|

उदयपुर :  नदाहा– फत्तेपुर सडक निर्माणले तीव्रता पाएसँगै कालोपत्र सुरु गरिएको छ। कोसी ब्यारेजको विकल्पमा निर्माण भइरहेको उक्त सडकमा कालोपत्रे गर्न थालिएको हो।

एसियाली विकास बैंकको २ अर्ब ३४ करोड रुपैयाँ लगानीमा वैकल्पिक सडक निर्माण गरिएको सडक अहिले धमाधम कालोपत्रे गरिन थालिएको छ। अबको डेढ वर्षभित्र सडक पूरा गर्ने गरी काम भइरहेको आयोजनाको कार्यालयको भनाइ छ। ०६५ सालमा कोसी बाढीले पूर्वी तटबन्ध भत्काएर  पूर्वपश्चिम राजमार्ग क्षग्रिस्त भएपछि विकल्पका रूपमा यो सडक सञ्चालनमा ल्याइएको थियो।

कच्ची र साँघुरो अवस्थामा सञ्चालनमा रहेको सडक अहिले चौडा बनाइँदै कालोपत्रे गर्न सुरु गरिएको निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सन प्रालिले जानकारी दिएको छ।

‘८ मिटर पक्की र दुवै साइडमा २/२ मिटर कच्ची गरी कुल १२ मिटर चौडाइको सडक निर्माण गर्ने गरी विभाग र कन्स्ट्रक्सन कम्पनीबीच सम्झौता भएको छ,’ कन्स्ट्रक्सनका प्रबन्धक छत्रबहादुर अर्यालले भने, ‘सम्झौता भएअनुसार आगामी जेठ १५ गतेभित्र ३० किलोमिटर क्षेत्रमा कालोपत्रे भइसक्ने छ।’ ६२ किलोमिटरमध्ये सप्तरी र उदयपुर खण्डको शनिबार र सोमबार गरेर ३० किलोमिटर कालोपत्रे काम भइसक्ने उनले बताए। सडक क्षेत्रमा रहेका १८ वटा खोला र खहरेमध्ये १६ मा पक्की पुल बनिसकेको छ।

‘बाँकी दुईमध्ये रामपुर–ठोक्सला क्षेत्रको कटारी खोलाको डिजाइनमै समस्याले निर्माण हुन सकेको छैन,’ अर्यालले भने, ‘अर्को त्रियुगा नदी पुलको टेन्डर नै नभएकाले काम भएको छैन।’ सडक निर्माण काम आर्थिक रूपमा ५७ र भौतिक रूपमा ७० प्रतिशत सकिसकेको अर्यालले बताए।उदयपुर र सुनसरी सिमानामा पर्ने सप्तकोसी नदीमा पुल निर्माणपछि भोजपुर, उदयपुर, सुनसरी र सप्तरीका सर्वसाधारणलाई आवतजावत गर्दा अनावश्यक घुम्नुपर्ने समस्याबाट छुटकारा मिलेको छ।

नदाहा रामपुर कञ्चनपुर सडक निर्माणपछि यातायात विस्तारसँगै सर्वसाधारणले उत्पादन गरेका कृषि उपजले सहज बजार पाउने हुँदा उनीहरूको आर्थिक अवस्थामा सुधार आउने आशा गरिएको छ। स्थानीय पदम खड्काका अनुसार सप्तकोसी, मैनामैनी हुँदै रामपुर र कञ्चनपुर जोड्ने सडक निर्माण भएपछि जिल्लाको पूर्वी क्षेत्रका विशेष टेवा पुग्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.