|

काठमाडौं : सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संसदमा पेश भएको विधेयकलाई परिमार्जन गरेर पारित गर्ने सहमति भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संशोधन विधेयक परिमार्जन सहित पारित गरेमा मोर्चा चुनावमा जाने सहमति भएको कांग्रेस नेता रामचन्द्र पौडेलले बताए।

'भाषा, नागरिकता लगायतका विषय परिमार्जन गर्ने र धारा २ सय ७४ संशोधन गरी प्रदेश सीमांकन हेरफेर गर्दा सम्बन्धिक प्रदेशको स्वीकृति भए पुग्ने व्यवस्था गर्ने सहमति भएको छ' उनले भने। विधेयकको भाषा मिलाउन चार सदस्यीय कार्यदल पनि बनाइएको छ। जसमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, राप्रपा नेता वुद्धिमान तामाङ, मधेसी मोर्चाबाट लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन्।

त्यस्तै स्थानीय तहको संख्या थप गर्ने प्रक्रिया अघि बढाउने पनि सहमति भएको पौडेलले बताए। यस विषयमा ठोस सहमति गर्न शनिबार दिउँसो २ बजे फेरि बैठक बस्ने सहमति भएको पौडेलले जानकारी दिए।  

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संसदमा पेश भएको संशोधन विधेयक मधेसी मोर्चाको सहमतिमा परिमार्जन गर्ने र मधेसी मोर्चाले चुनावमा भाग लिने विषयमा छलफल भएको जानकारी दिए। 'यो विषयमा निर्णय भोलि दिउँसो २ बजे हुनेछ' उनले भने। उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले मधेसी मोर्चाले भाग लिने वातावरण भएमा निर्वाचन दुई चरणमा पनि हुन सक्ने बताए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको वेवसाइटका अनुसार बैठकमा सत्तारुढ दलका नेताहरु संविधान संशोधन प्रस्तावलाई थप परिमार्जन गर्न सकारात्मक भएको र मोर्चाका नेताहरु वातावरण बनाएर स्थानीय तहको निर्वाचनमा सहभागी हुन सकारात्मक भएका छन्। बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, महेन्द्र राय लगायतका शीर्ष नेताहरु सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.