|
Photo : Goal.com

चीरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको 'एल क्लासिको' भिडन्तमा बार्सिलोना ३-२ ले विजयी भयो। बार्सा र रियलबीचको लिग भिडन्तलाई एल क्लासिको भन्ने गरिएको छ। यी दुवै स्पेनका निकै सशक्त र सफल टोली हुन्।

रियललाई उसकै घरेलु मैदानमा पराजित गर्ने क्रममा लियनोल मेसी नायक सावित भए।

खेलमा अग्रता भने रियलले लिएको थियो। २७औं मिनेटमा कासेमेरोको गोलबाट घरेलु टोलीले लिएको ६ मिनेटपछि मेसीले तोडे। ७३औं मिनेटमा इभान र्‍याकिटिकले गोल गर्दा बार्सा २-१ ले अघि पुग्यो। तर, ८५औं मिनेटमा रोड्रिग्वेजले बराबरी गोल गर्दा घरेलु टोलीले पुन: खेलमा पुनरागमन गर्‍यो। खेल बराबरीमा सकिनै लागेको थियो, इञ्जुरी समयमा मेसीले निर्णायक गोल गरे।

यससँगै मेसीले ५०० गोलको माइलस्टोन पनि पूरा गरेका छन्। यस सिजनको लिगामा भने यो ३१औं गोल हो।

गएरातिको खेलमा ७७औं मिनेटमा सर्जियो रामोसले मेसीलाई घातक फल गर्दै रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सिमित भएको थियो। अर्कोतर्फ रियलले गरेको पहिलो गोल अफसाइड थियो, तर रेफ्रीले देखेनन्।

यो नतिजाले बार्सिलोनालाई अंक तालिकाको शीर्ष स्थानमा पर्‍याएको छ। यद्यपी उसले रियलभन्दा १ खेल बढी खेलेको छ। दुवै टोलीले ७५ अंक जोडे पनि बार्सा गोल अन्तरका आधारमा अघि रहेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.