|

काठमाडौं : पानी झर्ने धारा भएको मुखमा सुन जस्तो पहेँलो धातु टल्कन्छ। तर, त्यहाँबाट पानी नझरेको दशकौँ भइसक्यो। अहिले यो धाराले 'नाम मात्रको सुन्धारा'को उपमा पाएको छ, जसको वर्षौंको साक्षी धरहरा पनि दुई वर्ष पहिले गएको भूकम्पको धक्कामा विलीन भएको छ। त्यही सुन्धाराको छेउमा आजभन्दा ठीक ११ वर्ष पहिले केही युवाहरूले 'शिल्पी थिएटर' लेखेको बोर्ड ठड्याए।

नाटक प्रदर्शनका लागि काठमाडौँमा खाली ठाउँ खोज्दै हिँडेका रंगकर्मी घिमिरे युवराज, कुमार आले, राजन खतिवडा, गंगाप्रसाद तिवारी, महेश श्रेष्ठ, जानु आले, सीतामाया श्रेष्ठ, विजय के.सी., सूची सिंमाको आँखामा पर्‍यो, ढुंगैढुंगा बिच्छ्याएर गोलो बनावट भएको सुन्धारामा, जहाँ पानी थिएन, थियो त फोहोरको थुप्रो मात्र।

शिल्पी थिएटरको ११ वर्षको यात्राको पहिलो पाइलो सम्झँदै घिमिरे युवराजले त्यतिखेर देखेको सुन्धाराको दृश्य सम्झिए, 'झट्ट हेर्दा पुरानो ग्रीक थिएटर जस्तै थियो।'

त्यही ग्रीक थिएटरको झल्को दिने सुन्धाराको खाल्डोलाई सफा गरेर घिमिरे युवराजले लेखेको र राजन खतिवडाको निर्देशन गरेको नाटक 'नयाँ नेपाल'को पहिलो शो मञ्चन भयो। दर्शक पनि राम्रै पायो त्यस नाटकले। शासक आफ्नै कृत्यका कारण सत्ताच्युत हुन्छ भन्ने सन्देश बोकेको नाटकमाथि काठमाडौँ महानगरपालिकाको आँखा लाग्यो। नाटक गर्न रोक लगाइयो। रंगयात्रा सुरु भइसकेको थियो। युवाहरूको जोश जागेको थियो। त्यहाँबाट धपाइएपछि नाटक रिहर्सल गर्ने र प्रदर्शन गर्ने ठाउँ खोज्दै हिँड्ने काम सँगसँगै गर्न थाले उनीहरूले।

ठाउँ खोज्दै वर्ल्ड ट्रेड सेन्टरदेखि बत्तीसपुतलीसम्म

सुन्धाराको खाली ठाउँमा ११ वर्ष पहिले ठड्याइएको शिल्पी थिएटरको बोर्ड अहिले बत्तीसपुतलीमा आफ्नै भवन रहेको रंगमञ्चबाहिर ठड्डिएको छ। २०६३ सालमा सुरु भएको शिल्पीको नाट्य यात्रा बत्तीसपुतली पुग्न अाठ वर्ष लाग्यो, जहाँ २०७० सालमा नेपाली साहित्य र संस्कृतिका मूर्धन्य व्यक्तित्व सत्यमोहन जोशीले पहिलो इटा राखिदिए।

आफ्नै भवन उद्घाटनको त्यो क्षणबारे भन्दा पनि घिमिरे युवराज सुन्धाराको त्यही घटना र नाटक सुरु गर्दाको उद्देश्य सम्झन्छन्, 'सुन्धाराको त्यो खुला ठाउँमा हरेक साँझ नाटक गर्ने मन थियो। काठमाडौँमा यस्तो ठाउँमा नाटक गर्न चाहान्थ्यौँ, जसले हाम्रो संस्कृति झल्काउँथ्यो तर महानगरपालिकाले दिएन।'

