|

काठमाडौं : निर्वाचन आयोगबाट आधिकारिकता नपाएपछि कानुनी लडाइँमा रहेको नेपाल सद्भावना पार्टीकी राष्ट्रिय अध्यक्ष सरिता गिरीले आफ्नो पार्टी कसैसँग पनि एकीकरण नभएको भन्दै पार्टी कार्यालय, झण्डा र ब्यानर यथावत राख्न पार्टी पंक्तिलाई निर्देशन दिएकी छन्।

अनिल झाको नेतृत्वमा रहेको नेपाल सद्भावना पार्टीसहित ५ मधेसी दल एकीकरण भएर राष्ट्रिय जनता पार्टी, नेपाल गठन भएको घोषणा बिहीबार गरिएको थियो।

'पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुईवटा पार्टीबीच भएको एकीकरणको मूल उद्देश्यविपरीत हिजो गरिएको एकीकरण घोषणाप्रति हाम्रो समर्थन नरहेको जानकारी गराउँदछु,' गिरीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, 'एकीकरणपूर्वको मूल नेपाल सद्भावना पार्टीको नेता/कार्यकर्तासंग केही नसोधी पार्टीको पार्टीको इतिहास र अस्तित्व नै समाप्त गर्ने गरी एकीकरण घोषणा गरिएको छ।'

आफूहरु थप कानुनी उपचारको बाटोमा अघि बढ्ने भन्दै उनले छिट्टै राष्ट्रिय भेलासमेत आयोजना गरिने जानकारी गराएकी छन्।

यस्तो छ विज्ञप्ति :

हिजो वैशाख ७ गतेका दिन नेपाल सद्भावना पार्टीलगायत अन्य केही दलको एकीकरणको घोषणा भई कायम भएको पार्टीको नाम राष्ट्रिय जनता पार्टी रहेको र उक्त एकीकृत पार्टीको चुनाव चिह्न छाता रहेको विभिन्न संचार माध्यमबाट जानकारी भएको छ।

यस भन्दाअघि प्रातः स्मरणीय स्वर्गीय गजेन्द्रनारायण सिंहद्वारा अत्यन्त प्रतिकूल अवस्थामा मधेशी र जनजातिको समान अधिकार र राजनीतिमा समानुपातिक प्रतिनिधित्व तथा संघीय शासन व्यवस्थाका लागि २०४७ सालमा स्थापित गरिएको स्मरण गराउन चाहन्छु।

आदरणीय गजेन्द्र बाबुको स्वार्गारोहण पश्चात् पार्टीको पाँचौ महाधिवेशन सफलतापूर्व सम्पन्न गराइ म अध्यक्ष निर्वाचित भए पनि निर्वाचन आयोगले उक्त महाधिवेशनलाई मान्यता दिन मानेन। संविधानसभा १ को सम्पूर्ण अवधिमा यस पार्टीको अस्तित्व जोगाउन हामीहरु ले अत्यन्त कठिन राजनीतिक र कानूनी संघर्ष गरेका थियौं र लगभग चार वर्षको कठिन संघर्ष पश्चात् संविधान सभा १ विघटित भइसकेपछि मात्र हामीले सम्मानित सर्वोच्च अदालतबाट न्याय पाएका थियौं।

संविधान सभा २ को निर्वाचनमा धेरै प्रतिकूल कारणहरुले गर्दा हामीहरु नेपाल सद्भावना पार्टीको नेतृत्व संविधानसभामा गराउन असफल भयौं। त्यसबेला एकजना महिलाको नेतृत्वमा रहेको यस ऐतिहासिक पार्टीको अस्तित्व समाप्त गर्नका लागि धेरै तत्वहरु सक्रिय थिए। निर्वाचन आयोग पनि सम्मानित अदालतमा हामीहरु चार/चार पटक पराजित भएको थियो। हामीहरुको भोट निर्वाचन आयोगले अन्य पार्टीहरुलाई दिएको समाचार पनि हामीहरुले निर्वाचन आयोगकै विभिन्न सूत्रबाट प्राप्त गरेका थियौं। हामीहरुको मतबाट लाभान्वित हुने एउटा पार्टी संघीय सद्भावना पार्टी पनि रहेको थियो।

