|

  • नवीन ढकाल-

इलाम  :  इलाममा चियाको पहिलो टिपाई (फस्ट फ्लस) को प्रशोधन सुरु भएको छ। पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच जमाउनका लागि समेत छिट्टै टिपेर प्रशोधन थालिएको हो। यसवर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ । अघिल्लो वर्ष चैत अन्तिमबाट मात्रै पत्ती टिपाई सुरु भए पनि यो वर्ष चैतको दोस्रो साताबाटै मुना चिया टिपाई सुरु भएपछि प्रशोधनको काम चाडै सुरु भएको हो।

उत्पादनको पहिलो सिजनको चिया गुणस्तरको हिसाबले राम्रो मानिन्छ। उत्पादन कम भए पनि फस्ट फ्लस चियाको मूल्य उच्च हुन्छ। पहिलो टिपाई जति छिटो बजारमा पुर्‍याउन सक्यो उति त्यसपछिको बजारमा सहयोग मिल्ने भएकाले कारखानाले थोरै हरियो पत्ती भए पनि प्रशोधन गर्ने  गरेका छन्। पहिलो बजार जसले गुणस्तरीय चिया पहिला पुर्‍याउँछ उसको चिया बजारमा राम्रो हुन्छ’ साँखेजुङ ग्रिन हिल चिया प्रशोधनका प्रबन्धक टंक दाहाल बताउँछन्। पहिलो उत्पादन बजारमा पुर्‍यान सकिए फाइदा हुन्छ उनले भने।

भारतको प्रमाणीकरण सिएफएल को मारमा नेपाली चिया

भारत दार्जिलिङका कारखानाको उत्पादन नेपालको भन्दा कम गुणस्तरको भए पनि चाँडै उत्पादन बजारमा पुर्‍याउँदा फाइदा लिने गरेपछि त्यसको प्रत्यक्ष असर नेपाली चियामा पर्ने गरेको छ। त्यसको मारमा नेपाली चिया पर्ने गरेको छ। नेपाली चियाको सबैभन्दा ठूलो बजार पश्चिम बंगालको कोलकता हो।

भारतको चिया कोलकता अक्सन मार्केटमा छिट्टै पुग्ने हुँदा नेपाली चिया पछाडि पर्ने गरेको गरेको चिया व्यवसायीहरुको गुनासो छ। ‘यहाँ कृषकस्तरबाट पत्ति खरिद गर्नुपर्छ तर सीमापारि बगान र कारखाना एकै जनाको स्वामित्वमा हुने गरेको छ।

अहिले आएर भारतले चियामा पनि सिएफएल प्रणालीको लागू गरेपछि नेपाली चिया झन् मारमा परेको छ। नेपाली चिया एकपटक सिएफएल (सेन्टर फुड लेब्रेटोरी) प्रमाणित गर्न ६८ हजार भारतीय रुपयाँ लाग्ने र मासिक नवीकरणको १८ हजार भारतीय रुपयाँ लाग्ने गरेको छ। यसरी सिएफएल प्रमाणित गरेपछि पनि चिया एउटा वायरलाई मात्र बेच्न पाइने र अर्को वायरलाई बिक्री गर्नका लागि फेरि अर्को सिएफएल प्रमाणित गर्नुपर्ने झमेलाले गर्दा नेपाली चियाको बजारमा समस्या आएको हो।

नेपाल सरकारको खाद्य विभागले गरेको प्रमाणितलाई भारत सरकारले मान्यता नदिँदा नेपाली चिया भारत बिक्रीमा समस्या छ। नेपालबाट तेस्रो मुलुकमा चिया निकासी गर्न भने समस्या नभएको तर, नेपाली चियाको ७० प्रतिशत बजार भारत भएकाले यो समस्या देखा परेको हो। कारखानाले प्रशोधन थाले पनि मूल्य भने तोकेका छैनन्। गएको वर्ष चिया कृषकका लागि उत्साहजनक नरहे पनि यसवर्ष आशावादी छन्।

अघिल्लो बर्ष शुरुदेखि सबै कारखानाले कम मूल्य दिएको कृषकको गुनासो थियो । यो पटक मूल्यमा सुधार नआए खेती थेग्नै समस्या हुने कृषक बताउँछन्।भारतीय बजारमा निर्भर चियाले राम्रो बजार नपाएको कारखाना पक्षको भनाइ छ।

अर्थोडक्स चिया उत्पादनका लागि अगाडि रहेको यो जिल्लाका कृषकले वार्षिक ४० लाख किलो तयारी चिया उत्पादन गर्ने गरेको चिया तथा कफी विकास बोर्डको तथ्यांक छ। इलाम जिल्लामा २४ वटा ठूला र ४२ वटा साना चिया कारखाना सञ्चालित छन्। यहाँका करिब १० हजारभन्दा बढी कृषकले कारखानालाई चियापत्ती बिक्री गर्दै आइरहेको छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • यो ब्यपार गर्ने इच्छ छ मलाई मन छ।