|

सल्यान : जिल्लामा  ११ विद्यालय शिक्षा कार्यालयको अनुमतिविनै सञ्चालनमा रहेको पाइएको छ।  जिल्लाका विभिन्न स्थानमा प्राथमिक तहका निजी विद्यालय अनुमति नलिई सञ्चालन भइरहेको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको हो। 

अनुमति नपाएका कक्षामा विद्यार्थीलाई पढाउँदा त्यसको मान्यता नहुने भएकाले विद्यार्थीलाई समस्या हुने जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ। 'विद्यालय सञ्चालनका लागि पूरा गर्नुपर्ने सबै प्रक्रिया पूरा नगर्ने र तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गर्ने प्रवृत्ति देखिएको छ', जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले भने, 'यसलाई रोक्न विशेष पहल गरेका छौं।' 

अनुमति बिना सञ्चालन रहेका विद्यालयमा बालबालिकालाई भर्ना नगर्नसमेत अभिभावकलाई जिशिअ सुवेदीले अनुरोध गरे। 'निजी स्कुल भन्नेबित्तिकै  शिक्षक कस्ता छन् ? अनुमति लिएको छ कि छैन ? भौतिक संरचना कस्तो छ ? कुनै ख्यालै नगरेर अभिभावक भर्ना गर्न हतार गर्छन्', उनले भने,  'बालबालिकाको भविष्य अन्धकार भएको थाहै पाउँदैनन्।'

अनुमति नलिई सञ्चालन भएका विद्यालयलाई १५ दिनभित्र विद्यालय बन्द गर्न निर्देशन दिइसकेको जिल्ला शिक्षा अधिकारी सुवेदीले बताए। जिल्लाका विभिन्न १८ निजी विद्यालयले तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गरिरहेको पाइएको छ। यस शैक्षिक शत्रदेखि एक विद्यालयले पनि अनुमति नलिएर कक्षा पढाएको पाइएमा उसको कारबाहीस्वरुप अनुमति खारेजीसम्म गरिने जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.