‘नयाँ नेपाल’को एक शो मात्र गरेर सुन्धारामा मञ्चन बन्देज लागाइएका घिमिरे युवराजको टिम शिल्पीले खाली ठाउँ खोज्दै जाँदा त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको प्रदर्शनीकक्ष भेट्टाए। वर्ल्ड ट्रेड सेन्टरको डीईसीसी हलमा जगदीश घिमिरेले लेखको नाटक ‘कथान्तर’ मञ्चन भयो। ११ वर्ष नाट्य सिर्जना र प्रदर्शनमा लगाएका रंगकर्मी युवराजले बर्माको यङ्गुन शहरबाट थाहाखबरसँग भने, ‘लगातार सात दिन कथान्तर मञ्चन गर्‍यौँ। त्यतिबेला लगातार एक हप्ता नाटक मञ्चन हुनु धेरै ठूलो उपलब्धि थियो।’ उनले नाटक सुरु गरेको त्यो दिन सम्झिए, ‘वन्तपुरमा जनआन्दोलन सफल भएकोमा  विजय उत्सव चलिरहेको थियो। पानी र हावा हुन्डरी पनि चलेको थियो। त्यसका बाबजुद पनि उल्लेख्य संख्यामा दर्शक आएका थिए।’ उक्त नाटकपछि काठमाडौँमा नियमित नाटक मञ्चन गर्ने गुरुकुलपछिको रंगमञ्च बनेको थियो शिल्पी। नाटकप्रेमीहरूका बीच शहरमा चर्चा हुन थाल्यो- अर्को ठाउँमा पनि नियमित नाटक मञ्चन हुन थाल्यो।

शिल्पी त्यहाँ पनि धेरै टिक्न सकेन। भर्खर टुसाउँदै गरेको शिल्पी त्रिपुरेश्वरको व्यापारिक भवन वर्ल्ड ट्रेड सेन्टरमा टिक्न नसक्नुको कारण थियो, पैसा। ‘जहाँ गए पनि पैसामा कुरा मिल्दैनथ्यौँ। उनीहरूले भनेजति भाडा तिर्न सकेनौँ', घिमिरेले भने, 'हामीले साँझ साँझ मात्र ठाउँ दिनुस् भन्दा उनीहरूले मानेनन्।‘

 रंगयात्रामा पाइला चलिसकेका थिए। ती पाइलाहरू त्रिपुरेश्वरबाट लागे तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानतर्फ। काठमाडौँमा कुनै निश्चित ठाउँमा घर भाडामा लिएर रंगमञ्च चलाउन पैसा गोजीमा थिएन। मनमा नाटक गर्ने, एउटा राम्रो रंगमञ्च सञ्चालन गर्ने तीब्र इच्छा जीवितै भए पनि गोजीमा रित्तो भएपछि सरकारी निकाय प्रतिष्ठान ताक्नुको विकल्प थिएन शिल्पी टिमसँग। प्रतिष्ठानको सहकार्य र सहयोगमा कचहरी नाटक मञ्चन गरिए। प्रतिष्ठानको मञ्चमा भने नाटक प्रदर्शन नजँचेको भावमा युवराजले भने, ‘एकेडेमीसँग मिलेर नाटक देखाउन थाल्यौँ, महिना दिन रिहर्सल गर्थ्यौं, दुई दिन मञ्चन।’ त्यसमा जर्ज बर्नार्ड शाको ‘द एप्पल कार्ट’ नाटकको नेपाली रूपान्तरण ‘उलार’ प्रमुख थियो।

युवराजले भने ‘त्यसपछि काम खोज्दै भौँतारिइरह्यौँ। त्यो क्रम २०६५ सम्म चल्यो।’ यो भौँतारिएकै मौसममा अभि सुवेदीको लेखन, घिमिरे युवराज र शिव रिजालको संयुक्त निर्देशन रहेको नाटक ‘चिरिएका साँझहरू’ त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा मञ्चन गरियो।

नाटक अध्ययनकै लागि युवराज डेनमार्क उडे, २०६६ सालमा। उनी दुई वर्ष डेनमार्क रहेका बेला शिल्पी सुस्त भयो। सुन्धारामा शिल्पीको बोर्ड ठड्याएर शिल्पीको न्वारन गर्ने रंगकर्मी विकल्प खोज्न थाले। २०६८ सालमा उनी नेपाल फर्केपछि शिल्पी नयाँ किसिमले सुरु भयो।

