विचार

आमा बन्नु महिलाका लागि ठूलो सौभाग्य : बच्चा सर्वोत्तम सिर्जना
SHARES

बैशाख १३, २०७४

    प्राकृतिक नियमका सवालमा हरेक प्राणीको प्रमुख दायित्व भनेको बच्चा जन्माएर आफ्नो वंशको निरन्तरता गर्नु हो। पोथीको प्राकृतिक दायित्व भनेको बच्चालाई गर्भमा विकास गरेर जन्म दिनु र बच्चाको रेखदेख गर्नु हो। भालेको प्राकृतिक दायित्व भनेको, बच्चालाई हुर्काउनुमा पोथीको सहायक हुनु हो। बच्चा र आमाका लागि खानाको व्यवस्था र सुरक्षाको व्यवस्था गरिदिनु हो। पोथी र भालेको, शारीरिक संरचना र मानसिक विकासमा देखिने भिन्नता बच्चालाई जन्माउँदा र हुर्काउँदा गर्नुपर्ने दायित्वको अनुकूल भएको हुन्छ। मानिसको सन्दर्भमा पनि यही नियम लागू हुन्छ। महिला र पुरुष शारीरिक र मानसिक रूपमा फरक हुनुसँगै उनीहरूको फरक प्राकृतिक दायित्व पनि छ।

    महिलालाई नौ महिनासम्म बच्चा पेटमा राख्नु, बच्चा जन्माउनु र नवजात शिशुको स्याहार सुसार गर्नु, शरीरिक रूपमा उनको शरीर कोमल हुनु जरुरी छ। त्यस्तै मानसिकस्तरमा, उनमा पीडा सहने क्षमता चाहिन्छ। माया ममता दिन सक्ने कोमल मन चाहिन्छ। गर्भाधारणको अवस्थादेखि बच्चा जन्माउने र हुर्काउनुसम्ममा निक्कै नै लामो प्रक्रिया हुन्छ। तसर्थ महिलाहरू मानसिक रूपमा धैर्यवान् हुनु जरुरी छ। तर पुरुषको सवालमा उसले गर्नुपर्ने प्राकृतिक दायित्व भनेको खानाको व्यवस्था र सुरक्षा नै हो। 

    मस्तिष्कलाई प्रशिक्षण गर्ने सन्दर्भमा विद्यालय खोलिए। विश्वविद्यालय खोलिए अनि पुरुष सँगसँगै महिलालाई पनि विज्ञान पढाउन थालियो। हिसाब पढाउन थालियो। अर्थतन्त्र पढाउन थालियो। राजनीतिशास्त्र पढाउन थालियो। बिस्तारै विश्व एउटा यस्तो समाजमा परिणत हुँदै छ, जहाँ सबै पुरुष हुनेछन्।

    आधुनिक सभ्यता सुरु हुनुभन्दा अगाडि पुरुषले खानाको व्यवस्था र सुरक्षाको दायित्व पूरा गर्ने क्रममा बच्चालाई र आमालाई अन्य जंगली जनावरको आक्रमणबाट बचाउनु र तिनीहरूका लागि सिकार गरेर खानाको व्यवस्था गरिदिनुपर्ने हुन्थ्यो। यसकारण शरीरिक रूपमा महिलाभन्दा पुरुष बलियो र मानसिक रूपमा हिंस्रक र प्रतिस्पर्धी हुन्छ। 

    प्राकृतिक रूपमा पुरुष र महिलाबीच शरीरिकभन्दा मानसिक भिन्नता बढी हुन्छ। पुरुष मस्तिष्कप्रधान हुन्छ। विचारप्रधान हुन्छ। तर महिला हृदयप्रधान हुन्छे। तसर्थ महिला र पुरुषको विकास फरक ढङ्गले गर्नु जरुरी हुन्छ। बिस्तारै समय, कालखण्डमा मानव सभ्यताले महिलाका गुणलाई गौण मान्दै गयो। ममता, प्रेम, करुणा, धैर्य जस्ता भावपरक नारीसुलभ गुणलाई कम महत्त्व दिँदै गयो। त्यसको विपरीत पुरुषका गुणलाई निक्कै नै महत्त्व दिन थालियो। 

