|

  • अनिल खत्री-

गुल्मी : स्थानीय तह निर्वाचनको लागि गुल्मीमा भएको एमाले र माओवादी केन्द्रबीच भएको तालमेलको एमाले कार्यकर्ताले चर्को विरोध गरेका छन्। चुनावी तालमेलको विषयमा नेकपा एमाले र माओवादी केन्द्रबीच शुक्रबार भएको सहमति तत्कालै सच्चाउन एमाले कार्यकर्ताले जिल्ला नेतृत्व पंक्तिलाई दवाव दिएका छन्।

जिल्लाका बिभिन्न स्थानमा रहेका एमालेका गाउँ वडा तहका कमिटीहरुले वक्तव्य सार्वजनिक गरी नेतृत्व तहबाट भएको सहमति मान्य नभएको चेतावनी दिएका छन्।  कार्यकर्ताको हित विपरीत जिल्ला नेतृत्वले माओवादी केन्द्रसंग सम्झौता गरेकाले यसको खुलेरै विरोध गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन्।

मालिका गाउँपालिका गुल्मी वडा कमिटीका उपाध्यक्ष ठाकुर अर्याल र सचिव प्रेमबहादुर जिसीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा कार्यकर्ताको रायसुझाव नलिई एकल रुपमा पार्टीले निर्णय गरेको आरोप लगाइएका छन्। एमालेका समग्र मतदाताहरुको हित विपरीत गरिएको उक्त निर्णय बाध्य भएर मान्न जरुरी नरहेको समेत विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनीहरुले कसैसँग तालमेल नगरी एक्लै नै चुनाव लड्नुपर्ने माग राखेका छन्। आफूहरुको मागप्रति बेवास्ता गरे जस्तोसुकै मूल्य चुकाउन समेत पछि नपर्ने उनीहरुले अठोट गरेका छन्। कार्यकर्ताले जिल्ला भर भएको तालमेल तुरुन्त फिर्ता लिन पार्टी चुनावी अभियान जुटन आग्रह गरेका छन्। जिल्लामा मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका, छत्रकोट गाउँपालिका, चन्द्रकोट गाउँपालिकामा सहित अन्य केहि वडाहरुमा कार्यकर्ताको चर्को विरोध आएको छ।

जिल्लाबाट विभिन्न जिल्लामा रहेका सम्पर्क कमिटीहरुबाट पनि चर्को विरोध जनाएका छन्। कार्यकर्ताहरुले जिल्ला तहका नेताहरुलाई सहमति फिर्ता लिन दवाव दिएका छन्। एमाले जिल्ला तहका नेताहरुले भने नेकपा एमाले पार्टी हितको लागि चुनावी तालमेल भएको जनाएका छन्। तालमेलको क्रममा एमाले आफू माथि रहेर सहमति गरेको एमाले जिल्ला कमिटीका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए। पन्तले भने 'केही ठाउँबाट असहमति आएको छ त्यसलाई पार्टी पंतिबाटै सहमति खोजेर सहकार्यका साथ अघि बढ्छौ।'

तालमेलले नेतृत्व तहमा उत्साह थपिए पनि  कार्यकर्ताबाट भने असहमति देखिएको छ। सहमतिअनुसार गुल्मीमा १० गाउँपालिका र २ नगरपालिकामध्ये ३ गाउँपालिका प्रमुख र ६ वटा गाउँपालिका उपप्रमुख सहित २४ वडा अध्यक्ष माओवादी केन्द्रलाई दिने सहमति भएको थियो।

हेर्नुस् विज्ञप्ति

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.