|

धनगढी : बिराटनगर किङ्ग्सलाई ६२ रनको फराकिलो अन्तरले पराजित गर्दै पारस खड्काको टिम टिम चौराहाले धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि जित्न सफल भएको छ। घरेलु टोली टिम चौराहाले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याएको बिराटनगर किङ्ग्सले १८.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९७ रन बनाउन सफल भएको थियो। खेल अवधिभर विराटनगरले ठूलो साझेदारी नै गर्न सकेन। उसको सबैभन्दा ठूलो साझेदारी भनेमो दोस्रो विकेटका लागि २३ रन नै रहेको थियो।

टिम चौराहाका सुशन भारीले ३ विकेट लिए भने आरिफ शेख र शौरभ खनालले २-२ विकेट लिए। रामनरेश गिरी र अलित राजबंशीको नाममा एक-एक विकेट रहृयो। यसअघि सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर ब्याटिङ थालेको टिम चौराहाले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो।

उसको सुरुवात खराब थियो। राजु रिजाल शून्यमै आउट भए, जतिबेला टिमको स्कोर मात्र ४ रन थियो, थप रन नजोड्दै अनिल मण्डल पनि आउट भए,पृथु बास्कोटा र कप्तान पारस खड्काले पारी सम्हाल्ने प्रयास गरे तर, पृथु पनि १४ रन बनाएर आउट भए।

त्यसपछि आएका आरिफ शेख चम्किए, उनले चौथो विकेटका लागि पारससँग ४४ रनको साझेदारी गरेका थिए। पारस २९ रनमा आउट भए, जतिबेला टिम चौराहाको स्कोर ८१ रन मात्र थियो र ५ ओभर एक बल मात्र खेल बाँकी थियो । तर, आरिफ र अमर रौतेलाले उत्कृष्ट ब्याटिङ गर्दै टिमको स्कोर उकासे। उनीहरुले पाचौं विकेटका लागि मात्र २४ बलमा ६३ रनको साझेदारी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.