आजभोलि धेरैले जिस्क्याउँछन्, 'उतिबेलै गइसके भनेका बाहुन अझै हिँड्दैछन्'

|

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– (साविक बाडेगाउँ–३ वित्तलब) का मेघनाथ भट्टराई १२ वैशाख २०७२ को दिन पनि सबेरै उठे। शनिवारको दिन। घरबाट करिब एक घण्टाको दूरीमा रहेको विद्यालयमा जानुपर्ने थिएन। तर त्यो दिन उनले कसैलाई दिएका थिए।

हतपत ओछ्यानबाट उठे। नित्यकर्म सके। श्रीमती घरधन्दामा लागिन्। नियमित कर्म, उनी घरका देवीदेवतालाई तृप्त गराउन थाले। सदाझैं बिहान सबेरै घाम झुल्कियो। श्रीमतीले तातोपानी खुवाइन्। सात बजेको हाराहारीमा घरको आँगबाट देखिने डाँडा पूरै घमाइलो भइसकेको थियो। लुगा लगाएर झोला फलैँचामा राखी जुत्ता लगाउन थाले। घरनजिकैको रुखको टुप्पामा बसेको काग अनौठोगरी करायो।

‘ओहो बाहिर निस्किइँदै छ। घरनजिकै आएर यो काग किन यसरी करायो हँ?’ मेघनाथले श्रीमतीलाई सुनाए। अघिपछि उनी निस्कने बेलामा शकुन अपशकुनको खुब ख्याल गर्ने श्रीमतीले भनिन्, ‘आ हजुर पनि के के भन्नुहुन्छ के के। मैले त केही सुनिनँ।’ सायद बिहानको कामको चटारोले गर्दा उनले केही सुनिनन् वा आफूले पनि समर्थन जनाउँदा टाढा जान लागेका ‘बूढा’लाई चिन्ता होला भनेर पो बुझ पचाइन् कि?

आफ्नै कानले सुनेको। मनले मानेन। जुत्ता खोले। ‘भान्सामा पसेर दायाँबायाँ हेरेँ। फल  रहेछ काटेर एक टुक्रा खाएँ’, मेघनाथले भने, ‘श्रीमतीले भर्खरै दुहेर तताउन पनि नभ्याएकी दूधको कुँडे हेरे।’ हिँड्ने बेलामा अपशकुन भयो घरभित्र पसेर केही हेरेर\खाएर निस्कँदा दोष काटिन्छ भन्ने विश्वास गरिन्छ। 

पुग्नुपर्ने टाढै थियो दिनभरि काम गरेर फेरि बेलुकी घर फर्किनुपर्ने। यहाँ, यति बजे भेट्ने भनेर अगाडि नै तय गरिएकाहरू पनि निस्किसके होला यही सोचेर बाहिर निस्के झोला बोकेर पिँढीबाट तल ओर्ले। कमिजको बाहुला सारेर नाडीतिर हेरे। साढे सात नाघिसकेछ। शंका अझै निवारण भइसकेको थिएन। पूर्वतिर फर्केर पढे– मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वजः, मंगलं पुण्डरीकाक्षः मंगलाय तनोहरिः...। त्यसो त बिहान बाहिर निस्किँदा उनी संधै यो मन्त्र पढेर निस्किन्छन्। संस्कृतका मङ्गल श्लोक पाठ गरी काममा हिँड्दा दिन राम्रो हुन्छ भन्ने जो हिन्दु मान्यता छ।

‘ओहो बाहिर निस्किइँदै छ। घरनजिकै आएर यो काग किन यसरी करायो हँ?’ मेघनाथले श्रीमतीलाई सुनाए। अघिपछि उनी निस्कनेबेलामा शकुन अपशकुनको खुब ख्याल गर्ने श्रीमतीले भनिन्, ‘आ हजुर पनि के के भन्नुहुन्छ के के। मैले त केही सुनिनँ।’ सायद बिहानको कामको चटारोले गर्दा उनले केही सुनिनन् वा आफूले पनि समर्थन जनाउँदा टाढा जान लागेका ‘बूढा’लाई चिन्ता होला भनेर पो बुझ पचाइन् कि?