    विचारलाई संसारको सबैभन्दा महत्वको विषय बनाउन थालियो। मस्तिष्कलाई प्रशिक्षण गर्ने सन्दर्भमा विद्यालय खोलिए। विश्वविद्यालय खोलिए अनि पुरुष सँगसँगै महिलालाई पनि विज्ञान पढाउन थालियो। हिसाब पढाउन थालियो। अर्थतन्त्र पढाउन थालियो। राजनीतिशास्त्र पढाउन थालियो। बिस्तारै विश्व एउटा यस्तो समाजमा परिणत हुँदै छ, जहाँ सबै पुरुष हुनेछन्। महिलाहरू जन्मँदा त महिला नै हुन्छन् तर समयक्रमले तिनीहरूलाई दोस्रो दर्जाका पुरुष बनाउनेछन्। त्यसको प्रभाव स्वरूप महिलाहरू वैज्ञानिक, डाक्टर, इन्जिनियर, लेखिका, राजनीतिज्ञ इत्यादि भए। तर महिलालाई यसरी पुरुष जस्तै मस्तिष्कप्रधान बनाउँदा अनगिन्ती समस्याहरू आइपर्छन्। त्यस्ता समस्याका बारे आज पनि मानव समाज बेखबर छ।

    पहिलो परिणाम भनेको समाज क्रमशः दिनदिनै हिंस्रक र अशान्त बन्दै जानेछ। महिलामा हुने गरेका नारी गुणहरू माया, प्रेम, करुणा, सद्भाव जस्ता कुराले संसारमा भएका द्वन्द्वहरूलाई घटाउने काम गर्छ। नारी गुणका अभावमा समाज अझै हिंस्रक र अशान्त बन्दै जाने निश्चित छ। 

    महिलाहरूको एउटै जीवनमा दुई जुनी हुन्छ। एक, जब ऊ जन्मन्छे र अर्को जब उसले जन्म दिन्छे। चाहे त्यो क्रिश्चियन, मुस्लिम वा हिन्दु होस्, विश्वका अधिकांश धर्मग्रन्धहरूले महिला तब मात्र पूर्ण हुन्छे, जब ऊ आमा बन्छिन् भनेका छन्। धर्मलाई बिर्सिएका मस्तिष्कप्रधान मानिसहरूको ठूलै जमातले धर्मगन्थ्रका यस्ता महत्त्वका विषयलाई पनि नारीमाथिको शोषणका रूपमा बुझेका छन्। तिनीहरूको मत छ– के महिलाहरू बच्चा जन्माउनका लागि मात्रै हुन् त? तिनीहरू भन्छन्, धर्मग्रन्थहरूमा महिलाले बच्चा जन्माउने सन्दर्भमा यस्तो महत्त्व दिइरहनुको खासै औचित्य छैन। तर आमा बन्नु महिलाका लागि ठूलो सौभाग्य हो।

    अध्यात्मिक उपलब्धिका सन्दर्भमा, जीवनलाई परमआनन्दमय बनाउने सन्दर्भमा, आमा बन्ने प्रक्रिया एक स्वाभाविक एवं प्राकृतिक प्रक्रिया हो। जब बच्चा गर्भमा हुन्छ, आमा र बच्चाबीच एक प्रकारको आत्मिक सम्बन्ध स्थापित हुन्छ। आमाले खाँदा बच्चाले पोषण पाउँछ। आमाले फेरेको श्वासले बच्चामा प्राण भर्छ। त्यस बखत आमा र बच्चा भौतिकस्तरसम्म सीमित नभई आत्माको स्तरसम्म  एकाकार भएका हुन्छन्। आमामा एक प्रकारको भाव आउँछ कि त्यो बच्चा र उनी एकै हुन्। आफ्नै शरीरभित्र भएको अस्तित्व कसरी अर्कै मानिस हुनसक्छ? 

