|

सिन्धुपाल्चोक : मुलुकमा संघीयताको रक्षा गर्न अबको स्थानीय तहको निर्वाचनमा देशभर माओवादी केन्द्रले जित्नुपर्ने माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य अग्निप्रसाद सापकोटाले बताएका छन्। शनिबार माओवादी केन्द्रको चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा आयोजित प्रतिबद्धता घोषणा कार्यक्रममा बोल्दै नेता सापकोटाले आसन्न स्थानीय निर्वाचनलाई पहिलेको जस्तो सामान्य निर्वाचनका रुपमा नलिनसमेत आग्रह गरे ।

‘कांग्रेस एमालेले संघियताप्रति बफादार कदापि हुन सक्दैन, त्यसैले अबको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले नेतृत्व गर्नुपर्छ’ सापकोटाले भने, ‘सिन्धुपाल्चोकको ३ नगरपालिका र ९ वटा गाउँपालिका भित्र माओवादी केन्द्र नेतृत्व तहमा पुग्न आवश्यक भएकाले सबैलाई निर्वाचनमा सक्रिय भूमिकामा लाग्न आवश्यक छ।’ स्थानीय निर्वाचनका लागि आफ्नो पार्टीले तयार पारेको घोषणा पत्र सार्वजनिक गर्दै सापकोटाले स्थानीय तहको निर्वाचनमा भव्य र सानदार रुपमा सम्पन्न गर्न आग्रह गरे।

‘सिंहदरबारको अधिकार माओवादीले गर्दा जनताको हातमा ल्याउन सफल भएको छ’ नेकपा माओवादी केन्द्र चौतारा साँगाचोकगढी नगरपालिकाका इन्चार्ज युवाराज दुलाल ‘शरद’ ले भने, ‘माओवादी केन्द्रले गरेको सशस्त्र युद्धको उपलब्धि संस्थागत गर्न अब माओवादी केन्द्रले जित्न आवश्यक छ।’

लाखौं नेपालीको रगत र पसिना खेर जान नदिन भए पनि आसन्न स्थानीय  तहको निर्वाचनमा माओवादीले जित्नुपर्ने उनको भनाइ छ। आफूहरुले नेपालबाट समुन्ति संस्कारको ध्वंश गरेको दाबी गर्दै उनले भने ‘सामन्ती संस्कारको ध्वंश गर्ने मात्र हाम्रो उद्देश्य होइन। अब समृद्ध नेपालको निर्माण गर्ने जिम्मा माओवादी केन्द्रको हो।’ देशभरका गाउँ र नगरपालिकामा प्रतिबद्धता पत्र घोषणा गर्न माओवादी केन्द्रको कार्यतालिका अनुरुप सो कार्यक्रम गरीएको नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.