|

ओखलढुंगा : जिल्लाका सरकारी कार्यालयमा प्रमुख नै उपस्थित नहुने तथा सरकारी आचारसंहिता पालना नहुने गरेको अनुगमनका क्रममा पाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञावलीको नेतृत्वमा गएको अनुगमन टोलीले ११ वटा सरकारी कार्यालयमा अनुगमन गरेपछि विभिन्न कार्यालयमा प्रमुखहरु नै अनुपस्थित हुने गरेको जानकारी दियो।

अधिकांश कार्यालयहरुमा कर्मचारीले परिचयपत्र नलगाएको, पोशाक नलगाएको, सरकारी निर्देशन अनुसार कार्यालयहरुले धुम्रपान तथा मद्यपान र सुर्ती जन्य पदार्थ निषेधित क्षेत्र घोषणा नगरेको अनुगमन टोलीले जानकारी दियो।

अनुगमनपछि जिल्ला प्रशासन कार्यालयले कार्यालय समयभित्र अनुपस्थित भएका कर्मचारीहरुलाई समयमा उपस्थित हुन र परिचयपत्र नलगाएका कर्मचारीलाई परिचय पत्र लगाएर मात्र कार्यलयमा सहभागी हुन निर्देशन दिएको छ। त्यस्तै सरकारी कार्यालयहरुलाई धुम्रपान , मद्यपान तथा सुर्ती जन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरी बोर्ड अनिवार्य राख्न समेत भनिएको छ।

अनुगमनका क्रममा जिल्ला कारगारमा रहेका कैदी बन्दीहरुले आफ्नो समस्या सहायक प्रमुख जिल्ला अधिकारी ज्ञावली समक्ष राखेका थिए। कैदी बन्दीहरुलाई खानेपानी तथा शौचालय मर्मत तुरुन्त गरिदिने प्रतिबद्धता सहायक प्रमुख जिल्ला अधिकारी ज्ञावलीले दिएका थिए।

कृषि विकास कार्यालय, तथ्याङ्क कार्यालय,जल उत्पन्न तथा प्रकोप व्यवस्थापन डिभिजन कार्यालय,जिल्ला कारागार, शहरी विकास तथा भवन डिभिजन कार्यालय, नापी कार्यालय, जिल्ला शिक्षा कार्यालय, मालपोत कार्यालय, व्यवसायिक सीप विकास तालिम केन्द्र, जिल्ला पशुसेवा कार्यालय र घरेलु तथा साना उद्योग विकास समिति सोमबार अनुगमन गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.