मार्टिन चौतारी बिहान नाटक रिहर्सल हुन थाल्यो। ‘कथादेश’ सर्वनाम नाटकघरमा मञ्चन भयो, जुन १५ दिनसम्म मञ्चन भयो। त्यस्तै नाटक लिएर उपत्यका बाहिर जाने क्रम पनि सुरु भयो। ‘दैतान धेकी’ नामक थारू भाषाको नाटक रिहर्सलकै क्रममा युवराज नाटकघर बनाउन जग्गा खोज्न थाले। पचासौँ ठाउँ हेर्दा पनि पाएनन्। कतै पैसाको कुरा मिलेन। त्यसै क्रममा बत्तीसपुतलीमा जग्गा भेटियो। फूलमान बलको लेखन रहेको नाटक ‘निन्धो माया’ मार्टिन चौतारीमा रिहर्सल हुन थाल्यो भने उता बत्तीसपुतलीमा नाटकघरको जग खन्ने काम पनि सुरु गरियो। बिहान रिहर्सल, दिउँसो जग खन्ने दैनिकी सुरु भयो।

राजधानीबाट कलाकार लिएर जिल्लामा जाने काम पनि जारी थियो। यता हल ठडिइरहेको थियो भने उता कलाकारहरू जन्मिइरहेका थिए। शिल्पीले मोरङ, काभ्रे, सुर्खेत, दैलेखलगायतका जिल्लामा गएर अभिनय सिकाइरह्यो।

शिल्पीको आफ्नै रंगमञ्च

शिल्पीको पहिलो नाटक 'कोमा: अ पोलिटिकल सेक्स'को एक दृश्य

नाटक लिएर विभिन्न ठाउँ भौँतारिने समय सकियो शिल्पीको, २०७१ मा। कुमार नगरकोटीको लेखन र घिमिरे युवराजको निर्देशनमा ‘कोमा: अ पोलिटिकल सेक्स’को मञ्चनसँगै शिल्पीले आफ्नै मञ्चमा नाटक प्रदर्शन थालेको छ। यसबीच शिल्पी थिएटरले दर्जनौँ नाटक मञ्चन गरिसकेको छ। तिनमा सत्यमोहन जोशीको ‘मजिपा लाखे’, भवानी भिक्षुको ‘हारजीत’,  उपेन्द्र सुब्बाको, ‘लाटो पहाड’,  हेनरिक इब्सनको ‘हेड्डा ग्याब्लर’ र ‘द पिल्लर्स अफ सोसाइटी (समाजका नाइके)’, मोलियरको नाटकको नेपाली रूपान्तरण ‘तार्तुफ उर्फ झलेन्द्रप्रसादको लीला’, अभि सुवेदीको नाटक ‘चिरिएका साँझहरू’, ‘ह्वाट टु डु’, ‘पाहुना घरकी साहुनी’, ‘माधवी’, ‘दीक्षान्त’लगायत नाटक मञ्चन भइसकेका छन्। शिल्पी थिएटरमा नाटक मञ्चनका अलावा कविगोष्ठी, सांगीतिक प्रस्तुतिसमेत हुने गरेका छन्। यस क्रममा झुमा लिम्बु, गणेश रसिकलगायत कलाकारले सांगीतिक प्रस्तुति पनि दिइसकेका छन्।

शिल्पी अहिलेसम्म तीन दर्जन नाटक लिएर ५० जिल्ला पुगेको छ। जिल्लामा अभिनयमा रुचि राख्नेलाई अभिनय कला सिकाउनमा अग्रसर छ यो संस्था। साथै रंगमंचसम्बनधी पुस्तक प्रकाशन पनि थालिएको छ, आफ्नै प्रकाशन गृहबाट।

रंगमञ्च पहिले र अहिले

‘पहिले नाटक मञ्चन गर्दा प्रयोग हुने सामान कहाँ छ, थाहा हुन्नथ्यो। रिहर्सल हुँदैनथ्यो। ग्रान्ड रिहर्सल भनेको दर्शक सामुन्नेको पहिलो शो हुन्थ्यो। आजभोलि म्यूजिकसहित पटक पटक रिहर्सल गर्न सक्छौँ’, आफ्नै नाटकघर भएपछिको र नाटक लिएर भौँतारिएको बेलाको अनुभव हो घिमिरे युवराजको।

आफ्नै नाटकघर भएपछि रंगमञ्च व्यावसायिक भएको उनको अनुभव छ। ‘नाटकमार्फत् के दिन सक्छौँ भन्नेबारे कुरा हुन थालेका छन्। नियमित रूपमा नाटक कक्षाहरू सञ्चालन गर्न सक्ने भयौँ’,  युवराज भन्छन्, ‘थोरै भए पनि कलाकारले पारिश्रमिक पाउने अवस्था आएको छ। अहिले शिल्पीमा काम गर्ने साथीहरू कोही पनि सित्तैमा काम गर्दैनन्।’

