|

चितवन :  चितवनको राप्ती नदीमा पौडी खेल्ने क्रममा गोहीले चपाएर पनि बाँच्न सफल १२ बर्षीय अर्जुन हरिजनको उपचारका लागि शुक्रबार मात्र १ लाख ६५ हजार रुपैयाँ सहयोग संकलन भएको छ।

विभिन्न सञ्चामाध्याम मार्फत उनको उपचारमा समस्या भएको समाचार सार्वजनिक भएपछि उपचारका लागि देश र विदेशमा बस्ने नेपालीहरुले सहयोग गरेका हुन्। तीन दिनको अन्तरालमा उनको उपचारका लागि २ लाख ५० हजार भन्दा बढी रकम संकलन भैसकेको छ।

शुक्रबार पत्रकार रवि रोषीको पहलमा अमेरिकाको बाल्टिमोरमा बस्ने तनहुँका ध्रुवराज गिरीले ५१ हजार १५ रुपैयाँ सहयोग गरेका छन्। यस्तै चितवन सेवा समाज बहराइनबाट बेदराज पौडेल र प्रकाश लामिछानेको पहलमा संकलित ३५ हजार ५०० रुपैयाँ चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्ति अधिकारीले अस्पतालमै आएर बालकलाई हस्तान्तरण गरे।

यस्तै फेसबुक अभियान ‘हाम्रो जगतपुर’को पहलमा विभिन्न व्यक्तिबाट १६ हजार, हाम्रो पटिहानी, राम्रो पटिहानीको पहलमा विभिन्न सहयोगीहरुबाट संकलित ४ हजार ६१० एनजे सुवेदीबाट १० हजार, रामपुर क्याम्पस र टेक्नो म्यानेजमेन्टबाट २ हजार २३५ रुपैयाँ सहयोग प्राप्त भएको सहयोग संकलनका अभियन्ता विकास पाठकले जानकारी दिए।

बैदेशिक रोजगारको लागि दुवईमा रहेका दीलिप विश्कर्माको अगुवाईमा जम्मा भएको ५१ हजार रुपैयापनि नेपाल उत्पीडित जातीय मुक्ति समाजमार्फत घाइते बालकको परिवारलाई हस्तान्तरण गरिएको छ।

गएको चैत २५ गते भरतपुर महानगर २३ जगतपुर घैलाघारीका बालक अर्जुन साथीहरुसँग पौडी खेल्न जाँदा गोहीले आक्रमण गरेको थियो। गोहीको आक्रमणबाट गम्भीर घाइते भएका उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

उनको उपचारका लागि परिवारले ऋण खोजेर १ लाख बढी खर्च गरिसकेको छ भने सहयोग जुटेपछि अस्पताललाई बुझाउनुपर्ने रकममध्ये ४९ हजार बुझाइएको अर्जुनकी दिदी सरिताले बताइन्। अझै अस्पताललाई झण्डै ८० हजार रुपैयाँ बुझाउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.