|

काठमाडौँ: पत्रकार एवं गीतकार नृपेश उप्रेतीको गजलसंग्रह ‘मुसाफिर’ सार्वजनिक भएको छ। शनिबार सर्वनाम थिएटरमा आयोजित  कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल, युवागजलकार रूपक वनवासी, संगीतकार अर्जुन पोखरेलले सार्वजनिक गरे।

उप्रेतीको गजलमा काव्यिक रस भएको टिप्पणी गर्दै गजलकार ज्ञानुवाकर पौडेलले बेलायतमा बसेर पनि उप्रेतीले नेपाली साहित्यमा योगदान दिएको टिप्पणी गरे। प्राण नभएको मान्छे र बास्ना नभएको फूलको समाजमा औचित्य नहुने भन्दै काव्यिक रस नभएको गजल काम नलाग्ने टिप्पणी गर्दै पौडेलले भने ‘मुसाफिरभित्र प्रशस्त काव्यिक रस छ।’ गजलका केही हरफ पढ्नेबित्तिकै आफू प्रभावित भएको भन्दै उनको गजलमा नेपालीपन भेटिएको पौडेलको भनाइ थियो।

गजलकार रूपक वनवासीले उप्रेतीका गजलले आफूलाई प्रभावित पारेको बताए। संगीतकार अर्जुन पोखरेलले उप्रेतीको गजलबाट प्रभावित भएको कुरो मात्रै गरेनन्, फिल्म संगीतमा केही गजल राखेकोमा कतिपयले गीत भनेर टिप्पणी गरेकोमा दुःखेसो पनि पोखे। मुसाफिर पढेपछि चलचित्रमा गजललाई राख्न प्रेरणा मिलेको उनको भनाइ थियो।

कार्यक्रममा उप्रेतीले आफ्ना बुबा स्व. योगराज उप्रेतीको नाममा गजल सम्मानका लागि १२ हजार ५ सय रुपैयाँ राशिको पुरस्कार स्थापना गरेको घोषणासमेत गरे। सो पुरस्कार गजलकारलाई प्रदान गरिने भएको छ। त्यस्तै, उनले आमा नन्दकुमारी उप्रेतीको नाममा पनि १२ हजार ५ सय रुपैयाँ राशिको पुरस्कार घोषणा गरे। सो पुरस्कार कृतिका लागि प्रदान गर्ने जानकारी दिए। 

उप्रेतीले गीति एल्बम ‘आहान अर्को खुसी’ को रोएल्टी चितवनका गाउँबेँसी चेपाङ संरक्षण केन्द्रलाई प्रदान गर्ने घोषणासमेत गरे। साथै उनले मुसाफिरको बिक्रीबाट आएको रोयल्टी पनि विभिन्न सामाजिक संघसंस्थालाई दिने घोषणा गरे। पुराना पत्रकार एवं गीतकार उप्रेती अहिले बेलायतमा बसोवास गर्छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.