|
फोटो : घटनाको निरीक्षण गर्दै

बाँके : डडुवा गाउँपालिका–१ होलियाको कुडुवागाउँमा भएको आगलागीमा परेर एकै घरका तीनजना बालबालिकाको मृत्यु भएको छ। मध्यराती लागेको आगोमा जलेर मुन्सीराम मुराउका २ छोरी र १ छोराको मृत्यु भएको हो।

आगोले जलेर घटनास्थलमा मृत्यु हुनेमा मुन्सीराम मुराउका ६ वर्षीय बालक पवन मुराउ, ८ वर्षीया बालिका राधना मुराउ र १० वर्षीया बालिका सोनी मुराउ रहेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए।
छिमेकी रामदुलारे मुराउको घरबाट सुरु भएको आगो सल्किएपछि भएको घटनामा मुन्सीराम मुराउका १ छोरा र २ छोरीले ज्यान गुमाएका हुन्। आगलागीमा ९ घर र २ गोठ जलेको छ। उक्त घटनामा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीर बहादुर थापाले जानकारी दिए।

आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मीलगायतको सहयोगमा करिब ५ घन्टामा नियन्त्रणमा लिइएको थियो। आगलागीपछि सर्भेका लागि घटनास्थल पुगेको नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको टोलीले नौ घरलाई प्रतिपरिवारलाई १० हजारको प्याकेज गैरखाद्य सामग्री वितरण गरेको सो कार्यालयका प्रल्हाद विश्वकर्माले बताए।

घटना हुँदा मृतक बालबालिकाका बुवा मन्सीराम मुराउ गहुँको रेखदेख गर्न खलियानमा गएका थिए। मृतक बालबालिकाकी आमाको ५ वर्ष अघि नै मृत्यु भइसकेको छ।

छिमेकी रामदुलारे मौर्यले सबै सुतिसकेका बेला आगो लागेका कारण ३ बालबालिकाको उद्दार गर्न नसकेको बताए। बाहिरबाट आएका छिमेकीले आगो लागेको खबर गरेपछि मात्रै आफ्ना नाति सन्दिप मौर्यलाई बाहिर निकाल्न सफल भएको उनले बताए।

आगलागी भएको बेला हावाहुरी चलेको थियो। फुसको घरमा लागेको आगो एकछिनमै दनदन बलेकोले बाहिर सुतेका बालबालिका र अन्नपात तथा लत्ता कपडा बाहिर निकाल्न नसकेको अग्नी पीडित सल्लु मुराउले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.