घरमै आइपुगेका साथी हरिराम आचार्य सँगै निस्के। अरु दुई जना अलि पर्तिर भेटिए। तीनघरेका पौडेल थरका अर्का साथी शिव मन्दिरनजिकै रहेछन्। पाँच जनाको टोली ओर्लियो, सय वर्षभन्दा पुरानो संस्कृत उच्च माविलाई दाहिने पारेर। जति मान्छे उति कुरा। बाटोमा अनेक कुरा भए। घर व्यवहारका। पण्डितहरूको टोली भएकाले शास्त्रका कुरा त भइहाले। राजनीतिका कुरा त के छुट्थ्यो झन्। ‘यसपालिको (संविधान) सभाले पनि संविधान जारी गर्लाजस्तो छैन है! सुशील(कोइराला) बूढाले के गर्लान् खै!’ भारतका प्रधानमन्त्री मोदीदेखि अमेरिकी राष्ट्रपति ओबामासम्मका चरित्रको बयान भयो।

'पाँच भाइ हिँड्दा बाटो कटेको पत्तो भएन', मेघनाथले सम्झे, 'गफिँदै सिपापोखेर–७ दुलालडाँडा(हाल इन्द्रावती गाउँपालिका–७) आइपुग्दा ९ बजेको थियो।'
मेघनाथका यजमान पण्डित दुर्गाप्रसाद सापकोटाको घरमा स्वस्ति शान्तिको काम थियो। अमेरिकाबाट केही दिनका लागि फर्किएका कान्छा छोरा र उनको परिवारको सुख र शान्तिका लागि आयोजना गरिएको थियो, अनुष्ठान। होम, रुद्री, चण्डीपाठ, ग्रहपूजाको काम थियो। 

पण्डितहरूको स्वागत–सत्कार भयो। कर्ता पनि पण्डित। पूजाका सामान तयारी नै थियो। पण्डितहरू कसैले रेखी हाले। कोही कुश बाट्न थाले। भन्छन् नि ‘श्राद्ध गर्न सजिलो सिदा पुर्याउन गाह्रो’। यसो गर, उसो गर, यो ल्याऊ, त्यो ल्याऊ यजमानलाई अह्राउँदै हैरान। झण्डै १० बजेको हाराहारीमा पण्डितहरूले सब तयार पारे। 
अग्निको संस्कार गरियो। दियो सल्काइयो। संस्कार गरेको बत्ती अग्निशालामा राखियो। कलशमा देवीदेवताका आवाहन भए। गणेशजीको पूजा गरियो र भनियो, ‘हामीले गर्न लागेको अनुष्ठानमा कुनै बिघ्नबाधा नपरोस्।’ एक पण्डितले पुस्तक समाते अर्काले सुरो र चरु लिएर होम गर्न थाले। कसैले रुद्री र कसैले चण्डी पाठ गरे। अर्का पण्डितले कर्तालाई लिएर ग्रहपूजा गराउन लागे। काम धेरै थियो। ढिलै सुरु भएको छ। अबेर भयो भने कर्ताको मात्र होइन, पण्डितका पेटमा पनि ‘मुसा दौडिन’ थाल्छन्।   

पूजापाठमा मध्याह्न १२ बजे ‘हाफ टाइम’ गर्ने चलन छ, अचेल। यहाँ पनि त्यस्तै हुने भयो, बाह्र बज्नु केहीअघि नै पण्डितहरूले ‘ब्रेक’ लिए। यजमानले फलफूल, दूध ल्याएर दिए। घरका परिवार बुढा र बुढीबाहेक ३\४ कान्ला मास्तिर रहेको माइला छोराको घर गएका थिए। ‘घरमूली अामै’ भित्र के सामसाम सुमसुम गर्दै थिइन्, भुले अहिले, मेघनाथले । घरमूली दुर्गाप्रसाद पिँढीमै थिए, ढोकानजिकै अडेस लागेर बसेका। तीन ब्राह्मण फलैंचामा थिए। पूर्व फर्केर बसेका थिए मेघनाथ र अर्का एक पण्डित।

फलफूल खाएर तातोपानी खाँदै थिए, उनी। जमिन हल्लिन थालेको यकिन हुँदा नहुँदै ‘भूकम्प आयो’ भन्ने सुने कतैबाट। ‘आत्तिएँ। जुरुक्क उठेँ’ त्यो बेला सम्झिँदै उनले भने, ‘सँगै रहेका पण्डित पिँढीबाट आँगनमा हामफाले। मैले फलाल्ने आँट गर्न सकिनँ।’ केही वर्षअघि पेटको शल्यक्रिया गरेका उनी झटपट हिँड्न सक्दैनन्। मूल ढोकाअगाडि खुड्किलोबाट भाग्ने उद्देश्यले उनी पूजास्थलको दक्षिण छेउबाट पूर्वतिर लागे। 

