|

काठमाडौं : वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि पोखरा-लेखनाथ महानगरपालिकाको उम्मेदवार चयन गर्न एमालेभित्र निर्वाचन हुने सङ्केत देखिएको छ। महानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत टुंगो लगाउने सम्भावना बढेको हो।

नगर प्रमुख पदमा ६ जना र उपप्रमुखमा ४ जना आकांक्षी छन्। एमाले वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर जिसी, कास्की जिल्लाका अध्यक्ष कृष्ण थापा, प्रदेश संगठन कमिटीका सदस्य श्रीनाथ बराल, युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारी, व्यवसायी पुष्पज्योति ढुङ्गाना र केन्द्रीय अनुशासन आयोगका सदस्य मित्रकुमारी गुरुङ सुवेदीले महानगरको प्रमुखमा दावी गरेका छन्।

६ जना उमेरवारका आकांक्षीमध्ये मानबहादुर, कृष्ण र राजीव केपी ओली समूहका हुन्। जसमध्ये जिल्ला अध्यक्ष कृष्ण २०५४ सालको स्थानीय निकायको निर्वाचनमा एमालेका तर्फबाट पोखरा उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। श्रीनाथ र पुष्पज्योति नेपाल समूहका हुन् भने मित्रकुमारी भने स्पष्ट रुपमा गुटमा देखिएकी छैनन्। श्रीनाथ पूर्व जिल्ला विकास समिति कास्कीका उपसभापति हुन्।

उपप्रमुख पदमा ४ जनाले दाबी गर्दै आएका छन्। अनेमसंघका नेता मिना गुरुङ, प्रदेश संगठन कमिटिका सदस्य मिना गुरुङ, जिफन्टका मञ्जु गुरुङ र कास्की क्षेत्र नम्बर १ का अध्यक्ष उमा परियार उपप्रमुखको उमेदवार हुन्। जसमध्ये अनेमसंघका मिना, मञ्जु र उमा ओली समुहका हुन् भने प्रदेश कमिटि सदस्य मिना नेपाल टिमका हुन्। उमेदवारका विषयमा सहमति हुन नसकेपछि पोखरा लेखनाथ महानगरमा चुनाव गरेर उमेदवार छनोट गर्ने एमालेको तयारी छ। लामो समय छलफल हुँदा पनि सहमति हुन नसकेपछि निर्वाचन गर्ने कि भन्‍ने निष्कर्षमा पुगेको महानगर प्रमुखका उमेदवार तथा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बताए। उम्मेदवार चयनका लागि कहिले मतदान हुने भन्ने टुंगो लागेको छैन।

हेटौंडामा पनि मतदान

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एमालेबाट प्रमुख तथा उपप्रमुखको उम्मेदवार चयनका लागि निर्वाचन भएको छ। प्रमुख र उप्रमुखमा ३/३ जना आकांक्षी भएपछि एक जना चयन गर्न निर्वाचन गरिएको हो। नगर प्रमुख पदको उम्मेदवार चयनका लागि भएको निर्वाचनमा पूर्व उपमेयर समेत भएको हरिबहादुर महतले सर्वाधिक मत ल्याए। दोश्रोमा एमालेकै क्षेत्रीय इन्चार्ज कमल विष्ट तथा तेश्रोमा अनेमसंघकी केन्द्रीय सचिव समेत रहेकी विष्णु ओझा परिन्।

उता उपप्रमुख पदमा पनि एमालेका सचिव एकालाल श्रेष्ठ, सचिवालय सदस्य जुनेली श्रेष्ठ तथा सहसचिव मिना लामा सिफारिस हुँदा एमाले मोर्चा प्रमुख श्रीधर पोखरेल भने पराजित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.