|

दमक : शरिर बन्धक बनाई जग्गा हडपेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेका ४ आरोपितलाई सार्वजनिक गरेको छ। आज भद्रपुरमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका ४ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा झापा मेचीनगर-६ का ४२ वर्षीय भूपू कान्छा भनिने अजय राई, भद्रपुर नगरपालिका-७ का ४३ वर्षिय तेजिन्द्र न्यौपाने, भद्रपुर-६ का प्रेम न्यौपाने र बाहुनडाँगी घर भई हाल मेचीनगर-४ बस्ने राजु कुँवर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाको विशेष टोलिले गत चैत्र २७, २८ र २९ गते पक्राउ गरेको थियो। 

उनीहरु विरुद्ध अर्जुनधाराका जीवन विष्टलाई अपहरण गरि शरिर बन्दक बनाएर जबर्जस्ती विष्टको जग्गा अरुकै नाममा नामसारी गराएको आरोप छ। पक्राउ परेकाहरुलाई जिल्ला अदालत झापाबाट अपहरण तथा शरिर बन्धक अन्तर्गत मुद्धा चलाएर म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी शैलेन्द्र थापा क्षेत्रीका अनुसार घटना यसरी सुरु भएको थियो :  

२०७३ असार ३ गते जीवन विष्टका नाममा रहेको बिर्तामोड-४ स्थित १५ करोड बराबरको जग्गा पत्रकार पुजन घिमिरे र ओम सिवाकोटीले होटल सञ्चालन गर्न ५ वर्षका लागि भाडामा लिएका थिए।

गत माघमा ५ वर्षको सम्झौता अवधिलाई १० वर्षमा बढाउन घिमिरे र सिवाकोटीले विष्टलाई आग्रह गरे। विष्टले आफ्नो नागरिकता उनीहरुलाई उपलब्ध गराए। तर धनीपुर्जा आफुसँग नभएको बताए। त्यसपछि घिमिरे र सिवाकोटीले एउटा निवेदन लेख्नुपर्छ प्रतिलिपि हामी बनाइदिन्छै भन्दै खाली कागजमा हस्ताक्षर गर्न लागाएर सहि किर्ते गरेको विष्टको आरोप छ।

सही किर्ते गरेपछि अभियुक्तहरुले सम्‍झौता तयार गर्ने बहानामा चैत्र १२ गते एभरेष्ट रेष्टुरेन्टबाट अपहरण गरेर गरामनीमा रहेको शुभकामना पार्टी प्यालेसमा विष्टलाई पुर्‍याए।

त्यहाँबाट अभियुक्त भुपू कान्छा र तेजिन्द्र न्यौपानेले भारतीय नम्बर प्लेटको सवारीमा विष्टलाई लगे। उनलाई अपहरणपछि पेस्तोल देखाएर जबर्जस्ती जग्गा पासको फाइलमा सही गर्न लगाइयो। घटनापछि विष्टले इलाका प्रहरी कार्यालय अनारमनीमा चैत्र २५ गते निवेदन दिए।

नेतादेखि पत्रकारसम्म फरार

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यस घटनामा संलग्न भएको अनुमान गरिएका नेतादेखि पत्रकार सम्म फरार छन्। विष्टले दिएको जाहेरीका आधारमा र पक्राउ परेकाको बयानलाई आधार मान्‍ने हो भने अझै ५ जना फरार छन्।

झापाका प्रहरी प्रमुख एसपी थापाका अनुसार फरार हुनेमा बिर्तामोड-५ का ३८ वर्षिय राजु आचार्य 'अग्नि', इलाम श्रीअन्तु घर भै बिर्तामोड-५ बस्दै आएका पुजन घिमिरे, अर्जुनधारा नगरपालिकाका २७ वर्षिय शम्भु दाहाल, भद्रपुर-२ का ४१ वर्षीय लक्ष्मण बस्नेत तथा बिर्तामोड-६ का ३९ वर्षीय ओम सिवाकोटी फरार छन्। 

उनीहरु भारत गएको हुनसक्ने आशंकामा नेपाल प्रहरीले भारतीय प्रहरीसँगको सहकार्यमा उनीहरुको खोजी गरिरहेको एसपी थापाले बताएका छन्। घटनामा संलग्न भएको अनुमान लगाइएका यी ५ व्यक्तिमध्ये कोही स्थानीय राजनीतिक पार्टीका नेता तथा कोही पत्रकार रहेको प्रहरी थापाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.