|

झापा : स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै गाउँ तथा नगरपालिकाहरुमा उम्मेदवारका आकांक्षीहरु बढिरहेका छन्। प्रत्येक नगर तथा गउँपालिकामा पार्टीका नेताहरुले आफू नगर तथा गाउँ प्रमुखको उम्मेदवार हुनुपर्छ भन्ने दाबी गर्दै आएका छन्। झापामा पनि गाउँ र नगरपालिकामा चुनावी वातावरणले रंगिएको छ।

पायः नगरपालिकामा सबै दलले भने उम्मेदवार छनोट गरिसकेका छन् भने केही दलले छनोट गर्न बाँकी छ। लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेका कारण आकांक्षी धेरै भएकाले उम्मेदवार छनोट गर्न सकस भएको दलहरुले बताएका छन्। झापाका नगर तथा गाउँमा प्रमुखका लागि चर्चामा रहेका उम्मेदवारमध्ये धेरै पुरुष मात्र रहेको पाइएको छ। महिलाको भने कमै मात्र नाम चर्चामा आएको छ। प्रत्येक नगरपालिकामा महिलालाई उपप्रमुखमा मात्र सीमित बनाइएको छ।

यसअघि, झापाका महिला नेत्रीहरुले सांवाद समूह झापाले गरेको कार्यक्रममा सक्षम महिला नेतृत्वलाई झापाको १५ स्थानीय तहमा कम्तीमा ५० प्रतिशतमा प्रमुख पदको उम्मेदवार बनाउनुपर्ने लगायत ८ बुँदे मागपत्र अघि सारेका थिए। तर, अहिलेसम्म झापामा प्रमुखका लागि खासै महिलाको नाम चर्चामा रहेको छैन। यसको प्रमुख कारण महिलामा अर्थिक समस्या रहेका कारण भएको महिला नेत्रीहरुले बताउने गरेका छन्। पछिल्लो समयका निर्वाचन खर्चिलो र भड्किलो भएका कारण महिलाहरु पछि हट्न बाध्य भएको उनीहरु बताउँछन्।

कतिपय स्थानमा आर्थिक रुपले सबल हुँदा हुँदै पनि महिलालाई प्रमुख पद नदिएको समेत पाइएको छ। अहिलेको क्रममा जसले पैसा खर्च गर्छ उसैले जित्ने भन्ने मानसिकताका कारण पनि महिलाहरु प्रमुख पदमा आउन नसकेको झापाबाट प्रतिनिधित्व गर्दै नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा पूर्वस्वास्थ्य राज्य मन्त्री धर्मशिला चापागार्इं बताउँछिन्। उनी भन्छिन्,‘अहिलेको निर्वाचन खर्चिलो भएको छ, निर्वाचन आयोगको आचारसंहिताभन्दा बाहिर रहेर उम्मेदवार खर्च गर्छन्, महिलाले तुलनात्मक रुपमा यस्तो खर्च गर्न सक्दैनन्, त्यसैले प्रमुख उठ्न नसकेका हुन्, अब यस्तै भड्किलो निर्वाचन हुने हो भने म पनि निर्वाचनमा लड्न सक्ने अवस्था छैन।

’दस वर्षे जनआन्दोलनले अन्त्य गरेको वर्गीय विवेद व्यवहारमा लागू नहुँदा महिला समस्यामा परेको उनी बताउँछिन्। भन्छिन्, ‘हामीले ज्यान जोखिममा राखेर वर्गीय विवेद अन्त्य गर्न आन्दोलन ग¥यौं तर, कार्यन्वयन नहुँदा अझै पनि पीडित वर्ग पीडामा नै छन्।’

अखिल नेपाल महिला संघकी झापा अध्यक्ष जस माया गजमेर पनि मुख्य समस्या आर्थिक अभावकै भएको बताउँछिन्। उनी भन्छिन्, ‘महिलालाहरु प्रमुख पदमा उठ्न नसक्नुको प्रमुख कारण पैसा नै हो तर, यो मात्र कारण छैन अरू पनि धेरै छन्, महिलाहरुलाई उठ्न लाग्दा पुरुषवादी चिन्तनका व्यक्तिहरुले चुनावलाई खर्चिलो बनाउछन् र महिलालाई पछिसार्ने काम गर्छन्।’

कतिपय महिलाको सोच पनि अहिले उपप्रमुख उठ्ने र पछि प्रमुख बन्ने रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘पुरुष आकांक्षी धेर भएकाले सक्षम महिलाहरु पनि पछिहट्नुपर्ने अवस्था आएको छ, अब त पुरुषहरुले महिलालाई नदिएका कारण महिलाहरु उपप्रमुख, बन्ने र अर्को पटक निर्विरोध प्रमुख बन्ने भन्न थाल्नुभएको छ, महिलाहरुको पनि प्रमुखमा जित निश्चित भएको ठाउँमा पनि अहिले पार्टीहरुले महिलालाई प्रमुख बनाउन चाहेका छैनन्।’

नेपाली कांग्रेसकी नेत्री फलवती राजवंशीले पुरुषको पुरातनवादी सोचका कारण महिलाले प्रमुख पद पाउन धेरै संर्घष गर्नुपरेको बताउँछिन्। उनी भन्छिन्, ‘देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आइसक्यो तर, अझै पुरुषको सोचमा परिवर्तन आएको छैन, त्यसैले अहिले हामीले धेरै संघर्ष गर्नुपरेको छ।’

झापाका ५० प्रतिशत स्थानीय तहमा महिलाको नेतृत्व सुनिश्चित गर्नुपर्ने नेपाल महिला संघकी जिल्ला सभापति सुशिला ढकाल बताउँछिन्। उनले भनिन्, ‘यहाँका ५० प्रतिशत स्थानीय निकायको प्रमुखमा महिला उम्मेदवार बनाइनुपर्छ, त्यसमा सबै दलहरुले सहयोग गरेर प्रमुखमा महिलालाई मात्र अघि सारिनुपर्छ, यसका लागि म मेरो पार्टीसँग छलफल गरिरहेकी छु।’

आफ्नो पार्टीमा भने पैसा नभएर उम्मेदवार नउठेको भने नभएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘पैसै नभएका कारण नउठेको भने पक्कै होइन, हामीले उठ्न पाउनुपर्ने गरिब छौं तर, आग्रह गर्दा धेरैले सहयोग गर्छन्, यसमा मुख्य त पुरुष नै वाधक हो, हामी सक्षम हुँदा हुँदै पछि हट्नुपर्ने अवस्था छ।’

महिलाहरुले स्थानीय तहको निर्वाचनमा नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरुसहित सबै पदको उम्मेदवार संख्यामा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गरेका थिए । उनीहरुले आफ्नो मागको बेवास्ता गरे पार्टीभन्दा माथि उठेर उम्मेदवारी दिने घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.