‘दाहिने गोडाले खुड्किलो टेक्नसम्म भ्याएँ। तीन तले घर गर्ल्यामगुर्लम ढल्यो। माथिबाट थिचिहाल्यो’, उनले सम्झिए। त्यतिञ्जेलसम्म तीन पण्डितचाहिँ कुद्न भ्याएछन्। घर दक्षिणतिर ढलेको थियो। ‘आँगनमै बसेका भए पनि ती पर्थे होलान्। दक्षिणमा रहेको कटेराको चेपबाट पनि परै भागेछन् क्यारे! बारीतिर’, उनले भने, ‘हरिराम आचार्य नामका पण्डित र घरमुली पनि भाग्न भ्याएनन्। दाहिनेपट्टि दुर्गा र देब्रेतिर हरिराम।’ अत्तालिएर भाग्ने क्रममा संयोगले सँगै परेका थिए, उनीहरू। मेघनाथ उत्तानो परेर पछारिए। दुर्गा र हरिराम बसेकै अवस्थामा थिचिए। 

‘दाहिने गोडाले खुड्किलो टेक्नसम्म भ्याएँ। तीन तले घर गर्ल्यामगुर्लम ढल्यो। माथिबाट थिचिहाल्यो’, उनले सम्झिए। त्यतिञ्जेलसम्म तीन पण्डितचाहिँ कुद्न भ्याएछन्। घर दक्षिणतिर ढलेको थियो। ‘आँगनमै बसेका भए पनि ती पर्थे होलान्। दक्षिणमा रहेको कटेराको चेपबाट पनि परै भागेछन् क्यारे! बारीतिर’, उनले भने, ‘हरिराम आचार्य नामका पण्डित र घरमुली पनि भाग्न भ्याएनन्। दाहिनेपट्टि दुर्गा र देब्रेतिर हरिराम।’

त्यतिञ्जेल पूरै होशमा थिए, मेघनाथ। दुर्गाप्रसादले केही बोलेको सम्झिन्छन्। उनी ‘मरेँ बाबु, मरेँ बाबु’ भनिरहेका थिए। तर हरिराम बोलेको सुनेनन्। हिन्दु धर्मावलम्बीले आपतमा परेका बेला  सम्झिने त उनै राम हुन्। मेघनाथले राम, राम, राम सम्झिए। दुई वर्षअघि आजकै दिन भएको कहालीलाग्दो घटना सम्झिँदै भने, ‘त्यतिबेला मलाई अरु कसैको याद भएन।’

भूकम्पले थिच्यो भन्ने राम्रो होश थियो उनलाई। सानो छिद्रबाट प्रकाश छिरेको देख्दा उनलाई बाँच्ने आश पनि भयो। ‘ठ्याक्कै मकैको दानाजत्रो। त्यो भन्दा ठूलो छैन’, यति भनिरहँदा उनको मुहारको भाव एकाएक बदलियो, ‘मैले त्यो प्वाललाई बढाउन दाहिने हात फैलाएँ।’ निर्वाध रहेको दाहिने हात लम्काउँदै गर्दा कतिखेर बेहोश भए, थाहा पाएनन्।

‘सँगै रहेका दुई जनालाई बढी थिचेको छ भन्ने पनि अनुभव गर्न पाएँ’, त्यो कठिन घडीलाई सम्झिँदै उनले भने, ‘थिचिएकै भए पनि देब्रेतर्फ रहेको काठलाई घँचेडेर बाहिर निस्कन सकिन्छ कि भन्ने पनि आश थियो।’ प्रयास सफल हुन सकेन। देब्रे हातसहित जीउभन्दा तलका भाग पूरै थिचिएको थियो।   

‘फल्याकले टाउको थिचेको छ। बाहिरको आवाज केही अनुभव गर्न पाइनन बरु हल्लिएको अनुभव भइरहेको थियो, बेहोश नहुञ्जेलसम्म।’ घरमुली दुर्गाप्रसादकी श्रीमती भर्‍याङमुनि चेपिएकी रहिछन्। सँगै जोडिएका अर्का भाइको घरमा तीनजना घाइते भएका थिए। सापकोटा दाजुभाइको एक दर्जनभन्दा घर। नजिकै काकाको घर भत्किँदा राजेन्द्र सापकोटाको मृत्यु भइसेको थियो। कोलाहलको स्थिति थियो। तर उनले त्यो अनुभव गर्न पाएनन्।

