|

काठमाडौं : नेपाल टेलिकमले करिब ६ अर्ब लगानी गरेर धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ। त्यसका लागि सरकारले तयार गरेको ड्रइङ र डिजाइन नभई आफैंले तयार गरेको डिजाइनको आधारमा निर्माण गर्नुपर्ने प्रारम्भिक प्रस्ताव गरेको छ। करिब ३० वर्षसम्म लिजमा दिएर निर्माण गरिने प्रस्ताव टेलिकमले अघि बढाएको छ।

करिब १ वर्ष लगाएर तयार गरेको डिजाइन टेलिकमले नस्वीकार्ने भएको छ। अन्तर्राष्ट्रिय कन्सल्टेन्टबाट निर्माण गरिने डिजाइनको आधारमा नयाँ डिजाइन निर्माण गर्नुपर्ने टेलिकमले जनाएको छ।

राष्ट्रको गौरवको विषय रहेको धरहरा पुनर्निर्माण गर्न सरकारले चासो देखाएपछि विभागले सम्पूर्ण विवरण तयार गरी संस्कृति मन्त्रालयमा पेस गर्ने तयारी गरिरहेको अवस्थामा नेपाल टेलिकम आफैंले लागत बेहोर्ने गरी प्रस्ताव गरेको हो। टेलिकमका प्रबन्धक सुनील पोखरेलले हिजो पुरातत्त्व विभागमा प्रस्ताव पेस गरेका थिए। 

जस्ताको तस्तै धरहरा निर्माण गर्ने गरी ड्रइङ र डिजाइन मन्त्रालयमा पेस गर्ने तयारी गरिएको छ। नेपाल टेलिकमले सम्पूर्ण खर्च बेहोर्ने गरी आफैंले निर्माण गर्ने प्रस्ताव सरकारसमक्ष राखेपछि विभागले प्रस्तावबारे जानकारी लिएको थियो। ‘धरहराको स्वरूप नबिग्रने गरी हामीले पुनर्निर्माण गर्नेछौं तर लगानी उठ्ने वातावरण सरकारले बनाइदिनुपर्नेछ’ –प्रबन्धक पोखरेलले भन्नुभयो।

टेलिकमले हाल ठुटो मात्र रहेको धरहरालाई संरक्षण गरी त्यसको माथिबाट नयाँ धरहरा बनाउने, ३० प्रतिशत क्षेत्रफलमा छुट्टै टावर निर्माण गर्ने, ४ तले व्यापारिक भवन निर्माण गर्ने र सुन्धारालाई विशेषरूपमा संरक्षण गरी विशेषरूपमा मौसमअनुसार परिवर्तन हुने गरी प्राकृतिक आकाश बनाउनेलगायतका प्रस्ताव अघि बढाएको छ।

धरहरा निर्माण गरेपछि १ सय वर्षसम्म टेलिकमले नै संरक्षण गर्ने प्रस्ताव पेस गरिएको छ। हाल रहेको धरहराको बीच भागबाट स्थानीय नेवार समुदायको निधन हुँदा शव लैजाने स्थानलाई परिवर्तन गरी छेउबाट लैजाने व्यवस्था मिलाउनुपर्ने प्रारम्भिक प्रस्ताव पेस गरिएको छ। टेलिकमले तयार गरेको प्रस्तावमा नयाँँ नक्सा डिजाइन गर्न मात्र २० करोड रुपियाँ प्रस्ताव गरिएको छ।

कम प्रस्ताव पेस गर्ने केज एण्ड एमआरबीले ७७ लाख ८४ हजार रुपियाँ लागतमा सम्पूर्ण ड्रइङ, डिजाइन र लगत 'स्टिमेट' तयार गरिसकेको छ। टेलिकमले यसअघि तयार गरिएको नक्सा स्वीकार नगरी विश्वका चर्चित आर्किटेक्ट प्रयोग गरी नयाँ नक्सा तयार गर्ने प्रस्तावमा उल्लेख गरिएको छ।

विभागले माटो परीक्षण र तरलताको अनुसन्धान गरी तयार गरेको नक्सा पेस गर्ने तयारी गरेको अवस्थामा टेलिकमले अघि सारेको प्रस्तावमा विभागले असहमति जनाएको छ। ‘नयाँ प्रस्ताव हामीले तत्काल स्वीकार गर्ने अवस्था छैन, धरहरासँगै नयाँ टावर बनाउनुहुँदैन, सुन्धारा जस्ताको तस्तै संरक्षण गर्नु सबैको दायित्व हो भने परम्परादेखि चल्दै आएको संस्कृति जगेर्ना गर्न स्थानीयबासीले शव बोक्दा प्रयोग गर्ने बाटो बन्द गर्न दिने पक्षमा हामी छैनौं’ –विभागका महानिर्देशक भेषनारायण दाहालले भने।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.