|

लहान : सवारी दुर्घटनामा आफन्त गुमाएको पीडा त छँदैछ, तेश्रो पक्षको विमाको रकम र क्षतिपूर्ति नपाउँदा सप्तरीको छ दलित परिवार झन् पीडामा परेका छन्।

दुर्घटना भएको साढे चार महिना भन्दा बढी हुँदा पनि आफन्त गुमाएका परिवारले क्षतिपूर्ति र तेश्रो पक्षको विमाको रकम समेत नपाउँदा अन्यायमा परेको सप्तरीको मधुपट्टि कनकपुरका गणेशप्रसाद रामले बताए। पछिल्लो मंसिर २४ गते उदयपुरको लेखानी ६ मा भएको बस दुर्घटनामा श्रीमती र छोरा गुमाएका रामले भने ‘प्रहरी र जिल्ला प्रशासन कार्यालय गाईघाट धाइरहेका छौं तर आश्वासन बाहेक केही पाएनौं।’

उक्त दुर्घटनामा सप्तरीको मधुपट्टि ६ कि वर्ष ३४ कि कुसुमदेवी राम र उनकी जेठो छोरा वर्ष १४ का दिपेश राम, मधुपट्टी ७ का सरस्वतीदेवी राम, ठकन मोची, खुसरीवती चमैन, मलहनमा ३ का नथर विश्वकर्मा गरी छ जनाको मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका प्रमिलादेवी राम लगायत तीन जनाको अहिले पनि धरान, काठमाडौंमा उपचार भइरहेको छ।

सवारीधनीहरु फरार

दुर्घटना भएको करिब एक महिनापछि ना ४ ख ३६२० नम्बरका बस धनी सिरहा लहान ४ बस्ने इन्दल सहनी,  इटहर्वा ४ बस्ने कैलाशप्रसाद यादव र मोरङको विराटनगर १५ बस्ने राजेन्द्र प्रधान तीनै जना फरार छन्। ‘कानुनी प्रक्रियाका लागि भन्दै इलाका प्रहरी कार्यालय कटारीले व्यवसायीको रोहवरमा मृतक परिवार र घाइतेहरुलाई पटक पटक बोलाएर सहमतिको कागज गराएको थियो तर सवारी धनीले बुझाएको बीमा लगायतका कागजात नै नक्कली रहेछन्' दुर्घटनामा आमा गुमाएका मधुपट्टीका सवुरलाल रामले सुनाए।

प्रहरीमा सहमतिको कागज हुँदा ‘हालसम्म घाइतेको उपचार खर्च पाएको र सहमतिपछि पनि लाग्ने उपचार खर्च समेत बेहोर्ने’ गरी कागज गरिएको भएपनि सवारी धनी नै फारर भएपछि घाइतेहरुले ऋण कर्जा गरेर उपचार गरिरहेको घाइते प्रमिलाकी पति रामभगत रामले गुनासो गरेका छन्।

प्रहरी भन्छ : खोज्दैछौं

इलाका प्रहरी कार्यालय कटारीमा २०७३ पुस २ गते हिमाली यतायात संघ र जिल्ला प्रशासन कार्यालय उदयपुरका मुद्दा फाँटका कर्मचारीको उपस्थितिमा भएको सम्झौता अनुसार मृतकको किरिया खर्च ५० हजार रुपैयाँ बुझी बाँकी रहेको चार लाख लाख ५० हजारका दरले क्षतिपूर्ति रकम ३० दिनभित्र विमा कम्पनीबाट उपलब्ध गराउने उल्लेख रहेको छ। सम्झौता अनुसार किरिया खर्चबाहेक मृतक परिवारले उक्त रकम नपाएको बुझिन आएकाले सवारी धनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी कोइरालाले जानकारी दिए।

'सवारी धनीहरुलाई खोजी गरी पक्राउ गर्न छिमेकी जिल्लाका प्रहरीमा पनि पत्राचार गरिसकेका छौं’ प्रहरी नायव उपरीक्षक कोइरालाले भने ‘दुर्घटनामा परेर ज्यान गुमाएका परिवार र घाइतेले कानुन बमोजिम पाउने क्षतिपूर्ति तथा उपचार खर्च छोडेर सवारी धनी उम्कन पाउँदैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.