|

तराई-मधेसकेन्द्रित पार्टीका नेताहरूले एकता गरे। आफ्नो पुरानो मधेसी मोर्चालाई तिनले एउटा नयाँ पार्टीमा समाहित गरे। सार र रूप दुवैमा यो उल्लेख्य परिवर्तन हो। पहिले तिनीहरू आफूलाई मधेसका मसिहा ठान्थे। सबै मसिहा मिलेर आपसी सहमतिमा तिनले आफ्नो समग्र परिचय नै फेरिदिए। अहिले तिनीहरू नेपाली परिचयमा समाहित भएका छन्। 

राष्ट्रिय जनता दल वा राष्ट्रिय जनता पार्टी जे भने पनि त्यसले सिङ्गो मुलुकलाई वेष्ठित गर्छ। यसका लागि महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारीलगायतका नेताहरू धन्यवादका पात्र हुनुहुन्छ। नाममा पलाएको नेपाली नाम, उहाँहरूको मनमा पनि पलाओस्, अहिलेलाई यत्ति शुभकामना!

अझै पनि बन्दुकलाई मुक्तिको औजार मान्ने बाँकीटाँकी हिंसाप्रेमीहरूका लागि यो एउटा शिक्षाको विषय भएको छ। सङ्गठन भएकाहरूलाई बन्दुके चेतनाले यति हुर्मतहारा बनायो भने अब आरम्भमै बन्दुके आन्दोलन चलाउँछु भन्नेहरूले अहिले नै हिंसाको बाटो त्याग्नु राम्रो हुन्छ। नेपालमा हिंसात्मक आन्दोलन अब इतिहास भयो।

मान्छेको मनभन्दा फरक हुन्छ राजनीतिको धरातलीय यथार्थ। नेपाललाई बहुराष्ट्रिय चरित्रको मान्ने तराईका नेताहरूले ढिलै भए पनि स्वीकार गर्नुभयो- राष्ट्र एउटै हो। त्यसमा फुल्ने फूलका थुँगाहरू फरक रङ रूप मात्र होइन, फरक फरक अनुहारका पनि छन्। तर हाम्रो राष्ट्र एउटै हिमाल, पहाड, मधेसको सम्मिश्रण।

धेरै टिप्पणीकारले तीन प्रतिशतको रोकथामले यस्तो भएको हो, तीन प्रतिशतको थ्रेसहोल्ड राखिन्न थियो भने यसरी मधेसकेन्द्रित नेता र दल एक ठाउँमा उभिने थिएनन् भनेका छन्। त्यो पनि होला एउटा कारण। तर त्यसभन्दा ठूलो कारण हो- हिंसाप्रति नेपाली नागरिकको अरूचि र त्यसका बारेमा पुराना स्वयम्भू मधेसी नेताहरूको स्वीकारोक्ति। माओवादी हिंसामा सत्र हजार मारिए। परिणाम के भयो? उही निराशा, विनाश र सामाजिक अपराध।

माओवादी शहीदकै परिवारले पनि केही पाएनन्। मधेसी हिंसामा पनि छ सयजति त मारिए होलान्। तर मधेसी जनताले त्यो हिंसाबाट कुनै राम्रो प्रतिफल पाएनन्। हिजोका आफूलाई मधेसको मसिहा मान्ने नेताहरूले समयमै आफ्नो गल्ती महसुुस गरेका हुन् भनेर अहिले निष्कर्ष निकाल्ने समय आएको छ।

नेपालमा राजनीति गर्नेहरूका लागि यो सबैभन्दा ठूलो शिक्षा हो। त्यस्ता मारकाटले एउटा निश्चित समयसम्म प्रभाव त छोड्ला तर निष्कर्षमा राजनीतिक हिंसाले, आयोजक, देश र जनताका लागि विनाशको उपहार लिएर आउँछ। अझै पनि बन्दुकलाई मुक्तिको औजार मान्ने बाँकीटाँकी हिंसाप्रेमीहरूका लागि यो एउटा शिक्षाको विषय भएको छ। सङ्गठन भएकाहरूलाई बन्दुके चेतनाले यति हुर्मतहारा बनायो भने अब आरम्भमै बन्दुके आन्दोलन चलाउँछु भन्नेहरूले अहिले नै हिंसाको बाटो त्याग्नु राम्रो हुन्छ। नेपालमा हिंसात्मक आन्दोलन अब इतिहास भयो।

यो परिवर्तनले दिएको दोस्रो राजनीतिक शिक्षा भनेको जातीय राजनीतिको पराजय हो। स्वयम्भू मधेसी नेताले मधेसी मात्रको नाममा के गरेनन्? पहाडे खेदो आन्दोलन गरे, जातको राजनीतिलाई सामान्य पहाडे मूलका मधेसी मात्र होइन, सरकारी कर्मचारी, प्रहरीलाई समेत निर्ममतापूर्वक मारे। तर त्यो जातीय मारकाटको परिणाम? शून्य। 

मधेस आन्दोलनभन्दा अगाडि अत्यन्तै उन्मादी ढङ्गले माओवादीले नेपाललाई जात–जातका भुरेटाकुरे राज्यमा विभाजन गरेको थियो। तर अन्तिम निष्कर्षमा त्यो उन्माद पराजित भयो र अहिलेसम्म नेपाल एकीकृत नै रह्यो। भविष्यको प्रदेशको संरचना पनि अहिले बनिसकेको छ। २ नम्बर प्रदेशबाहेक सबै प्रदेशको संरचना मिनी नेपाल नै भएको छ। २ नम्बर प्रदेशको संरचनाको विरोध आरम्भमा मधेसी गणतान्त्रिक फोरमका अध्यक्षले गर्नुभएको थियो। अब उहाँ के गर्नुहुन्छ, अहिले केही भन्न सकिन्न।

