|

तेह्रथुम : वर्षाका कारण आएको बाढीले लघु जलविद्युत् आयोजनाको कुलो बगाएपछि खाम्लालुङ र सम्दुका पाँच सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्।

स्थानीय खुङ्ग्रिङ खोलामा आएको बाढीले सडकमा लगाइएको ग्याभिन बगाएपछि सम्दु–सक्रान्ति सडकखण्डसमेत अवरुद्ध भएको छ। बुधबार साँझ परेको पानीले यहाँको २२ किलोवाट क्षमताको अमलेबेँसी लघु जलविद्युत् आयोजनाको एक सय मिटर कुलो बगाएको आयोजनाका अध्यक्ष गोपी ढुङ्गानाले बताए।

यस्तै १७ किलोवाट क्षमताको फलामसाँघु लघु जलविद्युत् र २९ किलोवाट क्षमताको कोया खोला तेस्रो लघु जलविद्युत् आयोजनाको समेत कुलो बगाएपछि विद्युत् उत्पादन ठप्प भएको छ। 

केन्द्रीय प्रसारण लाइन नपुगेको र जलविद्युत् आयोजनाको समेत उत्पादन ठप्प भएपछि खाम्लालुङ र सम्दुका बासिन्दा दुई दिनदेखि अन्धकारमा बस्न बाध्य छन्। विद्युत् उत्पादन बन्द भएपछि यहाँ सञ्चालित करिब एक दर्जन मिलसमेत ठप्प बनेका छन्। 

यस पटक वैशाखको पहिलो साता नै आएको बाढीले २०६५ सालपछिकै सबैभन्दा ठूलो क्षति पुर्‍याएको स्थानीय बासिन्दाले बताएका छन्। बाढीले खुङ्ग्रिङ खोलाको आसपास सडक क्षति गरेपछि सडक अवरुद्ध बनेको हो। स्थानीय उपभोक्ताले आफ्नै अगुवाइ र लगानी समेतमा बनाएका आयोजना मर्मत गर्नका लागि सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.