काठमाडौं : सरकारले स्थानीय तहको संख्या थपघट गर्न उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाको संयोजकत्वमा रहेको समितिमा तीन सदस्य थप गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त समितिमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजयशंकर नायक, वनमन्त्री शंकर भण्डारी र आपूर्ति मन्त्री दीपक बोहरालाई सदस्यको जिम्मेवारी दिएको हो।
उक्त समितिले आइतबारदेखि नै काम गर्ने र दुई तीन दिनभित्र संख्या सिफारिस गर्ने समझदारी मन्त्रिपरिषद बैठकमा भएको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।
शनिबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सत्तारुढ दलबीच मधेसमा स्थानीय तहको संख्या थप गर्ने सहमति भएको थियो। उक्त सहमति अनुसार स्थानीय तहको संख्या थपघटबारे सुझाव दिन समिति गठन गरिएको हो।
मन्त्रिपरिषद बैठकले सबै आन्दोलन फिर्ता लिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गर्ने र संशोधित विधेयकमा समर्थन जनाउन प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले जानकारी दिए। मन्त्रिपरिषद बैठकले सीमांकन हेरफेर गर्न संघीय आयोग गठन गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ गते स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको सहमति अनुसार चार वटा प्रदेशमा दोस्रो चरणमा निर्वाचन गर्न आयोगलाई सिफारिस गरेको हो।
त्यस्तै मन्त्रिपरिषद बैठकले उम्मेदवारी दर्ताको समय दुई देखि चार दिन थप्न पनि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री कार्कीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।