त्यन्तै विषम परिस्थितिमा संविधान सभा २ मा नेपाल सद्भावना पार्टीको निरन्तरता कायम राख्ने उद्देश्यका साथ नेपाल सद्भावना पार्टीको एकीकरण श्री अनिल झाको नेतृत्वमा रहेको संघीय सद्भावना पार्टीसंग एकीकृत पार्टीको नाम, झण्डा र चुनाव चिह्न मूल पार्टी नेपाल सद्भावना पार्टीको नै हुने सर्तमा हामीले गरेका थियौँ।

यथार्थमा नेतृत्वमा श्री अनिल झा रहे पनि संघीय सद्भावना पार्टी नेपाल सद्भावना पार्टीमा नै बिलीन भएको थियो। एकीकरण पश्चात् पार्टीमा स्वस्थ वातावरण नभएकाले र तत्कालीन नेतृत्वले पार्टीको सञ्चालन विधान बमोजिम नगरी अत्यन्त अपारदर्शी ढंगले सम्पूर्ण अधिकार आफूमा नै केन्द्रित गरी मूल सद्भावना पार्टीका सबैलाई पाखा लगाउने ढंगबाट कार्य गर्न थालेको अवस्थामा एकीकरण पूर्वको मूल नेपाल सद्भावना पार्टीको केन्द्रीय कार्यसमितिको ६० प्रतिशतभन्दा बढी सदस्यहरुले निर्वाचन ऐन २०६३ को दफा २२ बमोजिम एकीकरण हुनुभन्दा अघिको नेपाल सद्भावना पार्टी मेरो नेतृत्वमा पुनः कायम गरी पाउँ भनी निर्वाचन आयोगमा निवेदन दिएका थियौं, तर निर्वाचन आयोगले कानूनबमोजिम निर्णय नगरेको हुनाले निर्वाचन आयोगको निर्णयविरुद्ध हामीले सर्वोच्च आयोगमा दुईवटा रिट निवदन दायर गरेका छौं र हाल उक्त निवेदनहरु विचाराधीन रहेको छ।

पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुईवटा पार्टीबीच भएको एकीकरणको मूल उद्देश्य विपरीत हिजो वैशाख ६ गते २०७४ मा गरिएको एकीकरण घोषणाप्रति हाम्रो समर्थन नरहेको जानकारी गराउँदछु। एकीकरण पूर्वको मूल नेपाल सद्भावना पार्टीको नेता र कार्यकर्ताहरु संग केही न सोधी सबै सदस्यलाई बेवास्ता गर्दै माउ नेपाल सदभावना पार्टीको इतिहास र अस्तित्व नै समाप्त गर्ने गरी हिजोको एकीकरण घोषणा गरिएको छ।

तसर्थ म नेपाल सद्भावना पार्टीका देशभरीका नेता तथा कार्यकर्तालाई नेपाल सद्भावना पार्टीको नाम, झण्डा र ब्यानर यथावत कायम राखी पार्टीलाई सक्रिय राख्न निर्देशन यस प्रेस विज्ञप्तिमार्फत दिँदैछु । पार्टीका नेताहरुसंगको सल्लाह र चाहनाबमोजिम नेपाल सद्भावना पार्टीको इतिहास र अस्तित्व जोगाउनका लागि हामीहरु थप कानूनी उपचारको बाटोमासमेत अगाडि बढने जानकारी गराउँछु। शीघ्रनै हाम्रो राजनीतिक भेलासमेत हुनेछ।

जय मातृभूमि !

सरिता गिरी

राष्ट्रिय अध्यक्ष, नेपाल सद्भावना पार्टी

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.