अहिले पनि जातीय राज्यको धङ्धङी बाँकी छ। त्यसलाई पनि सरोकारवाला पक्षले बेलैमा आत्मसात गर्नु राम्रो हुन्छ। अहिले पनि लिम्बुवान, खम्बुवान, ताम्सालिङ, तमुवान प्रदेशको परिकल्पना गर्नेहरू घरिघरि सल्बलाई रहेका छन्। यो असंभव परिकल्पना मात्र हो वर्तमान नेपालका लागि।

बलात् परिवर्तनले कहीँ पनि सामाजिक रूपान्तरणलाई सहजता प्रदान गरेको छैन। महान् परिवर्तन भनिएको बोल्सेभिक क्रान्ति, चीनको नौलो जनवादी क्रान्तिका परिणाम हामीले देखिसकेका छौँ।

मुलुक सङ्घीयतामा गैसकेपछि सङ्घीयता गाउँ राज्यतिर झर्‍यो, यी ‘वान’हरू व्यवहारमा आउन सक्लान्। तर सङ्घीयताको नाममा जनताका अधिकार कटौती गरेर प्रदेशमा खुम्च्याउने, सामन्ती चेत भएका बुढा नेताहरूले जस्तो प्रयत्न गरिरहेका छन्, त्यस्ता नेताले देश चलाउञ्जेल मुलुकमा सङ्घीयताको व्यवहारको कल्पनासमेत गर्न सकिँदैन। जहिलेसम्म वास्तविक सङ्घीयताको व्यवहार गर्न सकिँदैन, तबसम्म मुलुक एकीकृत नेपाल नै रहिरहनेछ। बाह्र÷पन्ध्र जना नेताले पौने तीन करोड नेपालीको भाग्यको फैसला गरिरहनेछन्।

अब मधेसी मोर्चा छ कि छैन? अहिले त्यो मोर्चा छैन। पुरानो मोर्चाका नेताहरूले मधेसी मोर्चालाई त्यागेर राष्ट्रिय जनता पार्टी गठन गरेका हुन्। उनीहरूले पार्टीको नाम पछाडि मधेसजनित कुनै पुच्छर पनि जोडेका छैनन्। तर नेपालका सरकारी र अधिकांश निजी संचारले मधेसी नेताले मोर्चा समाप्त गरेर राष्ट्रिय जनता पार्टी सञ्चालन गरेको सत्यलाई आत्मसात गर्न सकेका छैनन्। राष्ट्रिय जनता पार्टी बनिसकेपछि पनि मोर्चा, गठबन्धन जस्तो संबोधन हामीले पढिरहनुपर्‍यो।

बलात् परिवर्तनले कहीँ पनि सामाजिक रूपान्तरणलाई सहजता प्रदान गरेको छैन। महान् परिवर्तन भनिएको बोल्सेभिक क्रान्ति, चीनको नौलो जनवादी क्रान्तिका परिणाम हामीले देखिसकेका छौँ। बोल्सेभिक क्रान्तिले ल्याएको सोभियत समाजवाद ध्वस्त भैसकेको छ भने चीनको नयाँ जनवादी क्रान्तिले पनि साँस्कृतिक क्रान्तिको विनाशकारी दश वर्ष पार गरिसकेपछि अर्थतन्त्र पुनर्निर्माण गरेको छ। पूर्वी युरोपका समाजवादी मुलुकहरू ध्वस्त हुनुका पछिल्तिर यही बलात् परिवर्तन जिम्मेवार छ।

विश्व पूँजीवाद झनझन् स्वार्थी, उन्मादी र युद्धपिपासु भैरहेको वर्तमानमा पनि हामीले आफ्नो इतिहासलाई सुरक्षित राख्नुपर्छ। संरक्षित गर्नुपर्छ। अघिल्ला दुइटै विश्वयुद्धमा हामीले दिएका छौँ। हामीले कसैबाट केही लिएका छैनौँ। अहिले फेरि विश्वयुद्धको सन्त्रास फैलाउने काम भइरहेको छ।

अमेरिका यसपालिको विश्वयुद्धको मूलस्रोत हुने पक्कै छ। दोस्रो विश्वयुद्धपछि त्यसले जताततै गर्ने गरेको हस्तक्षेपको उत्कर्ष थियो- अफगानिस्थानमाथिको आक्रमण। त्यसपछि मध्यपूर्व र उत्तर अफ्रिकाका राज्यहरूमाथिको हस्तक्षेपले अमेरिकाको युद्धप्रियता छ्याङ्ग भएको छ। दक्षिण अमेरिका, खास गरेर वामपन्थी सरकार भएका मुलुकहरूमाथिको हस्तक्षेप अनि पछिल्लो समयमा उत्तर कोरियासँग भइरहेको द्वन्द्वले एउटा भयावह बिस्फोटक अवस्था उत्पन्न भएको छ। 

तर त्यही पूँजीवाद बेहोरेर आएका केही मुलुकहरू सबैभन्दा पहिले समाजवादी मार्गमा हिँडेको दृश्य देख्न पाइन्छ कि! युद्ध वा क्रान्ति, सधैँका लागि पराजित भएर जान्छन् कि!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.