|

काठमाडौं :  डा. नारायणप्रसाद शर्मा गैरेद्वारा लिखित ‘नेपाली गजलको परम्परा र प्रवृत्ति’ पुस्तक शनिबार राजधानीमा सार्वजनिक गरिएको छ। अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा युवासमालोचक घनेन्द्र ओझाले पुस्तक प्राज्ञिक शोधग्रन्थ भएकाले गहन र खोजमूलक भएको बताए। ओझाले नेपाली गजलको सांगोपांगो अवस्थाको अध्ययन गरेर लेखिएको हुँदा सो पुस्तक नेपाली गजलसाहित्यको इतिहासमा कोशेढुंगा साबित हुने दाबी गरे। 

गजलकार ज्ञानुवाकर पौडेलले नेपाली गजलकारहरु विभिन्‍न मतमा विभाजित भएकाले अब सबै मिलेर जानुको विकल्प नरहेको बताए। उनले यस्ता शोधग्रन्थ, समालोचना, अध्ययन सामग्रीको प्रचुरता र सर्वसुलभताबाट नै नेपाली गजललाई परिस्कृत बनाउन सकिने पनि उल्लेख गरे। अर्का गजलकार ललिजन रावलले अहिले देखिएका गजलका विवाद अनावश्यक भएको बताए।

उनले यस्ता पुस्तकहरु अझ आउनु आवश्यक रहेको पनि बताए। गजल अन्वेषक डा. दीपककुमार खड्काले नेपाली साहित्यमा गजललाई स्थापित गराउन अझै धेरै काम गर्न बाँकी रहेको बताए। उनले त्रिभुवन विश्वविद्यालयजस्ता प्राज्ञिक निकाय यसका लागि बढी जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याए। मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले प्रमुख अतिथिको आसनबाट बोल्दै सो पुस्तक आफ्नै शोध निर्देशनमा तयार भएको र शोधकर्ताले अत्यन्तै इमानदारीपूर्वक शोध कार्य पूरा गरी पुस्तकका रुपमा ल्याएको बताए। उनले लेखकीय इमानदारीका कारण पनि डा. गैरेले आफ्नो पुस्तक वजनदार बनाउन सकेको दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.