    अध्यात्मिक उपलब्धिका सन्दर्भमा मनोवैज्ञानिक तवरमा केन्द्र स्वयंबाट अर्कोमा सर्नु जरुरी छ। अहं अर्थात ‘म’ भावको अन्त्यको सुरुवात त्यहीँबाट हुन्छ। आमाको सन्दर्भमा मनोवैज्ञानिक केन्द्र स्वयंबाट बाच्चामा सहज रूपमा सर्छ। स्यमंबाट मनोवैज्ञानिक केन्द्र अर्कोमा सर्न अत्यन्त मुस्किल छ, जबकि तुलनात्मक रूपमा अर्को व्यक्ति मनोवैज्ञानिक केन्द्रमा भएको अवस्थामा केन्द्र अन्य कोहीमा परिवर्तन हुन त्यति असहज छैन। मनोवैज्ञानिक तवरमा आफैँलाई केन्द्रमा राख्नु अहं हो। अनि मनोवैज्ञानिक तवरमा  कुनै अर्को व्यक्तिलाई केन्द्रमा राख्नु प्रेम हो। अहं प्रेममा रूपान्तरित हुन कठिन छ, तर साँचो प्रेम सहजै करुणामा रूपान्तरित हुन्छ। करुणाको अवस्थामा हामी आफूलाई मनोवैज्ञानिक केन्द्रमा नराखी सारा जगतलाई केन्द्रमा राख्छौँ। यदि कुनै महिला मतृत्वको स्तरमा बच्चासँग एकाकार हुन सक्छिन् भने उनी सम्पूर्ण अस्तित्वसँग एकाकार हुन सक्छिन्।

    विशेषगरी बच्चा, श्रीमान् र श्रीमतीको सम्बन्धको उपउत्पत्ति ( बाईप्रडक्ट) हो। अथवा वंश सञ्चालनका सन्दर्भमा बच्चा जन्माइएको हुन्छ। आमा बन्ने कर्मलाई कुनै स्वार्थ नराखी प्रेमभावले जन्माएको बच्चाले जन्मँदै धेरै कुरा लिएर आएको हुन्छ। आममानिसका लागि अध्यात्मिक रूपान्तरणका सन्दर्भमा केही विधिको आवश्यकता पर्छ। तर यस्ता भाग्यमानी बच्चामा स्वाभाविक रूपान्तरण सम्भव छ। उसको सन्दर्भमा परिवर्तनका लागि कुनै ध्यान विधिको आवश्यकता छैन।

    त्यस्तै एक महिलामा आएको परिवर्तनले उनी सिंगै परिवारको परिवर्तनको बाहक बन्न सक्छिन्। यस्ता परिवार समाजको परिवर्तनको बाहक बन्न सक्छन्। सिंगै विश्वलाई शान्त र आनन्दमय बनाउने सन्दर्भमा पुरुषमा होइन, महिलाको नारीसुलभ गुणको विकासमा जोड दिनुपर्छ। संसारलाई प्रेममय, करुणामय, आनन्ददायी, शान्त भूमि बनाउनु छ भने पुरुषको तुलनामा स्वभावतः महिलामाथि गरिएको लगानी धेरै धेरै लाभपरक हुन्छ। 

    आज समाज यो विघ्न मस्तिष्कप्रधान छ कि महिलाले बच्चा जन्माउने स्वाभाविक अवसरलाई रूपान्तरणको निम्ति प्रयोग गर्नै सकेको छैन। प्रथमतः आमा बन्नु अगावै महिलालाई सानैदेखि दोस्रो दर्जाका पुरुष बनाइएको छ। हामी कुनै पनि कुरालाई रूपान्तरणको माध्यम बनाउँछौँ भने त्यो प्रक्रियामा हाम्रो श्रद्धा हुनुपर्छ। विश्वास हुनुपर्छ। हामी सम्पूर्ण रूपमा सम्वद्ध प्रक्रियाका लागि तयार हुनुपर्दछ। तर महिलाहरूलाई बच्चा जन्माउने प्रक्रिया अध्यात्मिक विकासको स्वाभाविक अवसर हो भन्ने ज्ञानै छैन। रूपान्तरणका लागि ऊ स्वयं पनि तयार हुनुपर्छ भन्ने कुराका बारेमा पनि महिलालाई थाहा छैन। 

