सभाको उद्देश्य हुनेछ’।

आन्दोलनरत दलहरु पनि त्यतिकै सक्रिय

चुनावको विरोध गर्दै आएको संघीय गठबन्धन पनि झापामा त्यतिकै सक्रिय रहेको छ। उनीहरुले गठबन्धले गरेको अन्दोलनका कार्यक्रहरु सक्रिय रुपमा गरि रहेका छन्।

यसअघि गठबन्धनले दमकका बिरोधसभा गरेको थियो। त्यसलाई सम्बोधन गर्न मोर्चाका नेताहरु महेन्द्र राय यादव, शरदसिंह भण्डारी, रकम चेम्जोङ्ग, कुमार लिङ्देनल लगायतले सम्बोधन गरेका थिए। बिहीबार मात्रै गठबन्धने दमकमा लाठी चुलुस प्रदर्शन गरेको थियो सो क्रममा प्रहरी र प्रर्दशनकारीबीच मुठभेडसमेत भएको थियो।

चुनावविरोधी कार्यमा विप्लव माओवादीसमेत सक्रिय

चुनावविरोधी गातिविधि गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि झापामा त्यतिकै सक्रिय छ। यसले झापाका विभिन्न सार्वजनिक स्थलहरुमा चुनावविरोधी पर्चा टाँस्नुका साथै जनसत्ता समेत घोषाणा गर्दै आएको छ।

उसले झापाका बिभिन्न नगरपालिमकामा जनसरकार घोषणा गरि सकेको छ। यस्तै उसले बिहीबार मात्र दमकमा चुनाव विरोधि सभा गरेको थियो जसमा प्रहरीले हस्तक्षेप गरेको पार्टीका एक नेताले जनकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.