|

 लहान : निर्माण कम्पनीले सम्झौताअनुसार खानेपानीको पाइप बिछ्याउने काम नभएको भन्दै मिर्चैयामा स्थानीय उपभोक्ताले विरोध गरेपछि पाइप बिछ्याउने काम रोकिएको छ।

तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ समिति मिर्चैयाले खानेपानीको गुणस्तरहीन पाइप बिछ्याउन थालेपछि ‘सम्झौता विपरीत भएको’ भन्दै स्थानीय उपभोक्ताको विरोधको कारणले पाइप बिछ्याउने काम रोकिएको हो। मिर्चैया नगरपालिका ५ मा सोमबार गुणस्तरहीन पाइप बिछ्याइरहेका बेला आफूहरुले रोकेको स्थानीय उपभोक्ता हरिकिशोर महतोले बताए। ‘खानेपानीमा समितिकै मिलेमतोमा भ्रष्टाचार भइरहेको छ’ महतोले आरोप लगाए। 

तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ समिति मिर्चैयाले ४८ करोड ६८ लाख ४८ हजार ९ सय २० रुपैयाँ २ पैसामा कालिका रमन कन्काई जोइन्ट भेन्चरसँग मिर्चैयाको ५ वटा वडाहरुमा खानेपानीको पाइप बिछ्याउने सम्झौता गरेको स्थानीय प्रभात सिंहले जानकारी दिए।

सम्झौताअनुसार  हरेक मिटर ९ सय ७० ग्रामको प्लास्टिकको पाइप बिछ्याइनुपर्ने भए पनि ७ सय ग्रामभन्दा पनि कम तौल भएको पाइप प्रयोग गरेकोले रोक लगाइएको सिंहले दाबी गरे। खानेपानीको पाइपमा ठूलै भ्रष्टाचारी भएकोले सम्झौताअनुरूप काम गर्ने प्रतिबद्धता नआएसम्म काम सञ्चालन गर्न नदिने स्थानीय लालबाबु साहले जानकारी दिए।

मिर्चैया तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामलोचन साहले सम्झौताअनुसार नै पाइप बिछ्याउने काम भइरहेको दाबी गरे। स्थानीय उपभोक्ताहरुले अवरोध गरेको विषयमा उनले भने, ‘समितिसँग छलफल गरेर कामलाई निरन्तरता दिइने छ।’

पाइप बिछ्याउने काममा स्थानीय उपभोक्ताले अवरोध गरेपछि सम्बन्धित प्राविधिक बोलाई चेकजाँच गरिने समितिका सचिव कुशेश्वर साहले बताए। ‘जनताको योगदान र लगानीले आएको खानेपानीको योजना सम्झौताअनुसार नै कार्यान्वयन भइरहेको छ’ समितिकी सदस्य रणु शर्माले भनिन्।

यसैबीच, खानेपानीका सर्भेक्षक गणेशकुुमार चौधरीले स्थानीय उपभोक्ताहरुले पाइपको तौल र गुणस्तरको विषयमा कुरा उठाएपछि काठमाडौंबाट डिजाइनर र प्राविधिक ल्याएर स्थलगत निरीक्षण गरेपछि मात्र केही भन्न सकिने बताए। मिर्चैया नगरपालिकाको ४, ५, ६, ७ र ८ नं. वडामा खानेपानी पाइप बिछ्याउने ठेक्का सम्झौता २१ जेठमा  सकिँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.