    वर्तमान समयमा बच्चा जन्मनु केवल यौन प्रक्रियाको उपउत्पत्ति हो। बच्चाहरू निश्चित तयारीविनै जन्मिरहेका छन्। तयारीविना गर्भाधारण गरेको सन्दर्भमा कुनै पनि महिलाले बच्चा जन्माउने प्रक्रियामा सम्पूर्ण रूपमा समाहित हुनै सक्दैनन्। आज अभिभावकलाई बच्चा केवल वंश धान्न चाहिएको छ। सम्पत्तिको रखवारी गर्न चाहिएको छ। बुढेसकालमा पाल्छ भन्ने आशमा बच्चाहरू जन्माइएका छन्। स्वार्थवस गरिएको कुनै पनि कुरा मुक्तिको उपाय हुनै सक्दैन। अध्यात्मिक उपलब्धिको सहयोगी हुन सक्दैन। तर दुर्भाग्य, आज मानव जगत यसभन्दा पनि असहज अवस्थामा पुग्दै छ। 

    संसारका कतिपय मुलुकहरूमा महिलाले आमा बन्न चाहेका छैनन्। यसरी संसारलाई शान्त र आनन्दित बनाउने एउटा प्रकृतिक अवसरलाई क्रमशः कमजोर पारिँदै छ। 

    आमा बन्ने प्रक्रिया महिलाको रूपान्तरणका सन्दर्भमा स्वाभाविक प्रक्रिया त हुँदै हो, तर यसको महत्त्व अझ बढी यस मानेमा पनि छ कि आजसम्म आइपुग्दा मनको रूपान्तरणका लागि चर्चा गरिएका ध्यानका विधिहरू विशेषतः पुरुषका लागि उपयोगी छन्। निर्वाण प्राप्त गरेका पुरुषहरूले रूपान्तरणका सन्दर्भमा आफूले प्रयोग गरेका ध्यानका विधिहरूको चर्चा गरेका छन्, जुन विशेषगरी पुरुषका लागि हुन्। अध्यात्मका विधिहरू भनेका मनको विलय गराउने विधि हुन्।

    महिला र पुरुषको मन विपरीत भएको सन्दर्भमा मनलाई विलय गराउने विधिहरू पनि फरक फरक हुनु आवश्यक छ। महिलाका लागि मात्रै हुने ध्यान विधिहरू निकै नै कम छन्। एकाध औँलामा गन्न सकिने मात्रै छन्। तर केही ध्यान विधिचाहिँ दुवैका लागि उपयोगी छन्। तर दुवै लिङ्गीका लागि उपयोगी ध्यान विधि महिलाका लागि मात्रै उपयोग हुने ध्यान विधिजत्तिको प्रभावकारी हँुदैन। यसकारण पनि महिलाहरूका रूपान्तरणका लागि आमा बन्ने प्रक्रियाको उपयोगिता र महत्त्वलाई व्यापक बनाउन जरुरी छ।

    आज अमेरिकामा स्वेच्छिक रूपमा ५० प्रतिशत महिलाले बच्चा जन्माउन मानेका छैनन्। सन् २०१० सम्म पाँचमध्ये एक महिलाले बच्चा जन्माउन नचाहेकोमा आजसम्म आइपुग्दा केही वर्षमै बच्चा जन्माउन नचाहने महिलाको सङ्ख्या यो गतिमा बढेको हो। त्यस्तै अष्ट्रेलिया र युरोपका कतिपय मुलुकहरूले पनि यो मामिलामा अमेरिकालाई पछ्याउँदै छन्। 

    स्वेच्छिक रूपमा बच्चा जन्माउन नचाहनेहरूमध्ये कसैले आफन्तका बच्चाहरूमा ममता पोखेका छन्। कसैले बालआश्रम खोलेका छन्। कसैले जनावर पालेर आफूभित्रको ममता पोखेका छन्। यसको अर्थ यति हो, जैविक रूपमा ती महिलाहरू आमा बन्न सक्षम छन्। तिनीहरूमा मातृत्वको कमी पनि छैन। अभाव छ त मनोवैज्ञानिक इच्छाशक्तिको।

