|

काठमाडौँ: युवाकवि थीरलोचन श्रेष्ठद्वारा लिखित ‘प्रश्नपत्र जिन्दगीको’ कवितासङ्ग्रह शनिबार राजधानीमा लोकार्पण भएको छ। 

लोकार्पित कवितासङ्ग्रहमाथि र आधुनिक नेपाली कविताको धारका बारेमा समालोचक महेश पौड्यालले आफ्नो धारणा प्रस्तुत गरे। श्रेष्ठको कवित्व रुमानी रफ्तारमा यात्रारत रहेको समीक्षक पौड्यालले बताए। 

कवि थीरलोचनले प्रस्तुत सङ्ग्रहमा प्रेम र ग्रामीण जनजीवनलाई मुख्य विषय बनाएको उल्लेख गरेका थिए। उक्त कृतिबारे बोल्दै प्राज्ञ श्रवण मुकारुङले श्रेष्ठको लेखाइमा आफ्नोपन रहेको बताए। लेखकहरूले स्थान विशेषमै गएर कविता लेख्न सक्नुपर्छ भन्दै त्यो क्षमता पनि यी कविमा देखेको मुकारुङले दाबी गरे। 

संस्कृतिविद तुलसी दिवसले साहित्य नभई समालोचना हुन नसक्ने भएकाले पहिलो सत्य साहित्य र त्यसपछि मात्रै समालोचनाको कुरा आउने उल्लेख गरे। प्रस्तुत सङ्ग्रहभित्रका कविताहरूमा कविले कुनै तडकभडक नगरी सुन्दर रूपमा प्रस्तुत गरेको उनले बताए। ‘यी कविले देश र प्रेमलाई मुख्य विषयवस्तु बनाएका छन् र समाजमा युवा पुस्ताको हस्तक्षेपकारी अभियानलाई सगर्व अगाडि बढाएका छन्’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.