|

मणिकुमार श्रेष्ठ-

    सुनसरी : सुनसरीको बराह नगरपालिकामा माओवादी केन्द्र र राप्रपाले उम्मेदवारको टुंगो लगाएको छ। वैशाख ३१ गते हुने स्थानीय तहको नेकपा माओवादी केन्द्र बराह नगरपालिका निर्वाचन परिचालन समितिका इन्चार्ज निर्मल बरालले नगरपालिका प्रमुखमा कमल कटवाल र उपप्रमुखमा संगीता राईलाई सिफारिस गरिएको बताएका हुन्।

    बराह नगरपालिकाको घोषणा पत्र तयार गर्ने काम भइरहको बताउँदै वैशाख ९ गते शनिबार उम्मेदवारहरु सार्वजनिक गरिने समेत उनले जानकारी दिएका छन्। नगरपालिका प्रमुखका  उम्मेदवार कमल कट्वाल माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य हुन् भने उपप्रमुखकी उम्मेदवार संगीता राई बराह नगरकमिटिका सदस्य हुन्।

    यसैगरी, माओवादी केन्द्रले नगरपालिकाको ६ वटा वडामा सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार छनोट गरेको छ। जसमा वडा नं. १ मा तुलसी पाण्डे, २ मा पारसमणि न्यौपाने, ५ मा अमित गौतम, ६ मा भोगेन्द्र डाँगी, ९ मा मैया थापा र ११ राजकुमार शाहलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्र सुनसरीले जनाएको छ।

    यसैगरी, नेकपा एमालेको मुख्य गढ मानिएको बराह नगरपालिकाको प्रमुखको लागि एमालेले ८ जना आंकाक्षीको नाम जिल्ला समितिमा पठाएको छ। जिल्लामा पठाएको नामहरुमा भेषराज घिमिरे, डम्बर सिङ्देल, लक्ष्मण चौधरी, निलम खनाल, यज्ञराज खड्का, केशवप्रसाद तिम्सिना, हरि श्रेष्ठ र डिबी शाह शंकरको नाम नगर समितिले सिफारिस गरी पठाएको नेकपा एमालेका स्थानीय नेता लक्ष्मी गड्तौलाले थाहाखबरलाई बताए।

    एमालेबाट निलम खनाल केशवप्रसाद तिम्सिनाको नाम चर्चामा आए पनि सहमति जुट्न नसकेपछि ८ जनाको नाम सिफारिस गरेको   हो।

    यसैगरी, उपमेयरको लागि समेत ७ जनाको नाम सिफारिस गरेको छ। जसमा कौशल्या माझी, कमला मगर, होमकुमारी श्रेष्ठ, नन्दकुमारी राई, दुर्गा खतिवडा, मणिदेवी राई र तारा भण्डारीलाई सिफारिस गरेको एमाले कार्यालय सुनसरीले जनाएको छ। सिफारिस गरिएको नाममध्ये होमकुमारी श्रेष्ठ र नन्दकुमारी राईमध्ये एकजना उपप्रमुखको उम्मेदवार बन्ने बताइएको छ।

    यसैगरी, एमालेले पनि ६ वटा वडाको वडाध्यक्षमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ। जसमा वडा नं. १ मा खड्ग कट्वाल, ३ मा रुद्र दाहाल, ४ मा आशाराम चौधरी, ५ मा राजु अधिकारी, ९ मा दीपक लिम्बू र १० मा मेहन्द्र खत्री उम्मेदवार हुने भएका छन् । एमालेले १२ गतेसम्ममा सम्पूर्ण वडाका साथै नगरको प्रमुख तथा उपप्रमुखको उम्मेदवारको घोषणा गरिसक्ने जनाएको छ।

    चुनावी माहोल तात्दै जाँदा नेपाली कांग्रेस बराह नगर कमिटीले पनि आफ्ना सम्भावित उम्मेदवारहरुको नाम लिस्ट जिल्ला समितिमा पठाएको छ। नगरको प्रमुखका बाबुराम विष्ट, सुरेन्द्रप्रसाद गुप्ता, रेवतीरमण दुलाल, राजदीप लामा, जगतबहादुर गौतम र ओमकुमार शर्माको नाम सिफरिस गरिएको नेपाली कांग्रेस साविक महेन्द्रनगर गाविस सचिव तथा बराह नगरसमितिमा सचिव खेम थापाले जानकारी दिए।

    उनका अनुसार उपप्रमुखमा कल्पना कार्की, पूजा धामी, मुना अधिकारी (रिजाल), पवित्रा खड्का (निरौला) को नाम सिफरिस गरिएको छ । १२ गते सम्ममा उम्मेदवारहरुको घोषणा गरिसक्ने जनाएको नेपाली कांग्रेसले शुक्रबारसम्म तीन वटा वडाका वडाध्यक्षको उम्मेदवारहरु सार्वजनिक गरेको छ। जसमा वडा नं. १ मा सुरेश श्रेष्ठ, २ मा हरिकृष्ण भट्टराई र ७ मा रमेश कार्की रहेका छन्।

    नेपाली कांग्रेसबाट मेयरमा बाबुराम विष्ट र सुरेन्द्रप्रसाद गुप्तामध्ये एक जनाको सिफारिस हुने बताइएको छ, भने उपमेयरमा कल्पना र पूजामा एक जनाको सिफारिस हुने जनाइएको छ।

    बराह नगरपालिकामा विशेष गरी नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा  देखिन्छ। राप्रपा यहाँको चौथो शक्ति हो मेधेसवादी दलहरुले चुनावमा सहभागी नहुने जनाएपछि बराहमा यी चारवटा दल मात्र स्थानीय तहको चुनावमा सहभागी हुने देखिएको छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.