    धेरै अध्ययनले बच्चा जन्माउन नचाहनेहरूमा उच्च प्रशासनिक तहमा पुगेका महिलाहरू र लेखिका वा स्रष्टाहरू भएको देखाउँछन्। तिनीहरूले दुईवटा कुरामा छान्ने सन्दर्भमा आमा बन्नुभन्दा पेशागत सफलतालाई महत्त्व दिएका छन्। अनि मानिसलाई जन्म दिनुभन्दा अन्य सृजनात्मक कार्य गर्नमा तिनले महत्त्व देखेका छन्। 
    प्राकृतिक रूपमै नारी जननी हो। उसमा पुरुषको तुलनामा सिर्जना गर्ने क्षमता धेरै हुन्छ। बच्चा जन्माउनु महिलाको श्रेष्ठतम सिर्जना हो। आमा बन्न नसकेका वा नचाहेकाहरूले किताब लेख्ने, चित्र कोर्ने, मूर्ति बनाउने, संगीत सिर्जना गर्ने इत्यादि गरेर आफूभित्र रहेका जननीरूपी ऊर्जालाई सिर्जनामा उतारेका हुन्। तर संसारको कुनै पनि कृति मानिसभन्दा बढी महत्त्वको हुनै सक्दैन। अनि नवजात शिशुलाई एउटा असल मान्छे बनाउनमा लाग्ने लगन र क्षमता कुनै कार्यालयको वर्षौंसम्मको योजना तर्जुमा गर्नुमा खर्च गरिएको भन्दा धेरै हुन्छ।

    अध्ययनहरूले अर्को कुरा पनि उजागर गरेका छन् कि स्वेच्छिक रूपमा बच्चा जन्माउन नचाहनेहरूमध्ये कसैले आफन्तका बच्चाहरूमा ममता पोखेका छन्। कसैले बालआश्रम खोलेका छन्। कसैले जनावर पालेर आफूभित्रको ममता पोखेका छन्। यसको अर्थ यति हो, जैविक रूपमा ती महिलाहरू आमा बन्न सक्षम छन्। तिनीहरूमा मातृत्वको कमी पनि छैन। अभाव छ त मनोवैज्ञानिक इच्छाशक्तिको। तिनीहरूमा नौ महिनासम्म बच्चा गर्भमा राख्ने धैर्यको अभाव छ। बच्चा जन्माउँदा हुने पीडा सहने क्षमताको अभाव छ। बच्चालाई हुर्काउन लाग्ने, समय दिनमा हिच्किचाहट छ। सन्तानलाई सम्पूर्ण रूपमा माया गर्न सक्दिनँ कि भन्ने शंका छ। यी सबै कुराका सन्दर्भमा प्राकृतिले तिनीहरूलाई क्षमता दिँदा कति पनि कन्जुस्याइँ गरेको छैन। अभाव छ त मनोवैज्ञानिक इच्छाशक्तिको। 

    महिलाहरूमा देखिएका यी परिवर्तनका सन्दर्भमा, विश्व मस्तिष्कप्रधान हुनु नै कारण हो। आजको मानव समाजले एउटी राम्री आमालाई महत्त्व दिँदैन। एउटी असल गृहिणीलाई महत्त्व दिँदैन तर एउटा स्रष्टालाई वा अफिसर महिलालाई निकै महत्त्व दिन्छ। समाजले हेर्ने दृष्टिकोणका कारण नै यी महिलाहरू आमा नबनी स्रष्टा बन्न चाहेका हुन्। समय यसरी अगाडि बढिरहँदा अरू पनि डरलाग्दो अवस्थाको सिर्जना हुन सक्छ। मनोवैज्ञानिक रूपमा हामीले आफ्नो बारेमा जे सोच्दछौँ, हामी क्रमशः त्यस्तै बन्दै जान्छौँ। कुनै महिलाले आफूलाई पुरुष जस्तै हुँ भन्ने सोच्न थाल्दछ भने ऊ बलिष्ठ हुँदै जानेछ। उसको शरीरमा पुरुषका समान रौँहरू उम्रँदै जान्छन्। अनुहारमा दाह्री, जुँगा आउन थाल्दछ। त्यति मात्रै होइन, उसको बच्चा जन्माउने क्षमता पनि हराउनेछ।

    कामना गरौँ, त्यस्तो दिन नआओस्, जहाँ अधिकांश महिलाहरू आमा बन्न प्राकृतिक रूपमै अक्षम हुनेछन्। तर आजको पृष्ठभूमिले त्यस्तै समाज निर्माण गर्ने आधारभूमि तयार हुँदैछ।

महेश श्रेष्ठ

लेखक श्रेष्ठ अध्यात्मबारे कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]