|

विराटनगर : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक उपेन्द्र यादवले निर्वाचनमा सहभागी हुने विषयमा सरकार र मधेसी मोर्चाबीच अहिलेसम्म कुनै सम्झौता नभएको बताएका छन्।

मधेसी मोर्चाले विराटनगरमा आइतबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो सम्झौता भयो भनेर बाहिर आएको हल्ला निराधार रहेको बताएका हुन्। छलफलम आफूहरूले सरकारलाई मधेसी, आदिवासी, जनजाति, दलितका मुद्दाहरू संवोधन गर्दै संविधान संसोधन गर्न सुझाव दिएको तर सहमति भयो भनेर गलत प्रचार गरिएको भन्दै उनले टिप्पणी गरे।

‘साँचो कुरा के हो भने हिजो बसेको बैठकमा हामीले प्रधानमन्त्री प्रचण्डलाई पहिचान र प्रादेशिक स्वायत्तता सहितको संघीय राज्यको निर्माण गर्नुस्, संविधान संसोधन गर्न सुझाव दिएका हौं यो कुनै सहमति र सम्झौता होइन’ उनले भने। यादवले जबसम्म संविधान संशोधन मार्फत आफूहरुको मागहरू पुरा नभएसम्म आन्दोलन नरोकिने र चुनावमा पनि सहभागी नहुने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्त ठाकुरले सरकारले मुखले सबैकुरा गर्छौं भने पनि कार्यान्वयन नगरेको आरोप लगाए। आफू निर्वाचन बिरोधी नभएको बताउँदै उनले सरकारले पहिले संविधान संशोसोधन गरे निर्वाचनमा जान तयार रहेको बताए।

सहमति भयो भनेर सरकारले भ्रम सिर्जना गरिरहेको आरोप लगाउँदै ठाकुरले जनतालाई भ्रमित बनाउनुभन्दा मधेसी मोर्चासंग भएको सम्झौता कार्यान्वयन गरेर निर्वाचनको बातावरण बनाउन आग्रह गरे। कार्यक्रममा संघीय लिम्वुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देनले सम्झौता कार्यान्वयन नभएसम्म निर्वाचनमा मोर्चा सहभागी नहुने उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.