केन्द्रले प्रमुख तथा उपप्रमुखका लागि उम्मेदवार तोक्ने

|

चितवन : भरतपुर महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारको टुंगो लगाउन नसकेपछि नेपाली कांग्रेस चितवन जिल्लाले क्षेत्रबाट आएका सबै आकांक्षीहरुको नाम केन्द्रमा सिफारिस गरेको छ। जिल्ला पार्टी कार्यालयमा आइपुगेका ३४ जना आकांक्षीहरुको नाम केन्द्रमा सिफारिस गरिएको नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए।

यसअघि केन्द्रीय प्रतिनिधिको रुपमा डा प्रकाश शरण महत चितवनमा आएर सहमतिको प्रयास गरेका थिए। तर सहमतिको प्रयास असफल भएपछि प्रमुखका ३४ तथा उपप्रमुखका १५ आकांक्षीहरुको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गरेको छ। 

जिल्ला पदाधिकारीले विवादमा फस्न नचाहेका कारण सबै आकांक्षीहरुको नाम केन्द्रमा सिफारिस गरिएको एक नेताले बताए। भरतपुर महानगरपालिकामा कृषि विश्वविद्यालका पूर्व रजिस्टार डा. सुर्यकान्त घिमिरे, हालका जिल्ला कोषाध्यक्ष शंकर कँडेल, पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ, पृथ्वीमान गुरुङ, तोपमानसिंह गुरुङ, ऋषि पाण्डे, मिलनबाबु श्रेष्ठ, जगन्नाथ पौडेल, दिनेश कोईरालाको लगायतको नाम कांग्रेसबाट संभावित उम्मेदवारका रुपमा चर्चामा छ।

पृथ्वीमान, तोपमान तथा अहिलेका जिल्ला सभापति मिलबाबु श्रेष्ठ देउवा खेमाका हुन्। त्यस्तै टेक प्रसाद गुरुङ कोइराला खेमा हुन्। सुर्यकान्त घिमिरेलाई नेता रामचन्द्र पौडेलको साथ छ भने  कृष्णप्रसाद सिटौला खेमाबाट दिनेश कोइराला मैदानमा छन्।

‘क्षेत्रीय समितिले पठाएको सबै नाम केन्द्रमा पठाईयो,' जिल्ला सचिव उत्तम जोशीले भने। उपमेयरमा महिलालाई दिने तयारी स्वरुप काँग्रेसमा १५ जना आकांक्षी रहेपनि सरिता केसी र मिना खरेलको नाम अगाडि छ। 

संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ४ दुबै पटक कांग्रेस विजयी भएको थियो। तत्कालिन पार्टी सभापति स्व शुशिल कोईरालाले जितेको क्षेत्र उपनिर्वाचनमा पनि कांग्रेस कै रामकृष्ण घिमिरेले जिते।  अहिले क्षेत्र नम्बर ४ पुरै महानगरमा मिसिएको छ  क्षेत्र नम्बर ३ मा समेत काँग्रेस बलियो भएकाले उसलाई प्रतिष्ठा जोगाउनुछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.