भूकम्पले बितण्डा मच्चाएर छोडिसक्दा आफ्ना मान्छेको खोजी भयो होला। पूजा भइरहेको ठाउँको अनुमानमा साढे तीन बजेतिर खोतल्दा उद्धार गर्नेहरूले ३ वटा टाउकोसम्मको भग्नावशेष पन्छाउन भ्याए। कसको टाउको भन्ने पत्तो लागेन। कम्मरसम्मको ढुंगामाटो हटाएर थुत्ने कोशिश गरेपछि मेघनाथ होशमा आए। ‘मलाई यसरी नतान। म जिउँदै छु’, उनी पीडाको स्वरमा कराए, ‘हातखुट्टा भाँचिएको अनुभव गरेको छैन।’ यतिञ्जेलसम्म उनले अनुभव गरिसकेका थिए, सँगै दुई जनाको प्राण गइसकेको छ। ‘तपाइँ अनुमान गर्न सक्नुहुन्छ?', मेघनाथले थाहाखबरसँग भने, 'दुई जनाको मृत शरीरले थिचेको छ मलाई। मेरो मनस्थिति कस्तो थियो होला त्यतिबेला?’ उनको अनुरोध सदर भयो, थिचेका सबै वस्तु हटाएपछि मात्र झिकियो, उनलाई।

पुरिएको ठाउँबाट बल्लतल्ल झिकिएपछि उनलाई लाग्यो, ‘अब त बाँचियो गाँठे।’ गाउँमा तीन जना बितिसकेका थिए। माथिल्लो पाटोमा मृतकलाई एकातिर राखियो। चारैतिर हेर्दा भग्नावशेष मात्र देखिन्थे। घरमुली आमाको खुट्टा भाँचिएको रहेछ गाउँका अरु सामान्य घाइते। अर्कोतिर घाइतेलाई। रुवाबासी चलिरहेको थियो।

उनलाई नजिकै एउटा घरभित्रै भेटिएका एउटा डसना ओछ्याएर अलिपर राखियो। ‘शरीर चलमल गर्न नसक्ने अवस्थामा थियो’,उनले सम्झिए, ‘शरीर नै लठ्ठीजस्तो सोझो भा'थ्यो। सुत्न मात्र मिल्ने। हलचल गर्न नसक्ने अवस्था थियो।’ केहीबेरमा विराटनगरमा रहेका कान्छा छोराले फोन गरेछन्। काठमाडौंमा रहेका छोराबुहारीको चिन्ता पनि गरेनन्, उनले। सोचे काठमाडौंका पक्की घर त के भयो होला र! घरमा रहेकी श्रीमती दिनभर खेतबारीमा रहने हुनाले त्यति चिन्ता लागेन।

मुढोजस्तो सुताइएको थियो। शरीरका अंगअंग एकतमासले दुखिरहेको थियो। मुटुको धड्कन बढेको थियो। त्यस गाउँमा भूकम्पमा परेर बाँचेकामध्ये उनी नै बढी गम्भीर देखिए। 'अब बाँचियो' भन्ने सोचिरहँदा उद्धारकर्ताहरूले भनेको सुने, ‘यी बाहुन पनि कतिखेर जान्छन् है! तिनै मान्छे बाटोमा भेटिँदा अहिले पनि जिस्काउँछन्, ‘उति नै बेला गइसके भनेका बाहुन अझै हिँड्दैछन्।'

खरो भइरहेको थियो। पानी मागे। तर निलेनन्। सोचे, मुटुको धड्कन यसरी बढिरहेको बेला निल्नु हुँदैन। मुखमा हाल्दै कुल्ला गर्दै फ्याँके। कम्तीमा ओठ भिजाउँदा पनि राहत भयो। डेढ घण्टापछि बल्ल घरमुलीकै साइँला छोराको गाडीमा राखेर उनीलगायत पाँच जनालाई धुलिखेल अस्पताल लगियो। रातभरि त्यही बसे। अस्पतालमा पनि कम कोलाहल थिएन। आफूभन्दा गम्भीर घाइतेहरू। मन बुझाउँथे। धुलिखेल अस्पतालमा अस्तव्यस्त अवस्था देखेपछि भोलिपल्ट काठमाडौं चाबहिलस्थित ओम् अस्पताल आइपुगे। त्यहाँ पुगेर थाहा भयो, ढाडको नवौं र दशौं हाड भाँचिएको रहेछ। कपनस्थित जेठो छोराको घरमा बसेर उपचार गराए। उठ्न त परै जाओस्, उत्तानोसमेत सुत्न नहुने कयौं दिनको कष्ट भोगे। 