११ वर्ष पहिले काठमाडौँमा नाटक देखाउने ठाउँ नपाएको शिल्पी अहिले भने नाटकमा काम गर्न चाहनेलाई रंगमञ्च उपलब्ध गराउँछ। त्यस्तै गाउँगाउँमा रंगमञ्च बनाउँदै छ। बर्दिया, काभ्रे, मोरङको झोराहाटलगायत ठाउँमा नाटकघर बनेका छन्। बत्तीसपुतलीको नाटकघरमा वातानुकूलन (एसी)लगायत आधुनिक सुविधा थपिँदै छन्।

यति मात्रै होइन, शिल्पीको प्रांगणमा रहेको अभिमञ्चलाई बालबालिकाका नाटक मञ्चन गर्न नयाँ नाटकघर बनाउने तयारीमा छ शिल्पी।

रंगमञ्चको सुनौलो भविष्य

शिल्पीले लगातार ११ वर्षभन्दा बढी नाटक क्षेत्रमा काम गर्नु ठूलो उपलब्धि रहेको युवराजको भनाइ छ। उनी भन्छन्, ‘समाजको तल्लो तहबाट आएका कलाकारहरूले रंगमञ्चलाई ठड्याउनु र टिकाइराख्नु ठूलै उपलब्धि हो।’

काठमाडौँमा अहिले झन्डै आधा दर्जन नाटकघर सञ्चालनमा छन्। यीमध्ये चारवटामा नियमित नाटक मञ्चन भइरहेको हुन्छ। एउटै शहरमा यति धेरै नाटक प्रदर्शन हुने दक्षिण एसियामा काठमाडौँ मात्र रहेको भनाइ छ युवराजको। ‘मैले अबको १५ वर्ष कसरी उपलब्धिमूलक रूपमा काम गर्न सकिन्छ भन्ने मात्रै सोचेको छु। उनी भन्छन्, ‘त्यसपछि के हुन्छ थाहा छैन। यो देशमा हामी जस्ता विपन्न परिवारबाट आएका कलाकारले यति लामो समय काम गर्न पाउनु ठूलो कुरा हो।’

नेपाली रंगमञ्चको अग्रज संस्था गुरुकुल अहिले बन्द छ। रंगमंच रहेको जग्गाको सम्झौता सकिएपछि उसले जग्गा भेटेको छैन। त्यस्तै थिएटर भिलेजको पनि आफ्नै रंगमञ्च छैन। उसको पनि केही समयअघि लिजमा लिएको जग्गाको सम्झौता अवधि सकिएको थियो र रंगमञ्च भत्काउनुपरेको थियो। यी दुई घटनालाई शिल्पीले पनि पछ्याउने सम्भावना छ। शिल्पीले १५ वर्षको लागि लिजमा लिएको बत्तीसपुतलीको जग्गा अबको ११ वर्षमा अवधि सकिँदै छ। ‘भोलि व्यापारिक मल बनाउँदा नाटक घर बनाउन सक्छन्। र, कोही रंगमञ्च बुझेको मान्छे मन्त्री आयो भने नाटकघर बनाउन सक्छ’, युवराज आशावादी हुन्छन्।

११ वर्षको यात्रा

शिल्पी थिएटरको नेतृत्व सम्हालिरहेका घिमिरे युवराज यो ११ वर्षको अवधिमा मीठा र तीता दुवै अनुभव भएको बताउँछन्। त्यसभन्दा बढी सिक्न पाएकोमा खुसी छन् उनी। ‘शिल्पीको ११ वर्षे जीवन यात्रामा धेरै सिकियो। समस्तमा सिकाइको प्रक्रिया रह्यो यो’, उनी भन्छन्।

युवराजले शिल्पीको ११ वर्षे यात्राबारे यङ्गुनबाटै फेसबुक म्यासेन्जरको भिडियो कलमा यसरी बताए, ‘आज मैले ११ वर्षमा गरेका काम सम्झिएँ। मलाई सहयोग गर्नेहरूका नाम सम्झिएँ। मसँग रिसाएका मान्छेहरू झल्झली याद आए, त्यस्तै धोका दिनेहरूलाई याद गरेँ। केहीले अत्यन्तै सहयोग गरे भने कसैले नाटकै छौडौँ भन्ने बनाए। तर, कसैसँग रिस उठेन। ११ वर्षको नोस्टाल्जियाले मलाई ऊर्जा दियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.