|

उदयपुर : नेकपा एमाले उदयपुरमा उम्मेदवारी सिफारिसमा माथिल्लो कमिटीका नेताले त्रियुगा र कटारी नगरपालिकामा मेयरको सपना देख्न थालेपछि विवाद सुरु भएको छ । शुक्रबारको एमाले जिल्ला कमिटीको बैठकमा जिल्लाका वरिष्ठ नेताहरुले नगरपालिका तथा गाउँपालिका प्रमुखमा टिकटको दाबेदार गरेका र तल्लो कमिटीबाट सिफारिस भएका आंकाक्षीहरुले त्यसको विरोध गरेपछि विवाद सुरु भएको हो।

स्थानीय तहको उम्मेदावारको टुंगो लगाउन शुक्रबार बसेको बैठक निष्कर्षविहीन बनेको एक नेताले बताए। ‘वडा तथा नगरसमितिबाट सिफरिस भएका एमालेका नेताहरु आश्चर्यमा परेका छन्,’ नाम नखुलाउने सर्तमा एक नेताले भने, ‘नेकपा एमालेले त्रियुगा, चौदण्डी र कटारी नगरपालिकाको प्रमुख उपप्रमुखमा सिफारिस गरेभन्दा बाहिरबाट नाम प्रस्ताव आएपछि विवाद सुरु भएको छ।’

एमालेका पूूर्वअध्यक्ष तथा जिल्ला विकास सभापति बेदप्रसाद पोखरेल कटारी नगरपालिकामा, एमाले जिल्ला अध्यक्ष ईश्वरमणि राउले त्रियुगा नगरपालिका र एमालेका नेता तथा पत्रकार महासंघ उदयपुरका पूर्वअध्यक्ष कुशल बाबु बस्नेतले चौदण्डी गढी नगरपालिकाको प्रमुखको उम्मेदवार जिल्लाको बैठकमा प्रस्ताव गरेको बुझिएको छ।

स्रोतका अनुसार त्रियुगा नगरपालिकाको प्रमुख पदमा अनन्त दनुवार, चन्द्र नारायण चौधरी, इन्द्रबहादुर थापा र फुल कुमारी चौधरीले उपमेयरमा आफूले टिकट पाउनुपर्ने दाबी गरेका छन्। यसअघि नगर समितिबाट मेयर पदमा एमालेका युवा नेता भागवत राउत, प्रकास बस्नेत र गीता रेग्मीको र उपमेयरमा सुनिता चौधरी, महेश्वरी राई र सिर्जना दनुवारको नाम सिफारिस भएको थियो।

 त्यसैगरी चौदण्डीगढी नगरपालिका पनि सोचे भन्दा बढी आंकक्षी बनेका छन । नगरसमितिबाट सिफारिस भन्दा बाहिरका व्यक्तिहरुले समेत दावी गरेका छन । चौदण्ढी गढी नगरपालिकामा नरेन्द्र राउत र कुशलबाबु बस्नेतले मेयरको र चुना थापाले उपमेयरको टिकट आफूले पाउनु पर्ने दावी बैठकमा गरेको जनाइएको छ। चौदण्डी गढी नगरसमितिबाट कालु लामा, कुमार सिंह कार्की, राजेन्द्र कटुवाल (राजन) र शम्भु पौडेलको सिफारिस भएको थियो भने उपमेयरमा कान्ता राई, लीला रिजाल, मनिका दुलाल र रेवती राई रहेको नेकपा एमाले उदयपुरले जनाएको छ।

अहिले दुईजना प्रमुखका आकांक्षी बढेपछि नगरपालिका प्रमुखको दाबी गर्नेको संख्या ६ पुगेको छ भने उपप्रमुखको दाबी गर्नेको संख्या पाँच जना पुगेको छ। उता जिल्ला विकास समितिका सभापति र पार्टीसमेत चलाएका बेदप्रसाद पोखरेलले पनि कटारी नगरपालिकाको प्रमुखको टिकट आफूले पाउनुपर्ने दाबी गरेका छन। पार्टी अध्यक्ष राउत र सिंगो जिल्ला विकास समिति नै चलाएका पोखरेलले नगरपालिकाको प्रमुखमा लोभ गरेपछि तल्ला तहमा रहेका कार्यकर्ता आश्चर्यमा परेका छन्।

बैठकमा बोल्ने नेताहरुले नगरसमितिबाट सिफारिस भएका लोकप्रिय नेताहरुलाई रोक्न जिल्ला कमिटीमा फरक ढंगले प्रस्ताव आएकोले नेतृत्वलाई प्रस्ताव फिर्ता लिन आग्रहसमेत गरेका थिए। २०५४ को स्थानीय निकायको निर्वाचनमा उम्मेदवार छनोटमा विवाद हँुदा हाल केन्द्रीय सदस्यसमेत रहेका बलदेव चौधरीले तत्कालीन मेयरका उम्मेदवार लालसेर राईको विरुद्धमा बागी हालेका थिए। तर, एमालेका आधिकारिक उम्मेदवार लालसेर राई नै विजयी बनेको थिए ।

एमाले उदयपुरका अध्यक्ष ईश्वरमणि राउतले सबै गाउँपालिका तथा र नगरपालिकाको प्रमुख÷उपप्रमुख  नाम प्रदेश पठाइएको जानकारी दिए। ‘हामीमा कुनै विवाद भएको छैन’ अध्यक्ष राउतले भने, ‘बैठकमा सामान्य चर्काचर्की त भइहाल्छ।’ वडाहरुको अध्यक्ष तथा सदसस्यको उम्मेदवारीको नामा उम्मेदवारी नोमिनेसन गरेपछि मात्र सार्वजानिक गर्ने तयारीमा एमाले उदयपुरको रहेको अध्यक्ष राउतले बताए। त्रियुगा नगरमा पार्टी केन्द्रले विश्वास गरे चुनाव लड्ने तयारीमा रहेको अध्यक्ष राउतले बताए। स्रोतका अनुसार त्रियुगा नगरपालिका प्रमुखमा भागवत राउत हुनुपर्ने कार्यकर्ताको माग रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.