‘सरकारले निःशुल्क दिने भनेको उपचार के हो, के हो’, उनले भने, ‘कुरेर बसेको भए अपाङ्ग पो भइन्थ्यो कि?’ यत्रो वर्ष प्रधानाध्यापक भएर बसेको विद्यालयको सम्झना आउँथ्यो। शरीर ओछ्यानमा रहिरहँदा मन भने दौडेर स्कुलकै कार्यालय, कक्षाकोठातिर पुग्थ्यो। यसरी दुई महिना बितेपछि कम्तीमा ‘बेल्ट’ बाँधेर उभिन र लठ्ठीको सहाराले हिँड्न सक्ने भए। 

त्यसपछि के बस्थे, उनी काठमाडौं। असारमा स्कुल फर्किए। स्कुलमा देख्नेहरू छक्क पर्थे, तपाइँ त अरु दुई जनासँगै बित्नुभयो भन्ने सुनेका थियौं।’ आफ्ना गाउँका सात जना बिते भन्ने सुनेका थिए। त्यहाँ पुगेपछि घरका भग्नावशेष देखे, आफन्त गुमाएका मानिसहरू भेटे, अंगभंग भएर बस्नुको पीडा टाढैबाट अनुभव गरे।

अब त्यो घटना उक्काउन नपरे हुन्थ्यो भन्ठान्छन्, मेघनाथ। आफूलाई सघाउन सँगै लिएर अाएका होनाहार मान्छे आफ्नैसामु बितेको सम्झिँदा उनलाई असीम पीडा हुन्छ रे! हरिराम त्यस्तै ४४\४५ वर्षका थिए’, उनकी श्रीमती तीन छोरा र एक छोरीलाई देख्दा अझै भक्कानो छुट्छ।’

धुसिनीस्थित जनसुधार निवामिमा २६ वर्ष पढाए मेघनाथले। विषय स्वास्थ्य शिक्षा भए पनि प्रधानाध्यापक भएकाले उनले सबैजसो विषय पढाए। अंग्रेजी, गणितदेखि नेपालीसम्म। प्रधानाध्यापक भएपछि विद्यालय व्यवस्थापनको काम त गर्नुपर्यो नै।

‘कति गर्नु दुःख?’ सात वर्ष बाँकी छँदै एक वर्षअघि उनले विद्यालय छोडे। शरीरका कारण दौडधूप गर्न पनि अप्ठ्यारै थियो। ‘अर्को कुरा पद ओगटेर बस्न मन लागेन’, उनले भने, ‘नयाँ पुस्तालाई पनि अवसर दिनुपर्यो नि!’

अढाइ दशकभन्दा बढी शिक्षण पेशा अपनाएर सामाजिक कार्यमा सहभागी हुँदा पनि भूकम्पपीडितका नाममा आउने सरकारी सेवा सुविधाबाट वञ्चित गराएको गुनासो गर्छन्, उनी। ‘काठमाडौंमा हुँदै नभएको घर छ भनेर राहतबाट बञ्चित गराइयो,’उनले भने। मेघनाथ अचेल काठमाडौंमै बस्छन्। गाउँमा जस्ताको छाप्रो हालेका छन्, गएका बेला बस्न हुन्छ भनेर।

त्यो घटनाको चार महिनापछि भदौमा सिपापोखरे दुलालडाँडा पुगे। एक्लै जान डर लागेको थियो। साथी लिएर गए। लठ्ठी टेकेर त्यहाँ पुगे। भग्नावशेषका थुप्रा हटिसकेका थिएनन्। सापकोटाहरू एउटा ठूलो पाटोमा जस्ताको टहरा हालेर बसेका थिए। गराइदिनुपर्ने काम गराइदिए। आफू पुरिएको ठाउँ फर्किएर हेर्न सकेनन्। मनमा एक किसिमको डर लागिपरहेको थियाे। एक वर्षपछि बर्खान्तमा जाँदा ठाउँ फेरिइसकेको थियो। घटना पुरानो भइसकेको थियो।

मेघनाथ अहिले पनि बेलाबेला दुलालडाँडा पुगिरहन्छन्। घर भत्किएको ठाउँमा पुगेर ठक्क अडिन्छन्। ०७२ वैशाख १२ को दिन सम्झिछन् र मनमनै भन्छन्, ‘म मरेर बाँचेको ठाउँ हगि यो!’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.