|

सुनसरी : सुनसरीको धरान उपमहानगरपालिकामा रहेको धरान रन समूहले पाँचौं नेवा च्यारिटी ८ के रन प्रतियोगिताबाट बचेको रकम नेवा च्यारिटी एजुकेसन फण्डको निर्माण गरी गरिब तथा असहाय विद्यार्थीहरूलाई सहयोग गरेको छ।

युवाहरुलाई कुलतबाट बचाउँदै सामाजिक कार्यमा अग्रसर गराउने र पिछडिएका समुदायलाई सहयोग पुर्‍याउँदै आएको युवाहरुको समूह धरान रनले २०७३ फागुन १४ गते आयोजना गरेको ८ के रन प्रतियोगिताबाट उठेको रकमबाट खर्च गरेर बचेको २ लाख ५० हजार रुपैयाँको अक्षय कोषबाट सहयोग गरेको हो।समूहले तीन सामुदायिक विद्यालय र एक निजी विद्यालयका विद्यार्थीलाई स्टेसनरी सामान किताब, कापी, डटपेनका साथै विद्यालयको युनिफर्मसमेत प्रदान गरेको छ।

रनले आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी धरान १९ किरातेश्वर माविमा कक्षा ७ मा अध्यनरत विद्यार्थी मनिता घतानी, धरान ८ को ल्याबोरेटरी उच्च माविमा कक्षा २ अध्ययनरत  विद्यार्थी एलिसा क्षेत्री, निकेतन उच्च माविमा कक्षा ८ मा अध्ययनरत मतिराज राईलाई पाठ्यपुस्तक, कापी, कलम र ड्रेस वितरण गरेको हो  भने  सनराइज बोर्डिङ् स्कुलमा कक्षा ६ मा अध्ययनरत अविनाश देवलाई पुस्तक प्रदान गरेको हो। 

प्रतियोगिताबाट आर्जन भएको रकममध्ये खर्च खटाएर बचत १ लाख ५० हजार र धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईकी आमा भक्तमाया राईले हस्तान्तरण गरेको थप १ लाख गरी २ लाख ५० हजारको एजुकेसन फण्ड निर्माण गरी पहिलो चरणमा चार विद्यार्थीलाई सहयोग गरेको धरान रन समूहका अध्यक्ष रमु राईले जानकारी दिए। संस्थाले प्रत्येक वर्ष धरान रनको आयोजना गर्दै आएको छ । यसबाट आएको रकम विभिन्न समूहलाई सहयोगसमेत गर्दै आइरहेको छ।

संस्थाले प्रथम धरान रनबाट बचत भएको रकम अपांगता भएकी साहित्यकार लक्ष्मी राईको सहयोगका लागि ४ लाखको अक्षय कोष, दोस्रोबाट उठेको रकमबाट संक्रमित तथा दुव्र्यसनी महिलाहरुको उपचारका लागि दृष्टि नेपाल नामक संस्थालाई १ लाख ७७ हजार सहयोग गरेको थियो।

यसैगरी, तेस्रोबाट उठेको रकमबाट संक्रमित बालबालिकाको शिक्षाका लागि २ लाख ११ हजार, चौथोबाट उठेको रकम ४ वर्षीय क्यान्सरपीडित बालक नवीन विश्वकर्माको उपचारका लागि १ लाख, असहाय वृद्ध महिला मिठु कटुवालको उपचारका लागि ४० हजार, एकल महिला समूहलाई २० हजार, धरान पोजेटिभ समूहमा रहेका संक्रमित बालबालिकाको शिक्षाका लागि २१ हजार, मिर्गौलापीडित बिरामी प्रमिला विश्वकर्माको उपचारका लागि १५ हजार, फुटपाटमा व्यापार गर्ने टेकबहादुर तामाङलाई ४ हजार रुपैयाँ सहयोग गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.