|

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा सदाबहार नायकको उपाधि पाएका नायक हुन् भुवन केसी। भुवनका धेरै फ्यानहरु पनि छन्। ‘ड्रिम्स’ फिल्मबाट निर्देशकका रूपमा डेब्यु गरेका भुवन आजकाल आफ्नो निर्माणमा बन्न लागेको फिल्म ‘कृ’ मा व्यस्त छन्। फिल्ममा अभिनय गरेर धेरै नै सफलता कमाएका भुवन पछिल्लो समय फिल्म निर्माणमा सक्रिय देखिन्छन्। उनले अभिनय गरेको फिल्म 'ब्ल्याक डायरी' वैशाख २२ गतेबाट प्रदर्शनमा आउँदै छ।

भुवन केसीले अहिलेसम्म सय बढी फिल्ममा काम गरिसकेका छन्, उनले अभिनय गरेका धेरै फिल्महरु हिट पनि भएका छन् त्यसका साथै उनलाई सर्वाधिक सफल फिल्म दिने अभिनेताको रुपमा पनि लिइन्छ। धेरै सफल फिल्महरुमा काम गरिसकेका भुवन आफैंलाई मन परेका फिल्महरु चाहिँ कुन कुन हुन् त?

१. करोडपति

करोडपति एक सफल फिल्म हो, फिल्मलाई किशोर राणाले निर्देशन गरेका थिए। त्यस फिल्ममा भुवन साधारण मेकानिक्सको भूमिकामा प्रस्तुत भएका थिए।सामान्य मेकानिक्सले पनि आफूले चाहेको कुरा पूरा गर्न सक्छ भन्ने सन्देश दिएको उक्त फिल्ममा भुवन केसी र सुस्मिता केसीको अभिनय छ।

भुवन भन्छन्, 'सामान्य मेकानिक्सको भूमिकामा काम गरेकाले र अन्य फिल्ममा भन्दा फरक रुपमा प्रस्तुत गर्न पाएकाले मलाई करोडपति मन पर्छ।' यो फिल्मले १०० दिन मनाएको थियो।

२. नेपाली बाबु

भुवन केसी आफैंले निर्माण गरेको फिल्म हो नेपाली बाबु। नेपाली बाबुमा भुवन केसी र जल शाहको अभिनय रहेको छ। फिल्मलाई युगेन चोपेलले निर्देशन गरेका थिए। नेपाली बाबुले केही मात्रमा भए पनि राष्ट्रिय कुरा उठाएकोले भुवनको रोजाइमा उक्त फिल्म परेको हो। भन्छन्, 'फिल्ममा नेपालीपनलाई देखाइएको छ, फिल्मको गीतबाट पनि त्यो देखाउँछ।'

३. म तिमीविना मरिहाल्छु

म तिमीविना मरिहाल्छु पनि एक सफल फिल्म हो। फिल्मले हलमा ५१ दिन मनाएको थियो। फिल्ममा भुवन केसीसँगै झरना थापले पनि अभिनय गरेकी थिइन्। उक्त फिल्ममा उनी आर्मी अफिसरको भूमिकामा प्रस्तुत भएका थिए।

भुवनको बुबालगायत घर परिवारको इच्छा भुवन एक वास्तविक आर्मी अफिसर भएको हेर्ने चाहना थियो। 'परिवारको इच्छा फिल्ममा भए पनि पूरा गरेकाले मलाई यो फिल्म मन पर्छ', भुवन भन्छन्, 'त्यो फिल्ममा गरेको भूमिकाबाट मेरो परिवार पनि खुसी हुनुभएको थियो।'

४. कुसुमे रुमाल

नेपाली फिल्म इतिहासमा सर्वाधिक रुचाइएको फिल्म हो कुसुमे रुमाल। कुसुमे रुमाललाई धेरैले रुचाएका थिए। उक्त फिल्ममा भुवन केसी सामान्य गाउँले केटाको भूमिकामा प्रस्तुत भएका थिए। उनको त्यो भूमिकालाई पनि दर्शकले मन पराएका थिए।

भुवन यो फिल्म नेपाली फिल्म क्षेत्रको पहिलो सुपरहिट फिल्म भएर मन पराएको बताउँछन्। भन्छन्, 'नेपाली फिल्म इतिहासमा ‍पहिलो सुपरहिट फिल्म हो 'कुसुमे रुमाल', यसले नेपाली फिल्म क्षेत्रमा एक गहिरो छाप छोडेको छ।'

५. सम्झना

भुवन केसीको दोहोरो भूमिका रहेको पहिलो फिल्म हो सम्झना। उनले त्यस फिल्ममा बाबुछोरा दुवैको भूमिका निर्वाह गरेका थिए। २४ वर्षको हुँदा नै बूढोमान्छेको भूमिकामा देखिन पाएकाले उक्त फिल्म आफूलाई मन परेको भुवन बताउँछन्। मैले यस फिल्ममा दोहोरो भूमिका निभाएको छु। यो नै मेरो पहिलो दोहोरो भुमिकाको फिल्म हो। त्यसैले पनि यो फिल्म मन पर्छ।

६. बादलपारि

भुवनको रोजाइको अर्को फिल्म हो बादलपारी। बदलपारिमा भुवनले जल शाहसँग जोडी बाँधेका थिए। उक्त फिल्म पनि सफल फिल्मको सूचीमा पर्छ।

भुवनले आफूलाई यो फिल्म मन पर्नुको कारण पनि खुलाएका छन्। उनी भन्छन्, 'यस फिल्म टेक्निकल्ली हिसाबले एकदमै राम्रो बनेको थियो।' भन्छन् 'यसको छायांकनदेखि लिएर हरेक कुरा उत्कृष्ट थियो।'

७. कन्यादान

कन्यादान पनि उत्तिकै सफल फिल्म हो, कन्यादानलाई प्रकाश थापाले निर्देशन गरेका थिए। कन्यादानमा भुवनसँगै गौरी मल्लको पनि अभिनय रहेको थियो।

फिल्मले बालविवाहको कुरालाई उठाएको थियो। त्यस्तै, फिल्मले एकल महिला (विधुवा) हरुको हक हितको विषयमा पनि कुरा उठाएको छ। भुवन भन्छन्, 'नेपाली फिल्म क्षेत्रलाई चिनाउने फिल्म हो कन्यादान। फिल्मको कथावस्तु एकदमै राम्रो छ त्यसैले यो फिल्म मलाई मन परेको हो'।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.