|

 पर्वत : विनाशकारी भूकम्पका कारण चौपट बनेको म्याग्दीको पर्यटन व्यवसाय फेरि पूर्ववत अवस्थामा फर्किएको छ। एक वर्षको अवधिमा जिल्लाको मुख्य पर्यटकीय गन्तव्य मानिने घोरेपानीमा दोब्बर पर्यटक भित्रिएपछि व्यवसायीले भूकम्पको घाउसमेत बिर्सँदै गएका छन्।

२०७२ सालमा १९ हजार ३ सय ४८ जना पर्यटक भ्रमणका लागि आएकोमा ०७३ मा ४५ हजार ६ सय ८५ पर्यटक भित्रिएको प्रहरी कार्यालय घोरेपानीले जनाएको छ। अन्नपूर्ण गाउँपालिका अन्तर्गतको घोरेपानी समुद्री सतहदेखि २८ सय १० मिटरको उचाइमा छ। धौलागिरि, नीलगिरि र अन्नपूर्ण लगायत दर्जनभन्दा बढी हिम श्रृङ्खला र पुनहिलबाट सूर्योदयको अवलोकन, पाहुनालाई आत्मीय सत्कार दिने स्थानीय संस्कार र सुविधा सम्पन्न होटलको कारण घोरेपानी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ।

राउन्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत कास्कीको नयाँ पुल हुँदै मुस्ताङ प्रवेश गर्ने र मनाङ भएर मुस्ताङको थोराङला पास हुँदै कास्की निस्कने पदयात्रीका लागि घोरेपानी मुख्य पर्यटकीय गन्तव्य हो। खोप्रालेक, घान्द्रुक र एबिसीजस्ता चर्चित गन्तव्यमा पुग्न पनि घोरेपानी हुँदै जान सकिन्छ। वैशाख, जेठ, असोज, कात्तिक, मंसिर, फागुन र चैत महिना पर्यटकको सिजन मानिन्छ।

फागुन र चैतमा घोरेपानी र पुनहिलको जंगलमा गुराँस फूल्ने हुँदा पर्यटक धेरै आउने गरेका छन। होटल व्यवसायी संघ घोरेपानीका अध्यक्ष जुनुपुनका अनुसार ०७३ सालमा बन्द हडताल नहुनु र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सकरात्मक सन्देश प्रवाह भएका कारण उत्साहजनक रुपमा पर्यटकहरु भित्रिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.