|
गठबन्धनको बैठक। फोटोः महेश चौरासियाको फेसबुकबाट।

काठमाडौं : संविधान संशोधन र स्थानीय तह निर्वाचनका विषयमा शनिबार राति सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको समझदारीका विषयमा संघीय गठबन्धनभित्र दुई थरी दृष्टिकोण देखिएको छ। आइतबार उक्त सहमतिबारे धारणा लिन बोलाइएको गठबन्धनको बैठकपछि नेताहरुका कुरा सुन्दा उनीहरुबीचको अन्तर प्रष्ट देखिन्थ्यो।

उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनले आइतबार संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा गठबन्धन आबद्ध दलहरुको बैठक राखेको थियो। गठबन्धनमा ३१ दल तथा संगठन छन्।

सरकारसँग भएको सहमतिबारे धारणा लिन बोलाइएको उक्त बैठकपछि गठबन्धनका प्रवक्ता ओम गुरुङले भने- ‘मोर्चा र सरकारबीच के के सहमति भयो त्यो हामीले मान्नुपर्छ भन्ने पनि छैन।‘

बैठकपछि उनले पत्रकारसँग भने-

‘हिजो सहमति भयो भनिएका विषयवस्तुमा संघीय समाजवादी फोरम र गठबन्धनलाई बोलाएर छलफल गरिएको पनि होइन। त्यो भनिएको सहमतिले आदिवासी, जनजाति, खस, आर्य, दलित, शिल्पी, मुस्लिम समुदायको भावनालाई सम्बोधन गरेको पनि छैन। पहिचानका कुरा र भाषाका विषय त्यो सहमतिले सम्बोधन गरेको पनि छैन। मोर्चा र सरकारबीच के के सहमति भयो त्यो हामीले मान्नुपर्छ भन्ने छैन। हामीले आन्दोलन फिर्ता लिएका छैनौँ।‘

उनले शनिबार राति भएको सहमति गठबन्धन र संघीय समाजवादीसँग छलफल गरेर नभएको दावी गरे पनि बालुवाटार बैठकमा संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष लालबाबु राउत सहभागी थिए। यद्यपी संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव भने बालुवाटार बैठकमा अनुपस्थित थिए।

गठबन्धनका प्रवक्ता गुरुङले सहमति पनि नमान्ने र आन्दोलन पनि फिर्ता नलिने बताए पनि गठबन्धनको प्रमुख घटक संघीय समाजवादीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मन्त्रिपरिषद् बैठकको निर्णय ‘सकारात्मक’ भएको प्रतिक्रिया दिए।

‘मोर्चाका शीर्ष नेतासँग गरेको समझदारी बमोजिम मन्त्रिपरिषदले गरेको निर्णय सकारात्मक छ’, उनले भने, ‘संसदबाट विधेयक परिमार्जनसहित पारित नभएसम्म आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छौँ।‘ शनिबार राति भएको सहमतिअनुसार सरकारले चारवटा प्रदेशमा स्थानीय तहको निर्वाचन जेठ ३१ मा गर्ने निर्णय गरेको छ। 

स्रोतका अनुसार मोर्चा र गठबन्धनबीच पनि शनिबार राति भएको सहमतिको स्वामित्व लिने विषयमा विवाद छ।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.