|

लहान : खुला दिसामुक्त क्षेत्र घोषणाका लागि जिल्लाव्यापी अभियान चलिरहेका बेला आफ्नो घरमा शौचालय नभएकाहरुलाई बनाउने धपेडी छ, तर सिरहाको दक्षिणी क्षेत्रमा पर्ने आधारभूत तहको एक सामुदायिक विद्यालयको शौचालय भने कार्यालयको रुपमा प्रयोग भइरहेको छ। सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–३ परिहारपुरस्थित राधाकृष्ण आधारभूत विद्यालयमा कार्यालय संचालनका लागि कोठा नभएकाले शौचालयलाई नै कार्यालयको रुपमा प्रयोग गर्न बाध्य भएको प्रधानाध्यापक युगलकुमार यादवले बताए।

प्रधानाध्यापक यादवका अनुसार २ वटा कोठा रहेको ब्लकमा ७६ जना बालबालिका राखेर पढाउनु पर्ने भएकाले शौचालयलाई नै कार्यालयको रुपमा प्रयोग गरिएको हो। ‘हाम्रो पैत्रिक सम्पत्तिबाट साढे तीन कठ्ठा जग्गा विद्यालयको नाममा दान दिएपछि गाउँलेहरुको श्रमदानमा विद्यालय स्थापना गरिएको हो,’ प्रधानाध्यापक यादवले भने, ‘त्यसपछि शिक्षा कार्यालयको अनुदानमा दुई कोठे ब्लकसँगै तीनवटा कोठा भएको शौचालय पनि निर्माण गरियो।’

दुई कोठाको ब्लकमा बालबालिकाहरुलाई राखेर पढाउनु पर्ने भएकाले विद्यालयसँग सम्बन्धित कागजातहरु राख्ने ठाउँ नहुँदा शौचालयलाई नै कार्यालयको रुपमा प्रयोग गरिएको उनले बताए। विद्यालय खुलेपछि हाजिरी रजिष्टरसहित अन्य कागजातहरु झिक्ने र फेरि विद्यालय बन्द हुँदा थन्क्याएर जाने गरिएको शिक्षिका चन्द्रकला कुमारी यादवले बताइन्।

दलित तथा यादव समुदायका बालबालिका पढ्ने उक्त विद्यालयमा प्रधानाध्यापक यादवसहित उनकी पत्नी चन्द्रकला बाल विकासतर्फकी स्वयम्सेवक शिक्षिका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीय समाजसेवी रामप्रसाद यादवले कार्यालय चलाउन चाहिने दराज, टेबुल लगायतका आवश्यक सामग्री माग गर्न शिक्षा कार्यालय धेरै पल्ट धाएपनि सुनुवाई नभएको गुनासो गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.