|

चितवन : भरतपुर महानगरपालिकामा नेकपा एमालेलाई नगर प्रमुखको उम्मेदवार सिफारिस गर्न टाउको दुखाई भएको छ। नगर प्रमुखमा आठ जनाले आकांक्षा राखेका र उनीहरु टसकोमस नदेखिएपछि न्युनतम तीनजना सिफारिस गर्न टाउको दुखाई भएको हो।

चितवन क्षेत्र नम्बर तीन भरतपुरको मुटुमा पर्छ। त्यो क्षेत्र संविधानसभा निर्वाचनमा हालका पार्टी अध्यक्ष कृष्णभक्त पोखरेलले जितेका थिए। त्यसैले पनि प्रतिष्ठा जोगाउन एमालेलाई जित्ने उम्मेदवार छान्नु जरुरी छ । तर राम्रा भन्दा पनि हाम्रा भन्ने चलनले गर्दा समस्या आउने आशंका कार्यकर्ताले गरेका छन्। एमाले महानगर संगठन कमिटीका सदस्य नवराज ढकाल ग्राउण्ड रियालिटी के हो नेताहरुले छुट्याउनुपर्ने बताउँछन्।

एमालेमा धेरै आकांक्षी देखिए पनि मुख्यतया तीन जना बलियो प्रतिष्पर्धीमा देखिन्छ। विजय सुवेदी र देवी ज्ञवाली र केशवलाल श्रेष्ठ वीच उमेद्वारमा कडा प्रतिष्पर्धा छ।  ज्ञवाली एमालेका केन्द्रीय सल्लाहकार हुन् भने सुवेदी तीन पटक तत्कालिन जिल्ला सचिव बनिसकेका व्यक्ति हुन्। उनीहरु दुबैजना केपी ओली गुटका हुन्। ज्ञवालीलाई अध्यक्ष ओलीको साथ छ भने सुवेदीलाई महासचिव ईश्वर पोखरेलले काखी च्यापेका छन्। केशवलाल श्रेष्ठ भने उपाध्यक्ष बामदेव गौतम निकट नेता  हुन्। पूर्व मन्त्री केशवलालको केन्द्रमा प्रभाव पार्न सक्ने क्षमता छ।

२०६४ सालको संविधानसभा निर्वाचनमा ज्ञवाली र सुवेदी  दुवैजना उम्मेदवार बनेका थिए। ज्ञवाली तेस्रो भए भने सुवेदी दोस्रो मत ल्याउनेमा परेका थिए। देवी ज्ञवालीसँग विगतको उपमेयर बनेको अनुभव भएकाले उनले आफ्नो एजेण्डा त्यसैलाई बनाएका छन्।

कार्यकर्तातहका लोकप्रिय नेता विजय सुवेदी भरतपुर अस्पताल विकास समितिमा समेत राम्रो काम गरेर चर्चा बटुलेका नेता हुन्। उनी चितवन गुरुयोजना निर्माण समितिका संयोजक भएका र तीनपटकसम्म जिल्ला पार्टी प्रमुख बनिसकेका छन्। पार्टी श्रोतका अनुसार सुवेदीलाई एमाले अध्यक्ष कृष्णभक्त पोखरेलले नै असहयोग गरिरहेका छन्। एकजना कार्यकर्ताले नाम नबताउने शर्तमा भने, ‘आफ्नै पार्टी भित्र पनि नेताहरु निर्मम भएर निस्कँदा रहेछन्।’

एमाले जिल्ला अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेल सिफारिसमा परेकाहरु टसकोमस नभएकाले उम्मेदवार छान्न सकस भैरहेको बताउँछन्। तीनदिनदेखि एमालेले उमेद्वारका लागि गृहकार्य गरिरहेपनि टुंग्याउन सकेको छैन। आज साँझसम्ममा भने टुंग्याउने जनाएको छ।

छोटो समय मै नगरपालिकाबाट उपमहानगर हुँदै र पुराना उपमहानगरलाई उछिन्दै महानगरपालिका बनेको हो भरतपुर। भरतपुरमा आउने मेयरले सांसदले भन्दा बढी आर्थिक श्रोत परिचालन गर्न पाउने छन्। आफ्नो प्रभाव जमाउन सक्ने भएकाले भरतपुरमा नगर प्रमुख पद हत्याउने दाउ तीन ठूला दलको छ।

झण्डै ३ लाख जनसंख्या रहेको भरतपुरमा जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार १ लाख ५१ हजार मतदाता छन्।  मतदान स्थल ६५ वटा तोकिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकाल बताउँछन्। २ नगरपालिका र एक उपमहानगर तथा कविलास गाविस मिसाएर भरतपुर महानगर बनेको हो । हाल २९ वडा छन् ।

निर्वाचनपछि यहाँ कुल सबै क्षेत्र गरेर १५० जनप्रतिनिधि चयन हुने छ। एमालेका जिल्ला ईन्चार्ज कृष्ण खनाल  ईच्छाकामना गाउँपालिकामा सिफारिस आएका मध्य नारायण अधिकारीको नाम पक्का भएको बताउँछन्। ईच्छाकामना गाउँपालिकामा ६ जनाको सिफारिस  थियो। यस्तै कालिका नगरपालिकामा ५, रत्ननगरमा ८, खैरहनीमा १३, राप्तीमा ६ तथा माडी नगरपालिकामा ८ जनाको सिफारिस छ। यस्तै भरतपुर महानगरमा ८ जनाको नाम सिफारिस छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.