|
फोटो : आङदावा शेर्पा

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथा चुम्न जाने आरोहण दलका सदस्यले कति फोहोरजन्य सामग्री लैजान पाउने सीमा तथा लगिएका सामग्री फिर्ता नगरे धरौटी जफतसहित थप कारबाही हुने कानुनी व्यवस्था छ। तर, हिजोआज सगरमाथा फोहोरै फोहोरको थुप्रोले ढाक्न थालेको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन्।

सगरमाथा (८, ८४८ मि) को फोहोर व्यवस्थापन गर्न सरकारले सगरमाथा प्रदूषण नियन्त्रण संस्थालाई जिम्मा दिए पनि सगरमाथाको आधारशिविरदेखि चुचुरोसम्म फोहोर झन् बढ्दा पर्यटन व्यवसायी चिन्तित बनेका हुन्। कानुनी आधार प्रशस्तै भए पनि फोहोर व्यवस्थापन गर्न जिम्मा लिएको संस्थाले काम नगर्दा फोहोरको थुप्रो बढ्दै गएको आरोहीको आरोप छ।

आरोहण दलका सदस्यले प्रयोग गरेका सामग्री जथाभावी फाल्दा आधारशिविरदेखि चुचुरोसम्मै फोहोरले ढाकेको पाइएको हो। बिहीबार सगरमाथाको ६,४६० मिटरमा रहेको क्याम्प दुई पुगेर आधारशिविर फर्केका पर्वतीय गाइड आङदावा शेर्पाले जथाभावी फोहोरैफोहोर देखे। उनले भने, ‘जथाभावी टेन्ट, फलाम, प्लास्टिक, रबरजस्ता वस्तुले फोहोर बनाएको छ।' क्याम्प दुई पुगेका उनले जताततै फोहोरै फोहोर थुप्रो देखेपछि विदेशी पर्यटकले समेत फोहोर व्यवस्थापनबारे आलोचना गरेको सुनाए।

आरोही र कामदारले फोहोरलाई हिउँले पुर्ने गर्दा हिउँ पग्लिएपछि फोहोर बाहिर देखिएको उनको भनाइ छ। फोहोर व्यवस्थापनका लागि पर्वातारोहणसम्बन्धी नियमावली २०५९ मा फोहोरलाई तीन वर्गमा विभाजन गरी सम्बन्धित निकायले नै फोहोर ल्याउनुपर्ने व्यवस्था गरिएको छ। नियमावलीको बुँदा नम्बर २७ मा नष्ट गर्न सकिने, पुनः प्रशोधन गर्न सकिने, पुनः निकासी गर्नुपर्ने फोहोरमैला यकिन गरी आरोहण दलले आफैँ फोहोर ल्याउनुपर्ने किटानी गरेको छ।

नष्ट गर्ने फोहोर आधार शिविरमा जलाउने, पुनः प्रशोधन गर्न सकिने फोहोर काठमाडौं महानगरपालिकालाई ल्याएर बुझाउनुपर्ने र पुनः निकासी गर्नुपर्ने फोहोर सम्बन्धित आरोहीले आफ्नो देशमा फिर्ता लानुपर्ने कानुनी व्यवस्थाले स्पष्ट गरेको छ।

नियामवलीको बुँदा २६ मा फोहोरमैला व्यवस्थापनका लागि तीन हजार डलर धरौटी राख्नुपर्ने व्यवस्था छ। आफूले लगेको फोहोरजन्य सामग्री नल्याए धरौटी फिर्ता नहुने कडा व्यवस्था पनि छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.