|

काठमाडौं : आधुनिक नेपाली संगीतको विकासक्रम सम्झाउने र यसको स्वर्णिमकालको उपासना गर्ने मञ्च ‘पलेँटी श्रृंखला’ फेरि सुरु हुने भएको छ। अंग्रेजी क्यालेन्डर अनुसार हरेक महिनाको अन्तिम शुक्रबार आयोजना हुने परम्परालाई नै निरन्तरता दिँदै पलेटी श्रृङ्खला अप्रिल २८ तारेख अर्थात वैशाख १५ देखि पुन सुरु हुन लागेको हो।

कालिकास्थानस्थित आरशालामा हुने पलेँटी श्रृङ्खलाको पहिलो कार्यक्रममा कवि तथा गीतकार दिनेश अधिकारीले आफ्ना सिर्जनाहरु प्रस्तुत गर्नेछन्।

कवि, गायक एवं संगीतकार आभासको सक्रिय सहभागितामा सन् २००५ देखि शुरु भएको पलेँटीमा एकवर्षसम्म उनको मात्र प्रस्तुति समेटिएको थियो। २००६ देखि यसले आधुनिक नेपाली संगीत जगतका अग्रज कलाकारहरुलाई समेटेर अघि बढ्ने लक्ष्य सहित ‘पलेँटी श्रृंङ्खला’को रुप लिएको थियो।

यसपटक लोकप्रिय सांगीतिक समूह नेपथ्यले आफ्नो स्थापनाको २५ औं वर्ष मनाउने क्रममा पलेँटी श्रृंङ्खलाको व्ययभार ब्यहोर्ने घोषणा गरेपछि फेरि सुरु भएको हो। 'आधुनिक नेपाली संगीतको क्षेत्रमा योगदान दिने हस्तीहरु नभइदिनुभएको भए आज हामी पनि हुँदैन थियौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्,‘उहाँहरुकै योगदानको सम्मान र नेपाली संगीतकै स्वर्णिम कालको फेरि सम्झना गर्ने उद्देश्यका साथ हामीले पलेँटीलाई ब्यूँताउने निधो गरेका हौं।’

उनका अनुसार नेपथ्यले सामाजिक क्षेत्रमा गर्दै आएको सहयोगकै निरन्तरतास्वरुप यसपाला आफूहरु संलग्न नेपाली संगीतकै श्रीवृद्धिमा योगदान पुर्‍याउन खोजिएको हो। पलेँटी श्रृंखलामा गीतकारहरुका सिर्जनालाई गायक आभास, गायिका मिना र योगेन्द्रले सुनाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.