|

काठमाडौं : संविधान संशोधन परिमार्जन गरी पारित गर्न र दुई चरणमा निर्वाचन गर्ने विषयमा सहमति माग्न आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्ययन गरेर मात्र निर्णय दिने जवाफ दिएका छन्।

आइतबार मन्त्रिपरिषद बैठक स्थगित गरेर ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका प्रधानमन्त्री प्रचण्डले ओलीलाई सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच स्थानीय निर्वाचन दुई चरणमा गर्ने सहमति भएकोबारे जानकारी गराएका थिए। 

एमाले अध्यक्ष ओलीले संविधान संशोधनको अघिल्लो प्रस्ताव फिर्ता लिएकोमा प्रशंसा गर्दै नयाँ प्रस्तावबारे विस्तृतमा अध्ययन गरेर मात्रै जवाफ दिने बताएका छन्। स्थानीय तहको चुनाव दुई चरणमा गर्ने विषयमाभने ओलीले सरकारी प्रस्ताव हेरेपछि मात्रै प्रतिक्रिया दिने बताएका छन्। 

'प्रधानमन्त्रीले हिजो सरकार र मोर्चाबीच भएको सहमतिबारे जानकारी गराउनुभएको छ, जवाफमा अध्यक्ष ओलीले संशोधन प्रस्ताव फिर्ता लिनुभयो राम्रो भयो। तपाईहरुले ल्याउने नयाँ प्रस्तावका सन्दर्भमा डिटेलमा अध्ययन गर्छौ त्यसपछि निर्णय दिन्छौ भन्नुभयो' भेटवार्ताबारे ओलीका एक सहयोगीले भने 'एमाले हचुवाको भरमा निर्णय गर्ने पार्टी होइन। अध्ययन गरेर अफिसियल्ली निर्णय दिन्छौ।'

ओली र प्रधानमन्त्री प्रचण्डबीच करिब २० मिनेट कुराकानी भएको थियो। दुई चरणमा गर्न लागिएको निर्वाचनबारे ओलीले प्रधानमन्त्रीलाई सकारात्मक प्रतिक्रिया दिएका छन्। संविधान संशोधन प्रस्तावमा समर्थन गर्ने अवस्थामा एमाले नरहे पनि प्रक्रिया अघि बढ्न दिने अभिव्यक्ति ओलीले दिएका छन्।  

दुई चरणको निर्वाचनबारे कुरा गर्दा बजेट घोषणाका बारेमा पनि छलफल भएको थियो। यस सन्दर्भमा बजेटको मिति सार्न सकिने विषयमा पनि छलफल भएको ओलीका सहयोगीले जानकारी दिए। अन्य दिनभन्दा ओली आइतबारको बैठकमा नरम रुपमा प्रस्तुत भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.